काठमाडौं । संसद्को भूमिका जनता केन्द्रित नभएको विश्लेषण गरिएको छ । ६६औँ संसद् दिवसको अवसरमा संसद् भवनमा आयोजित कार्यक्रममा संसद्को नेतृत्व तहले संसद् जनतामुखी हुन नसकेको टिप्पणी गरेको हो । संसद्को भूमिकाका सन्दर्भमा आयोजित कार्यक्रममा संसद्का वर्तमान अध्यक्ष, उपाध्यक्ष एवं सभामुख र उपसभामुख तथा पूर्वसभामुखहरूले संसद्को भूमिका र सुधारका पक्षहरूका बारेमा गरिएको छलफलमा संसद् सरकारको छाया बनेकाले संसद् प्रभावकारी हुन नसकेको निचोड निकालेका हुन् । पछिल्लो समय संसद्को भूमिकामाथि प्रश्न उठिरहेको सन्दर्भमा संसद्ले कानुनसमेत बनाउन अक्षम भइरहेकाले सरकारलाई समेत निर्देशन दिनुपर्ने जिकिर गरिएको छ । सरकारको नियन्त्रणमा रहनुपर्ने बाध्यताका कारण संसद्ले आफ्नो नियमित काम कारबाही प्रभावकारी ढंगले सञ्चालन गर्न नसकेको अवस्थामा संसद् जनमुखी बन्नुपर्ने जिकिर संसद्को वर्तमान तथा पूर्व-नेतृत्वले गरेको हो ।
संसद् कानुन बनाउने थलो मात्रै नभई राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्र हो : सभामुख
सभामुख देवराज घिमिरेले संसद् कानुन बनाउने थलो मात्रै नभई राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्र भएको बताउनुभएको छ । आइतबार संसद् भवनमा ६६औँ संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संसद्लाई विधायन निर्माण गर्ने ठाउँ मात्रैका रूपमा बुझ्न नहुने बताउनुभयो । संसद्को कूटनीतिले मात्रै जनताका भावनाहरू एक ठाउँमा ल्याउन सकिने उहाँको भनाइ थियो । उहाँले सरकार पनि संसद्बाटै निर्देशित हुने भन्दै संसद्ले लिने अठोट र भूमिकाले नै देशलाई ठीक दिशामा चलाउन सकिने बताउनुभयो । संसद्ले २०१५ सालको निर्वाचनको परिणामदेखि अहिलेसम्म खेलेका भूमिकालाई अर्काइभ गर्ने, डिजिटलाइज गर्ने कामहरू गरिसकेको सभामुख घिमिरेको भनाइ थियो । २००७ सालदेखि बनेका कानुनहरू अहिलेको प्रविधिअन्तर्गत डिजिटलाइज गर्ने, अर्काइभ गर्ने र सुरक्षित गर्ने काममा संसद् लागिपरेको उहाँले जानकारी दिनुभयो ।
संसद् कानुन बनाउनुपर्ने भूमिकामा चुक्दै गयो : राष्ट्रियसभा अध्यक्ष
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद् ऐन, कानुन बनाउनुपर्ने भूमिकामा चुक्दै गएको बताउनुभएको छ । संसद् दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले नेपाली नागरिकको उत्कृष्ट प्रतिनिधिको थलो संसद् भए पनि ऐन, कानुन बनाउनतर्फ चुकेको टिप्पणी गर्नुभयो । सांसदहरूले निर्माण गर्ने कानुनले नै देश कता जान्छ ? भन्ने निर्धारण हुने भएकाले सांसदहरू कानुन बनाउनमा बढी केन्द्रित हुनुपर्ने उहाँको जोड थियो । अध्यक्ष दाहालले सांसदहरूले देश र जनतालाई फाइदा हुने ढंगले सोच्न जरुरी रहेको बताउनु भएको हो ।
सत्ताको खेलले संसद् प्रभावकारी हुन सकेन : उपाध्यक्ष घिमिरे
राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले सत्ताको खेलले गर्दा संसद् प्रभावकारी हुन नसकेको बताउनु भएको छ । संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संसद्मा नीति निर्माणभन्दा सत्ताका लागि बढी केन्द्रित हुने कुराले संसदीय गतिविधि प्रभावकारी हुन नसकेको बताउनुभएको हो । अग्रजका सल्लाह सुझावबाट संसद्लाई प्रभावकारी बनाउन आवश्यक रहेको उहाँको भनाइ छ । लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अझ व्यवस्थित बनाई जनताका निमित्त ल्याइएको व्यवस्था हो भन्ने देखाउन जरुरी रहेको उपाध्यक्ष घिमिरेको भनाइ छ । उहाँले भन्नुभयो, ‘अग्रजहरूले विभिन्न समयमा भेटेर झक्झक्याउनु भएको छ । हामीलाई भेटेर गर्नुपर्ने सुझाव दिनुभएको छ । ती यहाँहरूका सुझाव भनेका हाम्रो निम्ति ऊर्जा हुन् । ती ऊर्जालाई लिएर हामीले संसद्लाई प्रभावकारी बनाउनुपर्छ । जुन व्यवस्था हामीले ल्याएका छौँ, व्यवस्थित गर्न खोजिरहेका छौँ । कहिलेकहीँ व्यवस्थाप्रति पनि गम्भीर आरोप लाग्ने, जनताबाट पनि केही चिन्ताहरू व्यक्त हुने यो कुरा अघि नै पूर्व–सभामुखज्यूले भनेको जस्तै कहिलेकाहीँ यो अली बढी सत्ताको खेलले गर्दा पनि त्यहाँ नगईकन आफ्ना, नीति, कार्यक्रमहरू लागू गर्न सकिँदैन भन्ने तहबाट मात्रै नभएर आफूलाई अली बढी सत्ता लिप्सामा अगाडि बढाउन खोज्दा पनि त्यस्तो निराशा आएको हो कि ? भन्ने कुरा जनतामा छ ।’ उहाँले यस व्यवस्थालाई जनतासँग जोड्न आवश्यक रहेको बताउनुभयो ।
प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदलाई एकै ठाउँमा राखेर संसद् प्रभावकारी बन्दैन : पूर्वसभामुख ढुंगाना
पूर्वसभामुख दमननाथ ढुंगानाले प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदलाई एकै ठाउँमा राखेर संसद् प्रभावकारी बन्न नसक्ने बताउनुभएको छ । संसद् दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले समावेशिता वर्तमान संविधानको सबैभन्दा राम्रो पक्ष भएको उल्लेख गर्नुभयो । समावेशिता कुन तहमा र कुन क्षेत्रमा हुन आवश्यक रहेको भन्ने कुराउपर छलफल हुनुपर्नेमा उहाँले जोड दिनुभयो । ‘समावेशिता यो संविधानको सबैभन्दा राम्रो पक्ष हो । तर, समावेशिता कहाँ राख्ने, प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा बराबर समावेशी सदस्यहरू भएको संसद बराबर हुनसक्छ ? तपाईंहरूले कहिल्यै यो कुरा सोच्नुभएको छ ? त्यसकारण समावेशितालाई ठीक ठाउँमा राख्नुहोस् । महिलाहरूको लागि पनि प्रत्यक्ष निर्वाचन गराइदिनुहोस् । जनजाति, मधेसी, थारूहरूका लागि गरिदिनुहोस् । तर, समावेशी र प्रत्यक्ष निर्वाचित एक ठाउँमा नराख्नुहोस् । दुवैलाई कस्तो कस्तो उदासीनताको भाव छ । एउटा लघुताभाषा छ । एउटा प्रत्यक्ष निर्वाचित भएर आउँछ, एउटा पार्टीबाट समावेश भएर आउँछ । त्यो पार्टीबाट पनि कसरी आउँछ, पार्टीका नेतालाई थाहा हुँदैन । कुन गुट र कसको खल्तीबाट आउँछ । त्यस्तो समावेशिता र प्रत्यक्ष निर्वाचित दुई सांसद एक ठाउँमा बस्दा संसद् कहिल्यै पनि प्रभावकारी हुन सक्दैन’ पूर्वसभामुख ढुंगानाको भनाइ थियो । उहाँले महिला, जनजाति, मधेसीलगायत समुदायका निम्ति छुट्टै प्रत्यक्ष निर्वाचनस्थल बनाउन जरुरी रहेको बताउनुभयो । नेपालको राजनीति सबैलाई प्रधानमन्त्री नै हुनुपर्ने किसिमको रहेकोमा पूर्वसभामुख ढुंगानाले विडम्बना व्यक्ति गर्नुभयो ।
मुलुक चलाउने कुरा मुखियाले गाउँ चलाएको जस्तो होइन : पूर्वसभामुख रानाभाट
पूर्वसभामुख तारानाथ रानाभाटले देशलाई राम्रोसँग अघि बढाउने नेताको खाँचो रहेको बताउनुभएको छ । संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशलाई राम्रोसँग अघि बढाउने नेताको खाँचो हुँदा देशमा अहिलेको स्थिति सिर्जना भएको जिकिर गर्नुभएको हो । उहाँले मुलुक मुखियाले गाउँ चलाएको जस्तो नभएको बताउनुभयो । नेपाल चलाउनु मात्रै नेताहरूको, सरकारको, प्रधानमन्त्रीको जिम्मेवारी नभएको भन्दै संसारभर रहेका आफ्ना मित्र, आफ्ना छिमेकी, आफ्नो व्यवस्थासँग व्यवस्था मिल्ने पद्धतिका विगतका क्रियाकलाप र आजका क्रियाकलापहरू एवं आफ्नो अनुकूल रहेका शासन व्यवस्था र पद्धतिलाई अध्ययन गरेर काम गर्नेकुरा संसद्भित्रै सम्भव रहेको बताउनुभयो । ‘प्रजातन्त्र अहिले पनि लंगडो अवस्थामै छ । तातेताते गरिदिने गम्भीर व्यक्तित्वहरू, नेताहरूको अभावले यो स्थिति आएको हो । हामीलाई औँला समातेर अगाडि बढाइदिने नेताको आवश्यक छ । किन आवश्यक छ भने मुलुक मुखियाले गाउँ चलाएको जस्तो होइन । नेपाल चलाउनु मात्रै नेताहरूको, सरकारको, प्रधानमन्त्रीको जिम्मेवारी होइन’, उहाँले भन्नुभयो, ‘संसारभर रहेका आफ्ना मित्रहरू, आफ्ना छिमेकीहरू, आफ्नो व्यवस्थासँग व्यवस्था मिल्ने पद्धतिका हिजोका क्रियाकलाप र आजका क्रियाकलापहरू र आफ्नो अनुकूल रहेका शासन व्यवस्था र पद्धतिलाई अध्ययन गरेर काम गर्नेकुरा संसद्भित्रै हुन्छ । जनताले चुन्ने हो ।’ पूर्वसभामुख रानाभाटले सांसदहरू संसद्मा आइसकेपछि कुनै जिल्ला, क्षेत्र र पार्टीको मात्रै नहुने बताउनुभयो ।
संसद् बैठकमै माननीयज्यूहरू घ्वारघ्वार निदाउनुहुन्छ : उपसभामुख राना
उपसभामुख इन्दिरा रानाले संसद् बैठकमा सांसदहरू निदाउने गरेको भन्दै आपत्ति जनाउनुभएको छ । संसद् दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले संसद् बैठकका बेला सांसदहरू घुर्दै निदाउने गरेको आफूले देखेको बताउनुभयो । संसद्मा आफूले फोटो खिच्न नपाए पनि संसद् दिवसका अवसरमा आयोजित कार्यक्रममा पनि सांसदहरू निदाएको भन्दै फोटो र भिडियो खिचेर राखेको भन्दै उहाँले व्यंग्य गर्नुभएको थियो । उहाँले सुत्ने बेला नभएको भन्दै सभामा सुतेर सपना नदेख्न सांसदहरूलाई सचेत गराउनुभएको हो । ‘यहाँ मलाई के भन्न मन लाग्यो भने, यहाँ पनि धेरै सुतेको देखेँ । अलिअलि रेकर्ड पनि गरेर राखेको छु मैले । यो सुत्ने तरिकाले चाहिँ हामी सभामा नबसौँ । जाग जाग नेपाली भन्न मन लाग्यो मलाई । सुत्ने बेला भएको छैन, सुतेर सपना नदेख्नुहोस्’ उपसभामुख रानाले भन्नुभयो । सांसदहरूले नीति निर्माणमा बढी जोड दिएर काम गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच