अष्ट्रेलियाले आफ्नो विकासको गतिलाई तीव्रता दिन र नवीन प्रविधिका माध्यमले विकास निर्माणका संरचनालाई गुणस्तरीय, भरपर्दो, नागरिकमैत्री बनाउन तत्सम्बन्धी विषयको शिक्षा र प्रशिक्षणलाई मुख्य आधार बनाएको छ । शिक्षा र प्रशिक्षणको पाठ्यक्रम समयसगै परिवर्तीत चुनौतीलाई सहजै सामना गर्नसक्ने गरी तर्जुमा गर्ने यहाँका शिक्षाविद् र योजनाकार संसारले सिक्नु र पुज्नु पर्ने जीवित शिक्षालय हुन् भन्दा अतिशयोक्ति हुँदैन । मानव पुँजीलाई कसरी दक्ष र योग्य बनाउँदा उत्पादकत्व बढ्छ ? गुणस्तरीय भौतिक संरचना साथै उपभोग्य सामानको उत्पादन, आयातले मानव जीवनलाई कसरी सुखी र खुशी बनाउन सकिन्छ भन्ने दृष्टिकोणले प्रशिक्षणको पाठ्यक्रम तर्जुमा गर्दामात्र सफलता हात पर्छ भन्ने सूत्रलाई अष्ट्रेलियाले अक्षरशः प्रयोग गरेको छ ।
समय र आवश्यकता अनुसार शिक्षण र प्रशिक्षणको पाठ्यक्रमलाई समयसापेक्ष परिमार्जन कसरी गर्ने भन्ने सन्दर्भमा अनुसन्धानले निरन्तरता मात्रै दिँदैन प्रयोगका माध्यमले परीक्षण र मार्ग निर्देशन गर्छ । श्रमिकहरूलाई सेवा प्रवेशपूर्वको प्रशिक्षणमात्रै होइन परिवर्तीत सन्दर्भमा पुनर्ताजगी तालिमका माध्यमले दक्ष र योग्य बनाउने प्रयत्नका विषयको निरन्तरता अष्ट्रेलियाको शिक्षा प्रशिक्षणको मुख्य विशेषता हुन् । उत्पादन, सेवा तथा निर्माण आदि क्षेत्रहरूको गुणस्तरीयताको कारण परिणाम नै प्रशिक्षणलाई वर्तमान आवश्यकतासँग जोड्ने विशिष्ट कला हो । यो वास्तवमा अष्ट्रेलियाको गुणस्तरीय विकासको सूत्र हो ।
आफ्नो विकास र समृद्धिका लागि संसारकै होनहार शिक्षित युवा जनशक्ति आकर्षित गर्ने योजना, दृष्टिकोण, रणनीतिलाई अष्ट्रेलियाको राजनीति, शिक्षा र प्रशिक्षण साथै श्रम तथा आप्रवासन नीतिको समन्वयात्मक रणनीतिबाट प्राप्त चामत्कारिक सफलता हो भन्दा किमार्थ अत्युक्ति हुँदैन ।
जनशक्तिको दक्षता र क्रियाशीलता नै विकासको आधार र पूर्वाधार हो भन्ने विषयलाई आत्मसात गर्दै त्यसलाई व्यवहारमा अनुवाद गर्न सफल भएको विषय विकासमा बामे सर्ने देशहरूका लागि मननीय र अनुकरणीय छ । संसारका धेरै देशहरूका जीवनमा प्रगति कहाँ र कसरी गर्ने भन्ने हुट्हुटी हुने युवा जनशक्तिलाई आफ्ना विकासमा आबद्ध गर्ने, आकर्षण गर्ने रणनीतिक साथै कार्यनीतिक सफलताको परिणाम परिणति हो, आजको विकसित र समुन्नत अष्ट्रेलिया । संसारका युवा र होनहार जनशक्तिलाई आकर्षण गर्ने आप्रवास, रोजगारीको नीतिगत व्यवस्थाको रणनीतिक संयोजन वास्तवमा संसारका विकास अर्थशास्त्रका अध्येताहरूका लागि अनुसन्धानको राम्रो विषयवस्तु र पाठशाला हो ।
समृद्धिका लागि संसारकै होनहार शिक्षित युवा जनशक्ति आकर्षित गर्ने योजना, दृष्टिकोण र रणनीतिलाई अष्ट्रेलियाको राजनीति, शिक्षा, प्रशिक्षण साथै श्रम तथा आप्रवासन नीतिको समन्वयात्मक रणनीतिबाट प्राप्त चामत्कारिक सफलता हो भन्दा किमार्थ अत्युक्ति हुँदैन । विविध भाषा र संस्कृति भएका आप्रवासीबीच सुमधुर सम्बन्ध स्थापना गरेर आफ्नो राष्ट्रको विकासमा योगदान गर्न अनुकूल वातावरण सिर्जना गर्ने अष्ट्रेलियाको राजनीति र आप्रवासी रणनीतिलाई जति प्रशंसा गरे पनि कम हुन्छ । परम्परागत रूपमा बसोवास गर्दै आएका नागरिकबीच सुमधुरसम्बन्ध स्थापना गर्न असफल संसारका धेरै देशका सरकारहरूले अष्ट्रेलिया सरकारको समन्वयात्मक आप्रवासी व्यवस्थापन नीति र कार्यशैलीबाट पाठ सिक्न आवश्यक छ ।
जातीय द्वन्द्वले तहसनहस भएका देशहरूका सरकार र योजनाकारहरूका लागि अष्ट्रेलिया समस्याको दिगो समाधान खोज्ने विश्वविद्यालय हो भन्दा अन्यथा पक्कै हुनेछैन । संसारका अधिकांश देशका नागरिकलाई आप्रवासको व्यवस्था र ती आप्रवासीहरूका माध्यमबाट गुणस्तरीय र दिगो विकासको वातावरण निर्माणमा अष्ट्रेलिया सरकारले प्राप्त गरेको उपलब्धि अनुकरणीय र प्रशंसायोग्य विषय हुन् ।
अष्ट्रेलिया सरकार नागरिकलाई कसरी सुखी र खुशी बनाउन सकिन्छ भन्ने विषयमा अहोरात्र चिन्तनमात्रै गर्दैन त्यसलाई अविछिन्न अनुसन्धानको परिणामको आधारमा व्यवहारबाट अनुवाद गर्न कृतसंकल्पित छ । सरकारमा हुनेहरूको आचरण नैतिकता र इमानदारीताप्रति जनताको पूर्णविश्वास भएकाले नेतृत्वको कार्यशैली र निर्णयप्रति पटक्कै आशंका गर्दैनन् । सरकार र सरकारका क्रियाकलापप्रति टीकाटिप्पणी र आलोचनामा बहुमूल्य समयलाई बर्बाद गर्दैनन् भन्ने यथार्थलाई निर्धक्क सार्वजनिक गर्नैपर्छ ।
शिक्षा र प्रशिक्षणका माध्यमले सैद्धान्तिक र व्यावहारिक ज्ञानका साथै अत्याधुनिक प्रविधिको प्रयोग, व्यवस्थापन, आयात साथै प्रयोगमा प्राप्त सफलता बाँकी संसारलाई पनि विकसित र समृद्ध गर्ने योजना र रणनीति तर्जुमा गर्नका लागि विश्वका विकास अर्थशास्त्रीहरूलाई मार्गनिर्देशन गर्नसक्छ । अष्ट्रेलियाको विकासमा आधुनिक प्रविधि र औजारको प्रयोगको भूमिका अवर्णनीय छ । विकासको चमत्कार वास्तवमा विविध प्रकारका औजारको प्रयोगको चमत्कारिक संयोजन हो । सानुभन्दा सानु कामदेखि ठूलाठूला मेसिनरीहरूलाई कामसँग समन्वय गर्ने रणनीतिले थोरै समयमा धैर काम गर्न सम्भव बनाएको छ । मेसिनरीलाई कामसँग समन्वय गर्दा उत्पादनलाई गुणस्तरीय बनाएको मात्रै छैन विशेषज्ञतालाई समेत जिज्ञासु बनाएको छ ।
शिक्षण, प्रशिक्षण र प्रविधिको संयोजनमा अष्ट्रेलियाको विधिप्रतिको निष्ठा र विधिको भूमिका पनि कम जिम्मेवार छैन । किनकि, विधिले, सिसी क्यामराले सबैलाई अनुशासित, इमानदार र कर्तव्यनिष्ट हुन अविचलित खबरदारी गरेको छ । यसको श्रेय शिक्षण, प्रशिक्षण, प्रविधि र विधिलाई समन्वय गर्ने अष्ट्रेलिया सरकारको रणनीति नागरिक अनुशासनलाई जान्छ ।
अल्पविकसित देशहरूका शिक्षित युवाहरूलाई आकर्षित गरेर अष्ट्रेलियाले आफ्नो विकासलाई उचाइमा पुर्याएको छ । समयको परिवर्तनसँगै आफूलाई सफलताको यात्राका लागि नागरिकहरूलाई उत्प्रेरित गर्न सफल छ । अष्ट्रेलियाले आधुनिक विकासमा प्राप्त सफलता र आधुनिक प्रविधिको वैज्ञानिक, व्यावहारिक संयोजनको क्षेत्रमा गरेको उपलब्धिको प्रशंसा गर्नैपर्छ ।
शिक्षा, स्वास्थ, वृद्ध-वृद्धा तथा अशक्तलाई प्रदान गर्दै आएको सेवासुविधा, सुरक्षाले नै आप्रवासीहरू अष्ट्रेलियामा आकर्षित र कामप्रति समर्पित छन् । जुन देशका नागरिकमा सरकारको काम, व्यवहारप्रति विश्वास र भरोसा हुन्छ ती देशका नागरिक निष्ठापूर्वक कामप्रति समर्पित हुन्छन् । जहाँका नागरिक निर्धक्क कामप्रति समर्पित हुन्छन् त्यस्ता देशहरूको विकास र प्रगति अवश्यम्भावी हुन्छ । अष्ट्रेलियामा कुनै पनि काम गर्न कामको प्रकृतिसँग मेल खाने शिक्षा वा प्रशिक्षण हुन अनिवार्य छ । उदाहरणका लागि चिया बनाउने प्रशिक्षण लिएको व्यक्तिले कफी बनाउने काम पाउँदैन र कफी बनाउने प्रशिक्षण लिएको व्यक्तिले चिया बनाउने काम गर्न पाउँदैन । किनकि जे पेशा गर्छ उसले त्यसको न्यूनतम् प्रशिक्षण लिन अनिवार्य गर्दा अष्ट्रेलियाका कामहरू गुणस्तरीय भएका हुन् ।
काममा दक्षता र समर्पण प्रशिक्षणको मुख्य विशेषता हो । कामसँग सम्बन्धित शिक्षा वा प्रशिक्षणविना काम गर्ने र काम लगाउने विषय अष्ट्रेलियाको कानुन अनुसार दण्डनीय हुन्छ । सम्बन्धित कामको प्रकृतिसँग मिल्ने शिक्षा वा प्रशिक्षण जोसँग छ उसले मात्र काम गर्ने अनुमति पाउँछ । अठार वर्षको उमेरपछि अष्ट्रेलियाका युवा-युवतीमा म आत्मनिर्भर हुनुपर्छ भन्ने जुन मनोविज्ञान विकसित भएको छ त्यसले प्रशिक्षण युवाहरूको अभिन्न मित्र भएको छ ।
अष्ट्रेलियाका अभिभावकहरूको इच्छानुसार सम्पत्तिको हस्तान्तरण हुने कानुनी व्यवस्था, अशक्त, वृद्धहरूको सुरक्षा र नागरिकले प्राप्त गर्ने रोजगारीको राम्रो पारितोषिक राजनीतिज्ञहरूको नैतिकताले भ्रष्टाचारको जरो नै उखलिएको हो कि भन्ने अनुभव भ्रष्टाचारले व्याप्त देशका नागरिकहरूका लागि अनौठोमात्रै होइन अपत्यारिलो लाग्नसक्छ । राम्रो पारिश्रमिक, विविध सामग्रीहरूले सुसज्जित बजार र गुणस्तरीय उपभोग्य सामग्रीहरूको विनामोलतोल खरिदबिक्रीको विषय नेपाल र भारतजस्ता देशहरूमा खरिदबिक्रीको क्रममा हुने समयको बर्बादीलाई सम्झँदा अष्ट्रेलियाको निश्चित मूल्य प्रणालीसँग तुलना गर्दा अनौठो लाग्छ । अष्ट्रेलियाको बजारमा प्राप्त विविधता र मूल्यको एकरूपता साथै अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक नीतिजस्ता विषयहरूले नै अष्ट्रेलिया संसारका युवाहरूको आकर्षक कर्मथलो बनेको हो ।
शिक्षाको र प्रशिक्षणको पाठ्यक्रमलाई बदलिँदो प्रविधि र आवश्यकतासँग समन्वय गर्ने खोज, अनुसन्धान आदि प्राथमिकताको विषयमा पर्छन् । यदि कुनै श्रमिकले रोजगारी खोज्छ भने उसँग सम्बन्धित कामको प्रकृतिसँग हुबहु मिल्ने न्यूनतम् शैक्षिक योग्यता वा प्रशिक्षण अनिवार्य हुन्छ । अष्ट्रेलियामा व्यावसायिक शिक्षा वा व्यावसायिक प्रशिक्षण रोजगारी प्राप्त गर्ने न्यूनतम आधार हो जसको पूर्णपालनाको परिणाम हो अष्ट्रेलियाको विकास र समृद्धि । नागरिकमा आत्मविश्वास र आत्मनिर्भरताको बीजारोपण गर्ने अष्ट्रेलियाको शिक्षा र प्रशिक्षणको पाठ्यक्रमको मूल मर्म र धर्म हो ।
विविध भाषा, धर्म, संस्कृति र प्रकृतिका आप्रवासीको विशाल जनसंख्यालाई रोजगारी, आय र भविष्यप्रति निश्चिन्त बनाएर सबै आप्रवासीले कमाउने, आपसमा रमाउने वातावरण व्यवस्थापनमा अष्ट्रेलियाले प्राप्त गरेको सफलता संसारका समाजशास्त्री र अर्थवेत्ताहरूका लागि राम्रो अध्ययनको विषय हो । अष्ट्रेलियाको विद्यार्थी आकर्षित गर्ने र तिनीहरूलाई आप्रवासनको जालमा लठ्याउने सूत्र व्यावहारिक, व्यावसायिक शिक्षा, प्रशिक्षण, रोजगार नीति र सेवा निवृत्तपछिको सुरक्षा हुन् । अष्ट्रेलियामा प्रशिक्षणका विषय अनगिन्ती छन् ।
अष्ट्रेलियामा नागरिकलाई मात्रै होइन अष्ट्रेलियालाई नै आत्मनिर्भर र विकासको गुणस्तरलाई अभिवृद्धि गर्न प्रशिक्षण नीति जिम्मेवार छ । फेरि एक दिनेदेखि एक वर्षसम्म चल्ने कामसँग जोडिएका प्रशिक्षणको परिणामले अष्ट्रेलियाको उत्पादन र अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ ।
अल्पविकसित देशहरूका शिक्षित युवाहरूलाई आकर्षित गरेर अष्ट्रेलियाले आफ्नो विकासलाई उचाइमा पु¥याएको छ । समयको परिवर्तनसँगै आफूलाई सफलताको यात्राका लागि नागरिकहरूलाई उत्प्रेरित गर्न सफल छ । अष्ट्रेलियाले आधुनिक विकासमा प्राप्त सफलता, आधुनिक प्रविधिको वैज्ञानिक र व्यावहारिक संयोजनको क्षेत्रमा गरेको उपलब्धिको प्रशंसा गर्नैपर्छ । सानुभन्दा सानु काममा आधुनिक औजार, उपकरण र उत्पादनले अष्ट्रेलियाका नागरिकलाई सुखी र खुशी बनाउन खेलेको भूमिका बाँकी संसारका लागि लोभलाग्दो विषय बनेको छ ।
आप्रवासीहरूको भाषिक, धार्मिक, सांस्कृतिक, सोच र जीवनशैलीको विविधताबीच बसोवास, विकास र आफ्नो कामको क्षेत्रमा साझा एकता, सद्भाव र खुसीको वातावरण निर्माणका क्षेत्रमा अष्ट्रेलियाले प्राप्त गरेको सफलताको सिको विश्वका गरिब देशहरूले गर्नसके भने पक्कै पनि संसारमा विद्यमान, गरिबी, अभाव, विभेदजस्ता विषयलाई ठाडो चुनौती दिन सक्ने अवस्था सिर्जना हुनसक्छ । संसारका अल्पविकसित देशहरूका लागि सपना मानिने विकास र नागरिक सुरक्षा साथै सन्तुष्टिका क्षेत्रमा अष्ट्रेलियाले प्राप्त गरेको सफलता इमानदारी र नैतिक साथै निष्ठावान नेतृत्व हुने देशहरूले व्यवहारबाट अनुवाद गर्न सक्छन् भन्ने उदाहरण बन्यो अष्ट्रेलिया । ज्ञान, सीप, स्रोत र प्रविधिको उच्चतम सिर्जनशील प्रयोग गर्न सफल अष्ट्रेलियाको कानुन, नीतिप्रति पूर्णसमर्पित राजनीति र निष्ठाका धरोहर राजनीतिज्ञहरूलाई हृदयदेखि सलाम । अष्ट्रेलियाको मेलवर्न सिटीको ओलर्टबाट ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच