नमागिएको सल्लाह
गत मंगलबार प्रात भ्रमणको सिलसिलामा पशुपति मन्दिरतर्फ जाँदैगर्दा एकजना नेपाली र अर्का भारतीय तीर्थयात्री गफिँदै थिए । विषय थियो- हालै सम्पन्न भारतीय लोकसभाको चुनाव । नेपाली नागरिक भन्दै थिए) ‘इस्बार चुनावमें मोदीको हरा दिया, दुःखकी बात है’ भारतीय नागरिकले भने ‘दुःखकी बात नहीं, बहुत/बहुत दुःखकी बात है’ । मनमा लाग्यो- मोदी प्रधानमन्त्री भइसकेका छन् । नेपाललगायत विभिन्न देशका सरकार प्रमुख र राष्ट्र प्रमुखहरूको उपस्थितिमा भव्य शपथ ग्रहण समारोह पनि सम्पन्न भइसकेको छ । यो तथ्यका बाबजुद सामान्य नागरिकसम्म मोदीले हारे भन्ने सन्देश प्रवाह भएको छ । जबकि, हालै सम्पन्न निर्वाचनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले सर्वाधिक २४० सिट हासिल गरेको छ । संसद्को सबैभन्दा ठूलो पार्टी पनि बनेको छ ।
के मोदीले साँच्चै हारेका हुन् वा जनमानसमा त्यस्तो धारणा बन्न गयो ? यसबारे चर्चा गरौं । राजनीतिका केही पण्डितहरूले भने- लोकतन्त्रको तकाजा भनेको यही हो । आफूलाई सम्राट ठान्नेहरूलाई जनताले हैसियत देखाइदिन्छन् । भारतीय जनता पार्टीका मोदी समर्थकलगायतले भने-यो नतिजा मोदीकै व्यक्तित्वका कारण आएको हो । गठबन्धन भएर के भयो मोदी महाप्रबल भएका छन् । जसले जे तर्क गरे पनि भारतीय मतदाताले आफ्नो सार्वभौम अधिकारको प्रयोग गरेर नेताहरूको हैसियत देखाइदिएको विषय चाहिँ सत्य हो ।
मोदीले जिते कि हारे ?
निर्वाचनको परिणामले मोदीको एक्स्प्रेस गाडीमा राम्रै ब्रेकको काम गर्नेछ । यात्राको क्रममा धेरै अवरोधको सामना गर्नुपर्नेछ । यद्यपि, नेपालजस्तो राजनीतिक अपसंस्कृति भएको देशमा जस्तो जनमतप्राप्त पार्टीलाई सत्ताबाहिर राखेर भुरेटाकुरे पार्टीले सत्ता सञ्चालन गर्ने परम्परालाई भारतले लामो समयदेखि अस्वीकार गर्दै आएको छ ।
हिन्दु धर्मका अवतारमा विश्वास गर्ने मोदीमा आफूलाई परमात्माले विशेष कामका लागि पठाएको भन्ने भावना जागिसकेको थियो । उनले यो विषय सार्वजनिक पनि गरिसकेका थिए । उनको हिन्दु पृष्ठभूमिबाट बनेको पार्टी भारतीय जनता पार्टीका नेता कार्यकर्ता मोदी परमात्माको अवतार भन्न थालिसकेका थिए । त्यस्मा भारतीय जनता पार्टी र मोदीको पक्षमा प्रचार विभागको रूपमा काम गरेका अधिकांश भारतीय सञ्चारमाध्यमहरूले मोदीलाई देवत्वकरण गर्न कुनै कसर बाँकी राखेका थिएनन् । मोदीले ध्यान गरेका तस्वीरहरू अनेक मोदी अवतार झल्काउँने समाचारहरू यिनीहरूको प्राथमिकतामा पर्ने गर्थे ।
गीतामा श्रीकृष्णले भनेको श्लोक छ :
‘यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।
यो श्लोकमा भनेजस्तै धर्ममा ग्लानि भएको अवस्थामा त्यसलाई रोकेर धर्मको उत्थान गर्नका लागि म अवतार लिनेछु भन्ने अर्थ भएको श्लोक कण्ठस्थ गरेका राष्ट्रिय स्वयं सेवक संघ र भारतीय जनता पार्टीका केही कार्यकर्ताले मोदीमा कृष्णको अवतार देखिसकेका थिए ।
काशीको विश्वनाथ मन्दिरको ज्ञानवापीमा हिन्दु पूजारीले पूजा गर्न सुरु भएको, ज्ञानवापीमा पनि हिन्दु स्वामित्व स्थापित भएको र बाबरी मस्जिद भएको स्थानमा अयोध्याको रामजन्मभूमिको अस्तित्व स्थापित गरी रामललाको प्राण प्रतिष्ठा गरेको विषयले हिन्दु जनमानसमा उत्साहको सञ्चार गराएको विश्वास गरिएको थियो । असी प्रतिशत हिन्दु धर्मावलम्बी रहेको भारतमा यसले सार्थक प्रभाव पार्ने अपेक्षा गरिएको थियो तर अयोध्या- फैजावाद क्षेत्रमा नै भारतीय जनतापार्टी पराजित भएको अनौठो तथ्य देखिएको छ । राम मन्दिरको हतारमा गरिएको विवादास्पद प्राण प्रतिष्ठाको घटनाक्रमले स्थानीय प्रभाव पनि पार्न नसकेको विश्लेषण भइरहेको छ ।
‘इसबार चार सौ पार’ को आकांक्षा राखेर विभिन्न सवालमा ‘मोदीका ग्यारेन्टी है’ भन्दै हिँडेका मोदी चन्द्रबाबु नायडूको १६ सिट र आयाराम गयारामको अस्थिर छवि बनाएका नितिश कुमारको १२ सिटको बैशाखीको सहारामा हिँड्ने अवस्था बन्नु सहज अवस्था पक्कै पनि होइन । यसले मोदीको एक्स्प्रेस गाडीमा राम्रै ब्रेकको काम गर्नेछ । यात्राको क्रममा धेरै सडक अवरोध (हम्प) को सामना पनि गर्नुपर्नेछ । यद्यपि, नेपालजस्तो राजनीतिक अपसंस्कृति भएको देशमा जस्तो जनमत प्राप्त पार्टीलाई सत्ताबाहिर राखेर भुरेटाकुरे पार्टीले सत्ता सञ्चालन गर्ने परम्परालाई भारतले लामो समयदेखि अस्वीकार गर्दै आएको छ ।
निर्वाचनपछि सार्वजनिक भएको मत परिणामले भारतीय जनता पार्टीले बहुमत प्राप्त गर्न नसक्ने रुझान देखाएपछि कांग्रेस नेता राहुल गान्धी र आमा सोनिया गान्धी विजयी भावमा पत्रकारमाझ प्रस्तुत हुँदा केही गोदी मिडियाले ‘ये लोग क्या कर रहे है, सरकार बनारहे हैं’ भनेर व्यंग्य पनि गरिरहेका थिए । राहुलले उत्तर प्रदेशको चुनावी नतिजाका लागि त्यहाँका जनता र आफ्नी बहिनी प्रियंकाको प्रयासको मुग्धकण्ठले प्रशंसा गरेका थिए । यी सबै घटनाक्रमले भारतीय लोकसभाको हालै सम्पन्न चुनावमा जितेर सरकार बनाउनेले हारको महसुस गरिरहेका छन् भने हार्नेले जितको महसुस गरिरहेका छन् ।
हार्नेहरूले कसरी जिते ?
यस पटकको चुनावमा कांग्रेस नेता राहुल गान्धी भारतीय संविधानको किताब लिएर मतदातामाझ पुगेका थिए । उनको यस्तो काम ढिलो भए तापनि अर्थपूर्ण रहृयो । गरिब जनता सत्ताको प्रभाव र प्रलोभनमा परेनन् । न त मोदीको ग्यारेन्टीको पछि लागे । भारतीय विविधता, समावेशीकरण, धर्म निरपेक्षताको प्रत्याभूत गर्ने संविधानमा आँच आयो भने भारतको अस्तित्व खतारामा पर्ने कुराको महसुस गरिब भारतीय मतदातासम्म पुग्नु भारतीय लोकतन्त्रको उपलब्धिका रूपमा देखापर्यो ।
एमाले नेता केपी ओलीलगायतका नेताहरूको भारतको विरोध गरेजस्तो गरेर राष्ट्रवादी देखिने चिन्तन नेपालका लागि घातक बन्न सक्दछ । आफ्नो सत्ता अनुकूलनका लागि ‘त्वं शरणं’ गर्ने र भारतविरोधी देखिने सूत्रहरू म्याद नाघेको औषधिजस्ता भइसकेकाले मोदीसँग सहकार्य गर्न मूलधारका नेताहरू जिम्मेवार हुनुको विकल्प छैन ।
‘इसबार चारसौ पार’ होइन तीनसौ पारमात्र भएको भए पनि मोदीले आफूलाई अवतार ठानेर भारतीय विविधतालाई कमजोर पार्ने सम्भावनालाई बुद्धिजीवीहरूले औंल्याएका थिए । मोदीले बृहत् भारतवर्षको काल्पनिकतामा लागेर कति देशको अस्तित्व संकटमा पार्न कुटिल प्रपञ्च रच्ने थिए भन्ने विषय आहिलेको सन्दर्भमा अतिशयोक्ति लाग्न सक्दछ तर नेपालको लिम्पियाधुरा र लिपुलेकलाई भारतीय भूमिमा गाभेको तथ्य स्मृतिमा राख्नेका लागि यो विषय तथ्य नजिक लाग्न सक्दछ । सन् २०१९ मा दोस्रो पटकको ३०३ को विजयीभावमा कश्मिरको स्वायत्त हैसियत हरण गरेका मोदीले चारसौ पार भएको भए माल्दिभ्सको कट्टर चाइनापन्थी नेतृत्वसँग कस्तो प्रतिशोध साध्ने थिए यसलाई पनि अहिले अनुमानमा नै राख्नु जायज होला ।
दश वर्षे शासन कालमा संवैधानिक अंग, आयकर विभाग, सम्पत्ति शुद्धीकरण विभाग समेतमा प्रभाव जमाएर आफूलाई चुनौती दिने विरोधीलाई कारागार चलान गर्ने क्रम सुरु गरेका मोदी चार सौ पार भएका भए कसैले प्रतिवाद गर्नै नसक्ने निर्वाचित तानाशाहको अवतारका रूपमा प्रकट हुने सम्भावना उनका चुनावअघिका दिल्लीका मुख्यमन्त्रीलगायतलाई कारागार पठाउने कदमबाट पुष्टि हुनजान्छ भन्ने निष्कर्ष निकाल्नेहरूको पनि कमी छैन । अबको पाँच वर्षे कार्यकाल पनि पहिले दुई कार्यकाल जस्तै अकण्टक भइदिएको भए प्रजातन्त्र अन्तिम रक्षा कवच अदालतहरू पनि मोदीबाट प्रभावित हुने कुरामा धेरैले आशंका व्यक्त गरेका थिए ।
भारतीय जनता पार्टी समेतको नेसनल डेमोक्रेटिक एलाइन्स (एनडिए) को चारसौ पार भएको भए दुई तिहाइको बलमा संविधान संशोधन गरेर आरएसएसले अछूत ठानेका अम्बेडकरले बनाएको संविधानको मर्ममाथि नै प्रहार हुनसक्ने सम्भावनाबाट भारतीय नागरिक समाज र बौद्धिक जगतलाई चिन्तित बनाएको थियो । त्यस्तो चिन्तालाई अहिलेको चुनावी नतिजाले दूर गरिदिएको छ । यसै अर्थमा होला संविधानको रक्षा गर्न सकेकोमा संसदीय अंकगणितमा हारेकाहरू पनि विजयी महसुस गरिरहेका छन् ।
मोदीको तेस्रो कार्यकाल र नेपालको स्वार्थ
विश्वमा उभार भएको पपुलिजमका एउटा पात्र मोदी पनि हुन् । मोदी, ट्रम्पजस्ता पपुलिष्टहरूको उग्रराष्ट्रवादी चिन्तनले विश्व व्यवस्थाका मूल्य मान्यताहरूलाई उलटपुलट पार्ने सम्भावनाहरू बढेर गएको छ । यो लहरलाई नेपालले रोक्न सक्ने सम्भावना कम छ । नेपालजस्ता देशले यसको दुष्प्रभावबाट जोगिएर आफ्नो कूटनीतिक सामथ्र्यको प्रयोग गरेर फायदा लिन प्रयास गर्ने हो । एउटा भौगर्भिक तथ्य के हो भने-जति नैं आलोचना र गाली गलौज गरेता पनि नेपालका लागि भारतजस्तो आर्थिक विकासको सहयात्री अरू हुन सक्दैनन् ।
पेट्रोलियम पदार्थ, औषधिलगायत अत्यावश्यकीय सामग्रीको आयात होस् वा विद्युत्लगायत नेपाली वस्तु वा सेवाको निर्यात होस् ।
पर्यटकको आगमनका दृष्टिकोणबाट भारतको स्थान सबैभन्दा माथि छ । भारतीय असहयोगका कारण हामीले ऋणमा बनाएका विमानस्थलहरू सुचारु हुन सकेका छैनन् । भारतीय सरकारको त के कुरा भन्सार अधिकारीको सामान्य असहयोगको कारण हामीले निर्यात गर्ने वस्तु भन्सारमै कुहिने सम्भावना छ । भनाइको मतलव हो-भारतीय पक्षको सामान्य असहयोगले हाम्रो देशको सन्तुलन बिग्रन लामो समय नै लाग्दैन ।
मोदीको तेस्रो कार्यकालमा पनि सकभर भारतलाई असन्तुष्ट बनाउने काम नगरेर हाम्रा राष्ट्रिय स्वार्थ साधनमा लाग्नुमा कूटनीतिक सामथ्र्य देखिनेछ । अबको हाम्रो प्राथमिकता भनेको बिजुली, सिमेन्ट, फलाम, रडजस्ता निर्यात सम्भावना भएका वस्तु भारतलाई बेचेर अर्थ व्यवस्थालाई रूपान्तरण गर्न सक्नुपर्दछ । भारतले असहयोग गरेको अवस्थामा हिउँद महिनामा लोडसेडिङ भोग्नुपर्ने अवस्थाबाट अहिले पनि पार पाउन सकिएको छैन । बंगलादेशलाई थोरै भए पनि विद्युत् निर्यात गर्ने सन्दर्भमा सोको मूल्य बंगलादेश सरकारले निर्धारण गरेको विषय उत्साहप्रद छ । तेस्रो देशमा विद्युत् निर्यात गर्ने कार्यको थालनी भएको छ । यसका लागि पनि भारतीय विद्युत् प्रसारण लाइनको उपयोग नगरी सम्भव छैन ।
एमाले नेता केपी ओलीलगायत नेताहरूको भारतको विरोध गरेजस्तो गरेर राष्ट्रवादी देखिने चिन्तन नेपालका लागि घातक बन्न सक्दछ । आफ्नो सत्ता अनुकूलनका लागि ‘त्वं शरणं’ गर्ने र जनता झुक्याउन भारतविरोधी देखिने सूत्रहरू म्याद नाघेको औषधिजस्ता भइसकेकाले मोदीसँग सहकार्य गर्न मूलधारका नेताहरू जिम्मेवार हुनुको विकल्प छैन । यसैगरी, मोदी वा मोदीको पार्टी भारतीय जनता पार्टीको निकटपात्र बन्ने वा कुनै अरू स्वार्थका कारण नेपालको संविधानको मर्मविपरीतका गतिविधि गरेर राष्ट्रिय स्वार्थ प्रतिकूल काम गर्नेलाई पहिचान गरेर उपयुक्त समयमा नेपाली जनताले दण्डित गर्न सकेमात्र नेपालको नेतृत्व तह अनुशासित बन्ने छ । जे जसो भने तापनि मोदी अहिलेको भारतका सर्वाधिक लोकप्रिय नेता र जनताबाट निर्वाचित प्रधानमन्त्री हुन् । नेपाल-भारत सम्बन्धको हिसाबले समेत उनको कार्यकाल सफल रहोस् । हार्दिक बधाई छ मोदीजी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच