अहिले असार लागिसकेको छ । मध्य बर्खाको समय हो यो । पानी परेर जताततै रोपाइँ भइरहनुपर्ने समय हो यो तर पानी नपरेको कारण सबैतिर हाहाकार छ । खडेरीले पानीका मुहानहरू सुकेका छन् । धारा पँधेराहरू रसाउनु र पलाउनुपर्ने बेलामा सुकेर खानेपानीको समेत समस्या भइरहेका बेला रोपाइँलगायत अन्य कामका लागि पानी हुने कुरै भएन । उच्च पहाडी क्षेत्रका किसानहरूले जेठको अन्तिम हप्ताको सुरुवातदेखि रोपाइँ गर्न थाल्थे । अघौटे धान जति छिटो रोप्यो त्यति राम्रो फल्ने गर्छ तर पानीकै कारण यस पटक असार सुरु हुँदासम्म पनि त्यस्ता ठाउँमा रोपाइँ हुन थालेको छैन । रोपाइँको कुरामात्र होइन गर्मीले सबैतिरको जनजीवन कष्टकर भइरहेको छ ।
झापा, मोरङ, सुनसरीलाई छोडेर तराईका अरू जिल्लाहरूमा प्रचण्ड गर्मी छ । पूर्वी तराईमा भन्दा पश्चिम तराईमा गर्मीका कारण मानिसको दैनिकी प्रभावित भएको छ । ती ठाउँका मानिसहरूले आफ्ना दैनिकी सुचारु रूपमा सञ्चालन गर्न पाएका छैनन् । गर्मीबाट तातो हावा (लु) चल्ने गरेको छ । बंगालको खाडीबाट सुरु भएको मनसुन नेपाल भित्रिएको एकहप्ता बितिसकेको छ । केही दिनमा नेपालभरि फैलिने भनेर आशा गरिएको मनसुन पूर्वको कोशी प्रदेशबाट पश्चिमतर्फ बढ्न सकेको छैन । पश्चिमबाट पूर्व बहेको हावाले अवरोध गरेका कारण मनसुन अनुमान र अपेक्षाभन्दा विपरीत पूर्वमै अड्किरहेको छ । यसले आफ्नो गति पश्चिमतिर बढाउन सकिरहेको छैन ।
पूर्वका केही जिल्लाबाहेक नेपालभरिकै अन्य ठाउँमा पानीको अभावले एकातिर खेतीपाती हुनसकेको छैन भने अर्कातिर भइरहेका बालिनालीहरू पनि पानी नपाएर सुक्न थालेका छन् । सबैतिर मानिस र प्राणीहरूका लागि खानेपानीको समस्या भइरहेको छ । यसका साथै गर्मीबाट पनि मानिसहरू नराम्ररी प्रभावित भइरहेका छन् । गर्मीजन्य अनेकौं समस्याबाट प्रभावित बनिरहेका छन् । रिँगटा लाग्ने, वाकवाक लाग्ने, बान्ता हुने, झाडापखाला लाग्ने, थकान महसुस हुने, मुर्छापर्ने जस्ता समस्या भइरहेका छन् । अस्तालहरूमा बिरामीको संख्या बढिरहेको छ । काठमाडौं उपत्यकालगायतका पहाडी भूगामा समेत प्रचण्ड गर्मी बढिरहेको छ । यी ठाउँहरूमा यसअघिको रेकर्ड ब्रेक हुनेगरी तापक्रम बढेको भनेर मापन भएको छ ।
काठमाडौं उपत्यकामा अहिलेसम्म ३५ डिग्री सेल्सियसको अधिकतम् तापक्रमको रेकर्ड भएकोमा त्यसको निकटमा हालको तापक्रम पुगेको छ । विराटनगरमा ४२ डिग्री पुगेको तापक्रम त्यहाँ पानी परेका कारण अहिले ३५ डिग्री निकटमा रहेको छ । यसरी हेर्दा अहिले विराटनगर र काठमाडौंमा बराबरीको तापक्रम रेकर्ड भएको छ । केही बिन्दुमा मात्र फरक छ । उपत्यकाको जनजीवन पनि असहज बनेको छ । मौसम पूर्वानुमान विभागले तापमानको यस्तो अवस्था अझै केही दिन रहने बताएको छ । यसरी एकातिर गर्मीले जनजीवन कष्टकर बन्दै गरेकोमा एकहप्ता पहिले नै नेपाल प्रवेश गरेको मनसुनको प्रभाव पूर्वमा भने सक्रियतापूर्वक देखा परिरहेको छ ।
त्यहाँ पानी परिरहेको छ । नदीहरूमा बाढी आएको छ भने पहिरोले केही मानिसहरूको ज्यानसमेत गएको छ । पहिरोमा परेर ताप्लेजुङमा चारजना मानिसको मृत्यु भएको छ । प्रकृति हालका दिनहरूमा असन्तुलित बन्दै गएको छ । यसको केही कारण नितान्त प्राकृतिक होलान् तर केही भने मानवीय कारणकै रूपमा रहेका छन् । एकातिर प्राकृतिक सन्तुलन खल्बल्याउन मानवीय व्यवहार कारक बन्ने गरेका छन् भने अर्कातिर प्राकृतिक प्रकोपबाट हुनेगरेका धनजनको क्षतिमध्ये केहीमा मानवीय असावधानी कारक बन्ने गरेका छन् । अहिले सूचना र सञ्चारको चरम विकास भएको समय हो । यसको सदुपयोगमात्र हुनसक्यो भने पनि धनजनको संरक्षणमा धेरै सघाउ पुग्न सक्छ ।
कुनै ठाउँबाट बाढी वा पहिरोको प्रारम्भिक संकेत सुरु हुनासाथ त्यसको सूचना दिने प्रविधिहरूको विकास भइसकेको छ । पानीको प्रवाह कम गर्न पानी फाल्ने साइफन जडान गर्नेदेखि यस्ता बाढीपहिरोको संकेत गर्ने साइरनहरूको समेत विकास भइसकेकाले यस्ता प्राकृतिक दुर्घटना सुरु हुनासाथ त्यस्ता संशाधन र प्रविधिको उपयोग हुन सक्यो भने निश्चय विपद्मा कमी ल्याउन सकिन्छ । हाल नेपाल टेलिकम तथा जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिमबारे पूर्वसूचना प्रवाह गर्नेसम्बन्धी सम्झौता भएको छ । यसबाट बाढी आउनुपूर्व मोबाइलमा म्यासेज आउने व्यवस्था मिलाइने भएकाले बाढीबाट जोगिनका लागि केही सघाउ पुग्ने निश्चित छ ।
यस्तो व्यवस्था यथाशीघ्र छिटो देशभरि नै गर्नु नितान्त आवश्यक छ । नागरिकहरूको जीउधनको सुरक्षा गर्नु सरकारको कर्तव्य हो । सरकारले यसतर्फ तदारुकता देखाउनुपर्छ । यसमा कत्ति पनि ढिलासुस्ती हुनुहुँदैन । सरकारको दायित्य एकातिर छँदैछ भने अर्कातिर सबै काममा सरकारको मुख ताक्ने नागरिकहरूको व्यवहारमा पनि परिवर्तन हुनु आवश्यक छ । सबै काम सरकारले गरिदिन्छ भन्ने सोच राख्नु नागरिकहरूको कमजोरी हो । आफू सुरक्षित रहने उपाय नागरिकहरूले अवलम्बन गर्नु आवश्यक छ । आफू असुरक्षित ठाउँमा बस्ने र आफ्नै कारणले केही आपत् आइपर्यो भने त्यसको दोष सरकारलाई दिने प्रवृत्ति जनस्तरबाट हटाउनुपर्ने हुन्छ । यसो भयो भने यस्ता विपद्हरूको न्यूनीकरण हुँदै जाने कुरामा विश्वस्त बन्न सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच