पहिलो त्रैमासिक परीक्षा सञ्चालन हुँदासम्म छैन दाङका विद्यालयहरुमा पाठ्यपुस्तक

Read Time = 5 mins

-विवेक खड्का
दाङ । दाङका विद्यालयमा पहिलो त्रैमासिक परीक्षा सञ्चालन हुँदासम्म विद्यार्थीहरूले पाठ्यपुस्तक पाउन सकेका छैनन् ।

पाठ्यपुस्तक विनानै परीक्षाको तयारीमा जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू रहेका छन् । विद्यार्थीहरूले सहजरूपमा पूर्ण पाठ्यपुस्तक अहिलेसम्म पाउन सकेका छैनन् । विशेष गरेर कक्षा ६ देखि १० कक्षासम्मका पाठ्यपुस्तकहरू अभाव देखिएको छ । कक्षा ६ र ८ को प्राय सबै अनिवार्य कितावहरू अभाव देखिएका छन् भने कक्षा ९ र १० का आधा विषयका किताव अभाव देखिएका छन् ।

जिल्लाका व्यवसायीका अनुसार असार २१ गतेसम्म ६९ हजार ८ सय ६२ थान पुस्तक अभाव भएको बताएका छन् । पुस्तक तथा स्टेशनरी व्यवसायी समितिका कोषाध्यक्ष तीर्थ बहादुर डाँगीले सबैभन्दा बढी कक्षा आठको कितावहरू अभाव भएको बताउनुभयो । उहाँले कक्षाका सबै विषय गरेर ३४ हजार १ सय २५ थान किताब नपुगेको जानकारी दिनुभयो । त्यसपछि कक्षा ६ को किताब अभाव छ । कक्षा ६ मा ६ विषयमा २१ हजार ४ सय ७५ थान पुस्तक अभाव देखिएको छ ।

कक्षा ७ को ६ हजार ८ सय, कक्षा ९ को ७ हजार १ सय १८ र अन्य कक्षाको ३ सय ४४ थान पुस्तक अभाव भएको डाँगीको भनाइ छ । विद्यार्थीले परीक्षा दिदासमेत पाठ्यपुस्तक नआउँदा व्यवसाय धान्न नै समस्या भएको व्यवसायीहरूको गुनासो छ । विगतका वर्षमा अभाव भएपनि असारसम्ममा सबैका हातमा किताब पुगिसक्ने अवस्था रहेकोमा यस वर्ष असार सकिदा पनि किताव विद्यार्थीसमक्ष पुग्न सकेको छैन ।

जिल्लाका सामुदायिक विद्यालयहरूमा पाठ्यपुस्तकको उपलब्धता नहुँदा विद्यार्थीहरूको पढाइमा समस्या भएको छ । माध्यमिक तहको शिक्षा स्थानीय सरकार मातहत भए पाठ्यपुस्तकको व्यवस्थापनमा स्थानीय सरकारको चासो कम देखिएको छ । दाङ जिल्ला पुस्तक व्यवसायी संघका कोषाध्यक्ष तथा जनक शिक्षाका दाङका आधिकारिक बिक्रेता तीर्थ डाँगीले समयमै पुस्तक नआउँदा समस्या भएको बताउनुभयो ।

‘हामीसँग नै पुस्तक छैन, विद्यार्थीलाई कसरी दिनु ?’ उहाँले भन्नुभयो, ‘जनक शिक्षाले किताब पठाए पो हामीले वितरण गर्ने हो ।’ उहाँले हरेक वर्ष सरकारी पाठ्यपुस्तकमा समस्या आउने गरेको सुनाउनुभयो । सहज पाठ्यपुस्तक भएको वर्ष कुनै छैन, शैक्षिक सत्र सुरू भएको तीन महिना भइसक्यो पूरा किताब आउँदैन, अहिले पनि हजारौ किताब माग छ आपूर्ति छैन । सहज पाठ्यपुस्तक नहुँदा शिक्षक, विद्यार्थी, अभिभावकको गुनासो व्यवसायीले खेप्नुपरे देखिन्छ ।

जनक शिक्षा सामग्री केन्द्र नेपालगंजका क्षेत्रीय प्रमुख रविन शर्माले पाठ्यपुस्तकको समस्या केन्द्रकै भएको बताउनुभयो । उहाँले आफ्नो क्षेत्राधिकार भएका जिल्लामा पाठ्यपुस्तक पठाएको जानकारी दिनुभयो । उहाँले अहिले कक्षा ६ देखि १० कक्षासम्मका केही किताब अभाव भएको बताउनुभयो ।

शर्माले नेपालगंज कार्यालयले बाँके, बर्दिया, दाङ, सल्यान, रूकुम पूर्व, रूकुम पश्चिम, रोल्पामा नेपालगंजले पाठ्यपुस्तक व्यवस्थापन गर्ने गरेको छ भने साविक राप्तीको प्यूठानमा बुटवल कार्यालयले व्यवस्थापन गर्दै आएको बताउनुभयो ।

दाङमा कक्षा १ देखि १० कक्षासम्म ८५ हजार विद्यार्थी रहेका छन् भने कक्षा १२ सम्ममा ९७ हजार विद्यार्थी अध्ययन गरिरहेका छन् । अहिले नेपाली, अंग्रेजी, गणित, सामाजिक विज्ञान, पेशा, नैतिक, स्वास्थ्य, अर्धशास्त्र लगायतका अनिवार्य विषय र ऐच्छिक विषयहरूको अभाव देखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?