एसपीपी अस्वीकार गर्ने मन्त्रिपरिषदको निर्णयबारे अमेरिकालाई पत्र पठाउन बाँकी छ: परराष्ट्र मन्त्रालय

Read Time = 4 mins

काठमाडौं । परराष्ट्र मन्त्रालय अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने नेपाल सरकार मन्त्रिपरिषदको निर्णयबारे अमेरिकालाई पत्र पठाउने काम भईनसकेको समेत स्पष्ट पारेकाे छ ।

आईतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे कुरा चलिराखेको बताउनु भएको हो ।

साथै  प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पत्रकारहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले प्रधानमन्त्री देउवाको सो भ्रमण अपेक्षित रहेको उल्लेख गर्दै सबै कुरा तयारी पुगेपछि तिथिमितिको घोषणा हुने र उपयुक्त समयमा त्यसबारे सञ्चार माध्यामहरुलाई जानकारी दिने स्पष्ट पार्नु भयो ।

सो प्रोग्रामबारे नेपाल सरकार मन्त्रीपरिषदले गरेको निर्णय मन्त्रालयमा आएको तर अध्ययन भईरहेकाले पत्र भने गईनसकेको उहाँको स्पष्टिकरण थियो ।

प्रवक्ता लम्सालले अध्ययन भईसकेपछि मन्त्रिपरिषदको सो निर्णय कार्यान्वयन हुनेमा भने ढुक्क हुन पनि पत्रकारहरुलाई आग्रह गर्नु भयो । उहाँले भन्नु भयो, ‘एसपीपीको पहिले भएको पत्राचारमा परराष्ट्र मन्त्रालय सहभागी थिएन । अव हामीलाई नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार एउटा म्यानुअल प्राप्त भएको अवस्था छ । तर अव हामी के छ भने परराष्ट्र मन्त्रालयले काम गर्दाखेरी खरो अध्ययन गरेर, सबै कुराहरु स्टडि गरेर मात्रै त्यसको पत्राचार गर्नुपर्ने भएकाले अहिले त्यसलाई अध्ययन गर्ने क्रममै छौं । र, यसलाई उपयुक्त समयमा डिप्लोम्याटिक च्यानलबाट नेपाल सरकारको मन्त्रीपरिषदको सो निर्णयलाई कार्यान्वयन गर्छौं । अहिले हामी त्यो तयारी गरिरहेका छौं । आउने वित्तिकै त्यो हेर्दै नहेरी निर्णय कार्यान्वयन गर्ने त आफ्नो ठाउँमा छँदैछ । अहिले त्यो गईसकेको अवस्था छैन, जान्छ । तपाईँहरु ढुक्क हुनुहोस् ।’

प्रवक्ता लम्सालले परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमण पनि उपयुक्त समयमा हुने बताउनु भयो ।

परराष्ट्र मन्त्रालयले विगत ३ महिनायता राहदानी लिनेहरुको संख्या उल्लेख्य वृद्धि भएको उल्लेख गर्दै सबै जिल्ला प्रशासन कार्यालय र १७ वटा इलाका प्रशासन कार्यालयबाट पनि राहदानी लिनका लागि नियमित रुपमा राहदानी आवेदन भर्ने व्यवस्था मिलाइएको पनि जानकारी गराएको छ । त्यसैगरी राहदानी लिनका लागि सहज बनाउन राहदानी विभागले अनलाईन सेवालाई पनि चुस्त राख्ने काम गरिरहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालले बताउनु भयो ।

परराष्ट्र मन्त्रालयका अनुसार राहदानी विभागबाट असार १५ गतेसम्म ४ लाख १६ हजार २३५ थान विद्युतीय राहदानी प्रिन्ट गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?