जानाति विविधा भाषा जानाति विविधाः कलाः
आत्मनं स न जानाति यो न जानाति संस्कृतम् ।।
विभिन्न भाषाहरूको जानकारी भए पनि विभिन्न कलाहरूका बारेमा अध्ययन र जानकारी पाए पनि जसले संस्कृतको अध्ययन गरेको छैन त्यसले आफूलाई नै चिन्दैन । आफूलाई चिन्ने र पहिचान गर्ने आधार नै संस्कृत हो भन्ने कुरालाई यो संस्कृतको सूक्तिले प्रमाणित गरिदिएको छ । यही हो संस्कृत र सांस्कृतिक महत्वको पहिचान पनि । यही पहिचानमा छ हाम्रो संंस्कारको, आवश्यकता र जीवन जिउने कला पनि । यही कलामा हामी सदा रमेका छौँ । यो हाम्रो मानवीय भावनाको कदर हो । यो हाम्रो संस्कृतिको मुहानता हो । यो हाम्रो आर्ष परम्पराको धरोहर पनि हो । यही धरोहरमा बाँचेका छौँ हामी र हाम्रो सभयता पनि ।
संस्कृत आफैँमा भाषा हो । संस्कृतबाट नै आधुनिक आर्यभाषाहरू जन्मेको तथ्यलाई हाम्रा मात्र होइन पश्चिमी भाषाविद्हरूले पनि स्वीकार गरेका छन् । यही आधारमा हामीले मात्र होइन विकसित मुलुकले पनि संस्कृतको महत्व बुझेर अध्ययन र अनुसन्धान गरिरहेको तथ्यलाई कसैले पनि नर्कान सक्दैन । यो प्रमाणिक कुरालाई बुझ्दाबुझ्दै पनि बुझ पचाउने परम्पराले हाम्रो जस्तो विकासोन्मुख देशमा संस्कृत र संस्कृत अध्ययन गर्ने व्यक्तिहरूप्रति लक्षित गरिने प्रहारले आज संस्कृत प्रेमी र संस्कृत विश्वविद्यालय झस्किएको छ । सरकारले दिने अनुदानमा चलेको संस्कृत विश्वविद्यालयप्रति गरिने कटाक्ष सारै अमर्यादित बनेर आएको देखिन्छ ।
नेपाल संस्कृत विश्वविद्यालयका आङ्गिक तथा सम्बन्धनप्राप्त गरेका देशका विभिन्न क्षेत्रमा विद्यापीठहरू सञ्चालनमा रहेका छन् । विद्यापीठमा सञ्चालित प्राच्य विषयमा विद्यार्थीको सङ्ख्या कम हुनुलाई विश्वविद्यालयको कमजोरी ठान्ने सरकार र सरकारी संयन्त्रको हेपाइमा आज विश्वविद्यालय परेको छ ।
सरकार र नेताहरूको अरुचि
सरकारी अनुदानबाट चलेका विश्वविद्यालयहरूमा आज विद्यार्थीका खडेरी छ । जति गफ गरे पनि एउटै विषय र सड्कायमा पटकपटक विद्यार्थी भर्नाको सूचना निकाल्ने त्रिभुवन विश्वविद्यालय पनि विद्यार्थी अभावको मारमा परिरहेको छ । त्यो अवस्था सबै विश्वविद्यालयमा देखिएको समस्या हो । यही समस्यामा अल्झेको छ आजको शिक्षा र शिक्षानीति पनि । विशिष्ट उद्देश्य राखेर २०४३ सालमा खोलिएको तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालय आज नेपाल संस्कृत विश्वविद्यालयमा परिणत भएको छ । विश्वविद्यालयको उद्देश्य नै हाम्रो संस्कार, संस्कृति, परम्परा तथा आर्ष सभ्यतामा रहेका विभिन्न भाषा साहित्यको अध्ययनलाई जीवन्त बनाएर संस्कृति र संस्कृतको विद्वान् उत्पादन गर्नु नै यसको मूलभूत मान्यता हो । यही मान्यतामा स्थापित भएको विश्वविद्यालयलाई सरकारी संयन्त्र र त्यसका आसेपासेले सदा वक्रदृष्टिले हेर्ने गरेको प्रमाण कसैसित पनि लुकेको छैन ।
नेपाल संस्कृत विश्वविद्यालयका आङ्गिक तथा सम्बन्धनप्राप्त गरेका देशका विभिन्न क्षेत्रमा विद्यापीठहरू सञ्चालनमा रहेका छन् । विद्यापीठमा सञ्चालित प्राच्य विषयमा विद्यार्थीको सङ्ख्या कम हुनुलाई विश्वविद्यालयको कमजोरी ठान्ने सरकार र सरकारी संयन्त्रको हेपाइमा आज विश्वविद्यालय परेको छ । बहु विश्वविद्यालयको धारणालाई बाहिर ल्याएर प्रत्येक वर्ष नयाँ विश्वविद्यालय खोल्ने सरकार, युवाहरू १२ पास गरेर बाहिरिएको तथ्याङ्कलाई बाहिर ल्याउँन सक्दैन । प्रतिवर्ष लगभग एक लाख पचास हजार विद्यार्थी अध्ययनका लागि बाहिरिएको तथ्य सञ्चारमाध्यमले बाहिर ल्याएका छन् । विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थी बाहिरिनुमा विश्वविद्यालय दोषी हो र ?
बाहिरिन लागेको जनशक्तिलाई नेपालमै रोक्न नसक्नु विश्वविद्यालयको दोष हो र ? यही कुरा बुझ्दैन सरकार र सरकारी संयन्त्रका उच्च पदस्थ अधिकारीहरू । यो सानो मुलुकमा तीनवटा कृषि विश्वविद्यालयको आवश्यकता छ र ? खुलिरहेका छन् त । एउटा प्रदेशमा दुई वा दुईभन्दा बढी विश्वविद्यालय खोल्नुपर्ने राज्यको नीति उपयोगी हो त ? भइरहेका विश्वविद्यालयमा अध्ययन नगरेर बाहिरिने जनशक्तिलाई रोक्ने उपाय राज्यसित छैन तर वर्षेनी विश्वविद्यालय खोलेर पदाधिकारी नियुक्तिमा रमाउन राज्य सफल बनेको छ ।
सञ्चारमाध्यमको लापरबाही
गतहप्ता नेपाल संस्कृत विश्वविद्यालयको आङ्गिक विश्वविद्यालय विद्यापीठमा एकजना पत्रकार युट्युबर छिरेर उधुम मच्चाएको खबरले सामाजिक सञ्जाल भरिएको थियो । केही नकारात्मक टिप्पणीहरू बाहिर आए । उक्त सञ्चारमाध्यमका सञ्चारकर्र्मीले एउटा प्राध्यापकसित प्रयोगमा ल्याएको भाषालाई मनन् गर्ने हो भने ती व्यक्तिलाई पत्रकार भन्न मिल्दैन । अमर्यादिन भाषाको प्रयोग गरी देशको एउटा विशिष्ट विद्वान्लाई अपमान गर्ने अधिकार कसैलाई पनि छैन । त्यसको दुई दिनपछि कान्तिपुर टेलिभिजनले संस्कृत पढ्न विद्यार्थीको लर्को शीर्षकमा समाचार प्रसार गर्यो । उक्त पत्रकारले त्यो समाचार हेरे वा हेरेनन् ।
विश्वविद्यालयहरू भन्सार कार्यालय होइनन् । जहाँबाट अनुमानित राजस्व सङ्कलनको खाका अर्थमन्त्रीले पेश गर्छन् । विश्वविद्यालय त देशका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने केन्द्र हुन् । राज्यले निर्धारण गरेको विद्यालयीय शिक्षा उत्तीर्ण गरेको विद्यार्थी विदेश पलायन हुन्छ । नेपालका विश्वविद्यालयमा अध्ययन गर्न चाहँदैन । विश्वविद्यालयले विद्यार्थी आफैँ ल्याउने पनि होइन । विदेश जाने विद्यार्थीलाई हवाई अड्डामा गएर नेपालमा नै अध्ययन गर भन्ने काम पनि विश्वविद्यालयको होइन । नेपालमा खोलिने र खोलिएका विश्वविद्यालयको आ–आफ्नै विशेषता छन् । सञ्चारमाध्यमले सत्यलाई सत्य र तथ्यलाई तथ्यका रूपमा बाहिर ल्याउन जरुरी छ ।
नेपालका कहलिएका शिक्षाविद्हरू पश्चिमा परम्पराका माध्यमबाट नेपालको शिक्षालाई दिशानिर्देन गर्ने आधार प्रस्तुत गर्छन् । उनीहरू नेपालको भूभाग र नेपालको धरातलका बारेमा बोल्दैनन् । उनीहरूको बुझाइ नेपाली परम्पराको हुँदैन । पश्चिमा परम्परामा अध्ययन गराइने शिक्षा नीतिलाई लागू गरिएन भन्दै एक हात उफ्रन्छन् । प्रत्येक वर्ष राज्यले खोल्ने विश्वविद्यालय आवश्यक छैन भन्दैनन् । खोलिएका विश्वविद्यालयलाई राम्रो तरिकाले सञ्चालन गरौँ भन्ने उनीहरूको भनाइ हुँदैन । उनीहरू वषौंदेखि नेपालका शिक्षाविद् कहलिएका छन् ।
उनीहरू विशिष्ट विद्वान् होलान् । यो कुरालाई नर्कान नसकिएला तर विशिष्टिकृत रूपमा खोलिएका विश्वविद्यलायका जानकार पक्कै पनि होइनन् । उनीहरू सरकारका विश्वासपात्र हुन् । उनीहरूलाई सरकारले नीति निर्माणमा सहभागी बनाएको हुन्छ । उनीहरूलाई कुन विश्वविद्यालयको धरातल के हो र विशिष्टीकृत पहिचान के हो भन्ने जानकारी छैन । सरकारको शैक्षिक नीति निर्र्माणमा सरकारले पेश गरेको विद्यार्थी सङ्ख्या हेरेर टिप्पणी गर्ने उनीहरूको बानी नै हो । उनीहरूको यही व्यावहारबाट पीडित छन् आज विश्वविद्यालयका पदाधिकारीहरू पनि ।
विश्वविद्यालयको शाखलाई पहिचान दिन नसक्ने अर्को सरकारी निकाय हो विश्वविद्यालय अनुदान आयोग पनि । विद्यार्थी सड्ख्या हेरेर बजेट निर्धारण गर्ने र विश्वविद्यालयका पदाधिकारीको मानमर्दन गर्ने संस्था हो अनुदान आयोग । प्राध्यापकको वेतन दिनसमेत आनाकानी गर्ने यो संस्थाका पदाधिकारीले विदेशले शिक्षामा सुधार गर्ने नाममा दिने बजेटलाई आधार मानेर नीति निर्धारण गरेको देखिन्छ । कुनै पनि विश्वविद्यालयले अनुसन्धानलाई आधार मानेर विद्यावारिधि गराएको हुन्छ । उक्त विद्यावारिधि कार्यक्रमलाई झञ्जटिलो बनाउने र विश्वविद्यालयमा सञ्चालित कार्यक्रमलाई कसरी हुन्छ रोक्न खोज्नु उसको नियति देखिएको छ ।
सारा ज्ञानको भण्डार र हाम्रो जीवनको भोगाइमा सबैभन्दा सहयोगी भाषा, साहित्य र शास्त्रको अध्ययनका लागि राज्यले प्रत्येक जिल्लामा एउटा आवासीय संस्कृत माध्यमिक विद्यालय खोल्ने नीतिलाई अवलम्बन गरेमा नेपालको सबैभन्दा बढी अध्ययन गरिने शिक्षा संस्कृत शिक्षा हुनेछ ।
विदेशमा एउटा प्राध्यापकले विद्यार्थीलाई आफ्नै मातहतमा राखेर विद्यावारिधि गराउँछ । त्यो विद्यावारिधि नेपालका सन्दर्भमा गुणस्तरीय मानिएको हुन्छ तर नेपालमा अनुसन्धान केन्द्रद्वारा सञ्चालन गरिएका विद्यावारिधि कार्यक्रमलाई प्रभावित पार्नेगरी नीति निर्माण गर्नु आफैँमा विश्वविद्यालय अनुदान आयोगको द्वेध चरित्र मानिन्छ । कुनै पनि विश्वविद्यालयमा अनुसन्धान गरिने संस्थाबाट अनुसन्धान र विद्यावारिधि गराउने अधिकार वा प्राज्ञिक मान्यता विद्यमान् रहेको हुन्छ । यस्ता कार्यक्रमलाई झञ्जटिलो र पूर्वाग्रही रूपमा प्रस्तुत हुने अनुदान आयोग आफैँमा अनुदार छ भन्ने कुरालाई प्रमाणित गर्दैन र ?
