![क्यानलाई ६० लाख दिने वाइवाइको घोषणा](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/wai-wai-can-.jpg)
काठमाडौं । यस वर्षको मनसुन नेपाल भित्रिएको छ । कोशी प्रदेशस्थित पूर्वी भागबाट सोमबार नेपालमा मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार सरदर मितिभन्दा तीन दिन पहिले मनसुन भित्रिएको हो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो ।
पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन देशभर फैलन कम्तीमा पाँच दिन लाग्ने विभागको अनुमान छ । मनसुन विस्तारै पूर्वबाट पश्चिमतिर बढ्दै गएको मौसमविद् अधिकारीले बताउनुभयो । पूर्व नेपालबाट भित्रिएको मनसुन केही दिनमा क्रमिक रूपमा देशका अन्य भेगमा प्रवेश गर्ने मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो । ‘नेपालभर मनसुन फैलिने औसत समय पाँच दिन हो । तर, वायुको वेगमा पनि यो भरपर्छ । हावाको गतिअनुसार कति दिन लाग्ने भन्ने भरपर्ने हुन्छ,’ उहाँले भन्नुभयो, ‘पाँच दिनभन्दा अगाडि नै अथवा एक हप्ताभन्दा धेरै पनि लाग्नसक्छ ।’
पूर्वी भूभागहरूबाट मनसुन भित्रिए पनि पश्चिमी भूभागमा अत्यधिक गर्मी छ । काठमाडौंमै आइतबार र सोमबार अत्यधिक गर्मी भएको छ । पश्चिम तराईका भूभागहरूमा तातो हावा नै चलेको विभागले जनाएको छ । पश्चिम तराईमा अझै केही दिन तातो हावा चल्ने सम्भावना रहेको विभागले जनाएको छ । यसपालि सरदरभन्दा बढी पानी पर्ने आँकलन छ ।
सरदरभन्दा बढी वर्षा हुने
यसपालिको सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण गरिएको छ । यसपालि देशका अधिकांश स्थानहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म रहेको जल तथा मौसम विज्ञान विभागले आँकलन गरेको छ । सुदूरपश्चिम प्रदेशको उत्तर-पश्चिमी भूभाग, बागमती प्रदेशको दक्षिण-पूर्वी भूभाग, मधेश प्रदेशको मध्यभूभाग र कोशी प्रदेशको मध्य तथा मध्यपश्चिमी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म रहेको विभागले जनाएको छ । गत वर्षको मनसुन अवधिमा सरदरभन्दा कम पानी परेको थियो । गत वर्ष जेठ १८ देखि असोज १३ गते सम्मको अवधिमा एक हजार ३०३.० मिलिमिटर वर्षा भएको थियो । चार महिनाको अवधिमा एक हजार ४७२ मिलिमिटर औसत वर्षा हुनुपर्नेमा सरदरभन्दा ११.५ प्रतिशत कम मिलिमिटर वर्षा भएको विभागले बताएको थियो ।
देशका अधिकांश स्थानमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशतसम्म रहेको विभागले आँकलन गरेको छ । त्यस्तै, कर्णाली प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशको मध्यभूभाग र कोशी प्रदेशको उत्तर-पूर्वी भूभागमा अधिकतम तापक्रम सरदर रहने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले बताएको छ । यस्तै, देशका अधिकांश स्थानहरूमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रशितशत रहेको छ । सुदूरपश्चिम, गण्डकी र बागमती प्रदेशको थोरै भूभागमा न्यूनतम तापक्रम सरदर रहने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले बताएको छ ।
१८ लाख मानिस प्रभावित हुने आँकलन
यसपालि मनसुनजन्य विपद्बाट नेपालमा १८ लाख मानिसहरू प्रभावित हुने आँकलन छ । मनसुनजन्य विपद्बाट कुनै न कुनै रूपमा चार लाख १२ हजार घरधुरी प्रभावित हुनसक्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुमान गरेको छ । मनसुनजन्य विपद्बाट ८३ हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुनसक्ने प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले बताउनुभयो । १८ हजार घर परिवारलाई उद्धार तथा राहत दिनुपर्ने प्राधिकरणको आँकलन छ । मनसुनजन्य विपद्बाट सबैभन्दा बढी कोशी प्रदेशमा प्रभावित हुने अनुमान छ । कोशी प्रदेशमा चार लाख ९५ हजार ३५२ जना प्रभावित हुने अनुमान छ । एक लाख १३ हजार ३५३ घरधुरी प्रभावित हुने अनुमान छ । मधेशमा चार लाख २९ हजार ४०४ जना र ९८ हजार २६२ घरधुरी प्रभावित हुने आँकलन छ । लुम्बिनी प्रदेशमा पनि मनसुनजन्य विपद्बाट तीन लाख ३६ हजार ५५८ जना प्रभावित हुने आँकलन छ । बागमतीमा एक लाख ४५ हजार ८८३ जना प्रभावित हुने अनुमान गरिएको छ । गण्डकीमा एक लाख १० हजार ५५४ जना र २५ हजार २९८ घरधुरी प्रभावित हुने आँकलन छ । कर्णाली प्रदेशमा ५० हजार ४६४ जना प्रभावित हुने प्रक्षेपण छ भने सुदूरपश्चिममा मनसुनजन्य विपद्बाट दुई लाख ३३ हजार १९० जना र ५३ हजार ३६२ घरधुरी प्रभावित हुने आँकलन छ ।
पानी निकासको उचित व्यवस्था गर्न किसानलाई नार्कको सुझाव
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले सबै बालीका लागि जमिन तयारी गर्दा पानी निकासको उचित व्यवस्था गर्न सुझाव दिएको छ । नार्कले सार्वजनिक गरेको कृषि-मौसम सल्लाह बुलेटिनअनुसार आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानमा सरदर वा सरदरभन्दा बढी वर्षा हुने सम्भावना देखिएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न बालीको लागि जग्गा तयारी गर्दा पानी निकासको उचित व्यवस्था गर्न सुझाव दिएको हो । मनसुनको सुरुवातमा सुक्खा तथा उत्तरी क्षेत्रमा बढी पानी पर्ने देखिएकाले सुक्खा र डुबान सहनसक्ने सिफारिश गरिएका धानका जातहरू रोपाइँ गर्न नार्कले सुझाएको हो ।
खासगरी मध्यपहाडी क्षेत्रमा अत्यधिक वर्षाले निम्त्याउन सक्ने बाढी, पहिरोको जोखिम नियन्त्रणका लागि कृषि कार्य गर्दा गह्रो–कान्ला खेती प्रणालीलाई प्राथमिकता राख्न नार्कले किसानलाई सुझाव दिएको छ । यस्तै, संरक्षित संरचना (प्लाष्टिक घर) निर्माण गरी खेती गर्न तयारी गर्ने किसानहरूले यस्ता संरचना बनाउँदा पानी नजम्ने स्थान छान्नुपर्ने पनि नार्कले प्रष्ट पारेको छ । साथै यस्ता संरचनाभित्र खेती गरिरहेका कृषकले संरचनाहरूको निरीक्षण गरी मनसुनपूर्व आवश्यक मर्मत–सम्भार कार्य गर्नसमेत सो बुलेटिनमा सुझाइएको छ ।
कस्तो छ सरकारको तयारी ?
सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य ‘कमाण्ड पोष्ट’को स्थापना गरेको छ । विपद् अघिको पूर्वतयारीदेखि विपद्पछि गर्नुपर्ने सबै काम गर्ने कमाण्ड पोष्ट बनाएको हो । विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सहसचिवको संयोजकत्वमा कमाण्ड पोष्ट स्थापना गरिएको छ । जसमा सबै सुरक्षा निकाय र विपद् व्यवस्थापनसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न मन्त्रालय र विभागका प्रथम श्रेणीका अधिकारीहरूले कार्य गर्नेछन् । कमाण्ड पोष्टले आवश्यक पर्दा प्रत्यक्ष रूपमा गृहमन्त्री, गृहसचिव र प्रधानमन्त्रीसँग समेत समन्वय गर्न सक्नेगरी अधिकारसम्पन्न बनाइएको गृह मन्त्रालयले जनाएको छ । कमाण्ड पोष्टले एकल विन्दु सेवा केन्द्रका रूपमा काम गर्नेछ । मन्त्रालयका अनुसार मनसुनजन्य विपद्मा परेका नागरिकको उद्धार, पुनः स्थापना तथा राहतका लागि नेपाली सेनाका १० हजार ८४७, सशस्त्र प्रहरी बल नेपालका नौ हजार ९२४, नेपाल प्रहरीका १० हजार ५८५ दक्ष जनशक्ति तयारी अवस्थामा राखिएको छ । यसैगरी, सुरक्षा निकायका थप जनशक्ति परिचालन गर्न सकिने गरी आवश्यक प्रबन्ध गरिएको मन्त्रालयको भनाइ छ । यस्तै, स्वयंसेवा परिचालनका लागि पनि मन्त्रालयले विशेष व्यवस्था गरेको छ । एक लाखभन्दा बढी स्वयंसेवक परिचालनका लागि दर्ता भइसकेका छन् । सरकारले विपद्सम्बन्धी सूचना र जानकारी लिन ११४९ टोल फ्री नम्बरसमेत सञ्चालनमा ल्याएको छ । गृहमन्त्री लामिछानेले विपद्सम्बन्धी सूचना र जानकारी लिन ११४९ टोल फ्री नम्बर सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच