
काठमाडौं । चुरे दिवसका अवसरमा चुरे उत्थानशील आयोजना र कमल सामुदायिक वनले इलामको कमल सामुदायिक वनमा वृक्षारोपण गरेका छन् । चुलाचुली-१ स्थित कमल खोला किनारको बाँझो जमिनमा चुरे पहाडको फेदमा बाँस, अम्बा, अमला, जामुनलगायतका रैथाने प्रजातिका एक हजार बिरुवा रोपिएका हुन् । सब डिभिजन वन कार्यालय चुलाचुली, सब डिभिजन वन कार्यालय बेलबारी र डिभिजन वन कार्यालय त्रिवेणी, उदयपुरको सहयोगमा चुरे उत्थानशील आयोजनाले बिरुवा उपलब्ध गराएको थियोे । कार्यक्रममा चुरे उत्थानशील आयोजनाका राष्ट्रिय निर्देशक नबराज पुडासैनीले भन्नुभयो, ‘तराईमा नेपालका आधा जनसंख्या बस्छन्, जसले सारा नेपालका लागि अन्न उत्पादन गर्छन् । तराई जोगिएन भने यी सब मानिसको जीवन तथा जीविका जोखिममा पर्छ । त्यसैले चुरे क्षेत्र जोगाउने हाम्रो प्रतिबद्धता छ ।’
पछिल्लो समयमा वन विनाश, नदीजन्य पदार्थ उत्खनन्लगायत मानवीय गतिविधिका कारण चुरे क्षेत्रको वातावरण खस्किरहेको छ । चुरे क्षेत्रमा बाढी, पहिरो आउने, पानीका मूल सुक्ने, नदी कटानले घर भत्काउने र खेत बञ्जर बनाउनेलगायतका समस्या बढ्दै गइरहेको स्थानीयवासीको गुनासो छ ।
कार्यवाहक वडाध्यक्ष लालबहादुर चाम्लिङ भन्नुहुुन्छ, ‘पहिले चुरे क्षेत्रमा पानी थियो । अहिले सय फिटभन्दा गहिरो बोरिङ गर्दा पनि पानी पाइँदैन । अब हामीले वृक्षारोपण गरेर यो क्षेत्र पहिलेको जस्तो बनाउने कोसिस गर्नुपर्छ । आयातित प्रजातिले यहाँको उर्वराशक्ति घटाउने हुँदा रुख रोप्दा स्थानीय प्रजाति छान्नुपर्छ ।’
आयोजनाका कोशी प्रदेश संयोजक राजकुमार गुप्ताका अनुसार चुरे क्षेत्रको संरक्षण पछिल्लो समयमा नेपाल सरकारको प्राथमिकतामा पर्दै आएको छ । १० वर्षअघि असार २ गतेलाई चुरे दिवस घोषणा गरिएको हो । तत्कालीन राष्ट्रपति रामवरण यादवको समयदेखि राष्ट्रपति चुरिया तराई मधेश संरक्षण तथा विकास समितिअन्तर्गत संरक्षणका विभिन्न काम भइरहेका छन् । चुरे क्षेत्रको माटो अत्यन्त कमलो छ ।
पानी नहुँदा ढुंगा जस्तो साह्रो हुन्छ, पानी परेपछि गल्छ, अनि बगेर जान्छ । माटो संरक्षण गर्न नसकेमा उर्वर, मलिलो माटो बगेर जानेछ । त्यसकारण चुरे संरक्षणका लागि एकीकृत भएर लाग्नुपर्ने अवस्था छ । कमल सामुदायिक वनकी अध्यक्ष संगीता थलङले वृक्षारोपण गरेर वनक्षेत्र बढाउँदै लाने योजना रहेको बताउनुभएको छ ।
चुरे उत्थानशील आयोजनाले चुरे क्षेत्रका २६ वटा नदी प्रणालीमा जलवायु उत्थानशील वृद्धि गर्ने उद्देश्यले विभिन्न कार्य गर्दै आएको छ । वातावरण संरक्षण तथा जलवायु उत्थानशीलतामा चुरे उत्थानशील आयोजनाको निरन्तर कार्यअन्तर्गत वृक्षारोपण गरिएको हो । आयोजनाले आफ्नो कार्यक्षेत्रमा नर्सरी स्थापना तथा वृक्षारोपण गर्दै आएको छ । हाल कोशी प्रदेशमा आयोजनाका सातवटा नर्सरी रहेका छन्, जसमा चार लाखभन्दा बढी बिरुवा छन् । बिरुवा रोप्न चाहनेलाई आयोजनाले बिरुवा निःशुल्क वितरण गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच