६ महिनामा १६ लाख बढी राजस्व संकलन

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 3 mins

बैतडी । बैतडीको महाकाली भन्सार कार्यालयले ६ महिनामा १६ लाख बढी राजस्व संकलन गरेको छ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाका झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १६ लाख १६ हजार ३६३ रुपैयाँ राजस्व संकलन गरिएको महाकाली भन्सार कार्यालय झुलाघाटका प्रमुख अनिल झाले जानकारी दिनुभयो । यो लक्ष्यको ४१ प्रतिशतमात्रै रहेको हो । भन्सार महसुल, भन्सार सेवा दस्तुर, मूल्य अभिवृद्धि र अन्तःशुल्कबापत सो राजस्व संकलन गरिएको उहाँले बताउनुभयो ।

भन्सार महसुल १० लाख ६८ हजार ६४६, भन्सार सेवा दस्तुर ४१ हजार, मूल्य अभिवृद्धि कर तीन लाख ५१ हजार १२७, अन्तःशुल्क ६ हजार ४४० र धरौटी लिलामबाट एक लाख ४९ हजार १५० रुपैयाँ राजस्व संकलन गरिएको महाकाली भन्सार कार्यालयका प्रमुख झाले जानकारी दिनुभयो ।

सानो नाका भएकाले व्यापारिक प्रयोजनका लागि सामान कममात्रामा आउने गरेको छ । खाद्यान्नका सामग्री, कपडा, भाँडाकुँडा, तरकारी भारतबाट आयात हुने गरेको भए पनि निर्यात भने हुने गरेको छैन । गत आर्थिक वर्षमा मात्रै झुलाघाट नाकाबाट ८१ लाख २१ हजार ३१४ रुपैयाँको सामान भित्रिएको थियो भने निर्यात शून्य रहेको छ ।

झुलाघाटमा पक्की मोटेरबल पुल नहुँदा यहाँका व्यापारीहरूले धनगढी महेन्द्रनगरबाट सामान ल्याउने गरेका छन् । गत आर्थिक वर्षमा महाकाली भन्सार कार्यालयले लक्ष्यको ५४ दशमलब २७ प्रतिशतमात्रै राजस्व संकलन गरेको थियो । ४३ लाख ६१ हजारको लक्ष्य रहेकोमा २३ लाख ६६ हजार ९७ रुपैयाँ राजस्व संकलन गरेको थियो । यस आर्थिक वर्षमा भने राजस्व संकलनको लक्ष्य घटेर आएको छ । यस वर्ष महाकाली भन्सार कार्यालयले ३८ लाख ८६ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?