आउनुहोस् संस्कृत पढौँ
सेनापत्यं च राज्यं च दण्डनेतृत्वत्वं एव च ।
सर्वलोकाधिपत्यं च सर्वँशास्त्रविदर्हति ।।
सेनामाथि अधिकार जमाउने सेनापति, दण्डको निर्धारण गर्ने व्यवस्था, संसारमा आफ्नो प्रभुत्व जमाउने चाहना छ भने शास्त्रको अध्ययन गर । शास्त्र भन्नाले आजको आधुनिक शिक्षा होइन । शास्त्र भन्नु संस्कृत भाषा र उक्त भाषामा लेखिएका ऋषिवाणी हुन् । यी वाणिमा संसार छ र संसारलाई बदल्ने सामथ्र्य पनि छ । यही सामथ्र्यको खोजी हो संस्कृतको अध्ययन । यही अध्ययनमा जीवित छ हाम्रो जीवन पद्यति पनि ।
संसारका सबै भाषाले आआफ्नो विशेषता बोकेका हुन्छन् । भाषाहरूमा सबैभन्दा प्राचीन भाषाका रूपमा संस्कृत भाषालाई लिने गरिएको छ । संस्कृत भाषा आफैँमा समृद्ध भाषा पनि हो । यो भाषामा रहेको ज्ञानको भण्डारलाई बाहिर ल्याउने हो भने संस्कृत शिक्षामा राज्यको लगानी आजको अवस्थामा दोब्बर हुनु जरुरी छ । नेपाल संस्कृत विश्वविद्यालयका आङ्गिक विद्यापीठमा आज संस्कृत शिक्षालाई अध्ययन गर्नेको लर्को छ । अहिले शास्त्री प्रथम वर्षमा लगभग दुई सय हाराहारीमा र भाषा सिक्न आउने विद्यार्थी तीन सय पचासको सड्ख्यामा छन् । कर्मकाण्ड प्रशिक्षणमा पनि सयको हाराहारीमा विद्यार्थी सड्ख्या रहेको तथ्य विद्यापीठका प्राचार्य प्रा.डा.भागवत ढकाल बताउँछन् ।
संस्कृत अध्ययनका लागि आउने आजको विद्यार्थी प्राध्यापन पेशाबाट सेवानिवृत्त भएको प्राध्यापक, नेपाल सरकारबाट सेवानिवृत्त भएको कर्मचारी, न्याय सेवाबाट सेवानिवृत्त भएको न्यायाधीश र चिकित्सा पेशामा संलग्न रहेका व्यक्तिहरू छन् । संस्कृत माध्यमिक विद्यालयमा विद्यालयीय शिक्षा उत्तीर्ण गरेको भर्खरको युवा पनि संस्कृतको मोहले आएको छ । एउटै कक्षामा साठी वर्ष नाघेको प्रौढ र भर्खर बीस वर्षमा टेक्दै गरेको ठिटोसमेत रहेको हुन्छ । उक्त विद्यापीठको कक्षाकोठामा तीनपुस्ता एकै ठाउँमा बसेर अध्ययन गरिरहेको हुन्छ । त्यसैले संस्कृत शिक्षामा विकर्षण होइन आकर्षण विद्यमान् रहेको छ ।
विश्वविद्यालयले आज पाठ्यक्रममा परिवर्तन गर्नु आवश्यक छ । आचार्यतहमा सत्रवटा विषय संस्कृतका छन् । स्नातक वा शास्त्री तहदेखि नै विशेष अध्ययन र ज्ञानमात्र चाहने विद्यार्थीका लागि त्यही किसिमको पाठ्यक्रम बनाएर अध्यापन कार्यलाई अघि बढाउने हो भने विद्यार्थीको अभाव विद्यापीठले व्यहोर्नु पर्दैन । निश्चित समय, निश्चित पाठ्यक्रम, निश्चित विषयलाई आधार बनाएर संस्कृतको ज्ञान प्रोढ पुस्तालाई दिन सकिने आधार नभएको होइन । विश्वविद्यायलयका पदाधिकारीले यो कुरालाई मनन गर्नु आवश्यक छ ।
संस्कृत शिक्षा आर्जन गरेको व्यक्ति आज बेरोजगारको जालोमा फसेको छैन । ज्योतिष अध्ययन गरेको व्यक्ति फलादेश गरेर बसेको छ । पुराण वाचन गरेर समेत आफ्नो जीवनरथलाई चलाइरहेको छ । कर्मकाण्डका माध्यमबाट हाम्रो संस्कार परम्परालाई जीवन्त राखेको छ । यस्तो विविधता रहेको संस्कृत शिक्षा आज राज्यको पहिलो दर्जामा पर्न नसकेको कुरा छर्लङ्ग देखिएको छ । देशका अन्य विश्वविद्यालयका दाँजोमा संस्कृत विश्वविद्यालय पर्दैन राज्यका आँखामा । यो कुरा सार्वजनीन सत्य हो । तर आज राज्यले माने्का शिक्षाविद्, बेतुकका यूट्युवे सञ्चारमाध्यमका आँखामा संस्कृत शिक्षा र संस्कृत विश्वविद्यालय कसिङगर बनेको छ ।
संस्कृत शिक्षा र संस्कृत विश्वविद्यालयलाई राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन हुनु आवश्यक छ । संस्कृत विश्वविद्यालयले संस्कृतको अध्ययनका लागि कसैलाई बन्देज गरेको पनि छैन । सबैलाई समान्रूपमा पढाउने व्यवस्था गरिएको छ । संस्कृत अध्ययन अन्य भाषा र विधाजस्तो सरल पक्कै पनि छैन । वेदका ऋचा तथा संस्कृत ग्रन्थका श्लोकहरूलाई कण्ठस्थ नगरी अध्ययनको औचित्य पुष्टि हुँदैन ।
सारा ज्ञानको भण्डार र हाम्रो जीवनको भोगाइमा सबैभन्दा सहयोगी भाषा, साहित्य र शास्त्रको अध्ययनका लागि राज्यले प्रत्येक जिल्लामा एउटा आवासीय संस्कृत माध्यमिक विद्यालय खोल्ने नीतिलाई अवलम्बन गरेमा नेपालको सबैभन्दा बढी अध्ययन गरिने शिक्षा संस्कृत शिक्षा हुनेछ भने नेपालको सम्पन्न विश्वविद्यायका रूपमा नेपाल संस्कृत विश्वविद्यालय दरिनेमा कुनै दुई मत छैन । एउटा पूर्वाग्रही सञ्चारकर्मीले बदनियतपूर्ण तरिकाले गरेको हाम्रो आस्था, विश्वास र परम्पराप्रति टिप्पणी गलत हो भन्ने प्रमाणित गरिदिएको छ वाल्मीकि विद्यापीठले ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच