
काठमाडौं । गठबन्धन सरकार बनेको एक महिना नपुग्दै सत्ता साझेदार दलहरूबीच मतभेद बढ्दै गएको छ । मूलतः सत्ता भागबण्डाको विषयमा सहमति हुन नसक्दा वर्तमान गठबन्धनको भविष्य अन्योलमा देखिएको हो । सत्ताका घटक एमाले, माओवादी र एकीकृत समाजवादी सहितका दलहरूबीच पदीय भागबण्डाको विषय नमिल्दा सरकार कति टिक्छ ? भन्ने स्पष्ट दृश्य देखिएको छैन ।
सत्तारूढ नेकपा (एकीकृत समाजवादी)ले कम्तीमा एउटा प्रदेशको मुख्यमन्त्री आफ्नो पार्टीलाई दिनुपर्ने अडान राखेको छ । आइतबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धन पाँच दलका दलका शीर्ष नेताहरूको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सातमध्ये एउटा प्रदेशको मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने अडान राख्नुभएको हो । अध्यक्ष नेपालको उक्त अडानमा प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सहमत हुनुभएन ।
सत्ताघटक एमाले र माओवादी नै अध्यक्ष नेपालका अडानमा सहमत नदेखिएपछि गठबन्धन बैठक बिनानिष्कर्ष सकिएको थियो । बैठकमा अध्यक्ष नेपालले कम्तीमा एउटा प्रदेशमा एकीकृत समाजवादीलाई मुख्यमन्त्री चाहिनेसहित विभिन्न दाबी पेस गर्नुभएको थियो ।
संवैधानिक निकायका नियुक्तिमा गठबन्धन दलहरूको समान भागबण्डा हुनुपर्ने अध्यक्ष नेपालको भनाइ थियो । ‘नत्र यथास्थितिमा प्रदेश सरकार गठन गर्न र जोगाउन हाम्रो कुनै भूमिका हुनेछैन,’ अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भन्नुभयो ।
यसअघि, एमालेका अध्यक्ष ओली र माओवादीका अध्यक्ष प्रचण्डबीच प्रदेशका मुख्यमन्त्रीहरूबारे सहमति भएको थियो । सहमतिअनुसार कोशी, गण्डकी र कर्णालीमा एमाले, बागमती र लुम्बिनीमा माओवादी, मधेशमा जसपा मुख्यमन्त्री बन्ने तय भएको थियो । नागरिक उन्मुक्ति पार्टी सहमत भए उक्त पार्टीबाट सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री बनाउने सहमति दुई अध्यक्षले गर्नुभएको थियो । सोहीअनुसार बागमतीका मुख्यमन्त्री जम्कट्टेलले सोमबार विश्वासको मत लिने तयारी गर्नुभएको छ । तर, समाजवादी अध्यक्ष नेपालको अडानले बागमतीमा जम्कट्टेलको सत्ता निरन्तरता धरमरमा परेको छ ।
शीर्ष बैठक बिनानिष्कर्ष टुंगिएपछि सोमबार विश्वासको मत लिने तयारी गरेका बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अप्ठ्यारोमा पर्नुभएको छ । सोमबारसम्म एकीकृत समाजवादीसँग सहमति नभएमा बागमतीसहित अन्य प्रदेश सरकार पनि प्रभावित हुने देखिन्छ ।
यसैबीच एकीकृत समाजवादीको प्रदेश संसदीय दलको बैठकले पनि यथास्थितिमा मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ । दलका नेता कृष्णप्रसाद शर्मा खनालले पाँच दलीय गठबन्धन राजनीतिक गठबन्धन नभएको भन्दै अहिलेकै अवस्थामा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जानकारी दिनुभयो । तर, चैत १५ गते हाम्रो नेपाली पार्टीलाई सत्ता गठबन्धनमा सामेल गराउँदा एकीकृत समाजवादीको तर्फबाट मन्त्री रहेका राजेन्द्रमान श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो । त्यतिबेला तीन दलबाट संसदीय दलका नेताको हस्ताक्षर रहँदा एकीकृत समाजवादीबाट भने मन्त्रीको मात्रै हस्ताक्षर हुनुले पनि समाजवादी गठबन्धनप्रति खुसी नरहेको देखाउने नेताहरू बताउँछन् । गठबन्धन कुनै विधि, प्रक्रिया र सिद्धान्तका आधारमा नबनेको र विशुद्ध सत्ताका लागि भएकाले सत्ता भागबण्डामा आफूहरूको हिस्सेदारी हुनुपर्ने एकीकृत समाजवादीका एक नेताले बताउनुभयो । समाजवादीबाट कोशीमा चार, मधेशमा सात, बागमतीमा सात, गण्डकी एक (दीपक मनाङ्गे), कर्णालीमा एक, लुम्बिनीमा एक र सुदूरपश्चिममा चारजना सांसद छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच