काठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ ।
नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई ‘पार्सल’ गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो ।
भारत निर्वासनमै बिपीले भारतको स्वतन्त्रता सङ्ग्राममा भाग लिनुभयो । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उहाँ त्यो आन्दोलनमा सक्रिय हुनुभएको थियो । भारत निर्वासन कै क्रममा जहानियाँ राणा शासनको अन्त्य गर्न विसं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो ।
प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसबीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो । दुवै दल एकीकृत भई बनेको नेपाली कांग्रेस अहिले पनि संसद्मा पहिलो दलको रुपमा रहेको छ ।
उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याउनुभएको छ । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् ।
कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, एवम् ‘बाबु आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छन् ।
विश्वेश्वरप्रसाद कोइरालाका प्रख्यात भनाइहरु
- साहित्यमा सम्राट पनि नाङ्गो हुन्छ ।
- धर्मको बिरुद्धमा म पटक्कै छैन, छँदै छैन, तर सबैलाई थाहा छ म धर्मको अभ्यास गर्दिन ।
- म कुनै आर्थिक विशेषज्ञ होइन,तर जुन विकासले ग्रामीण जनतालाई पछाडि छोडिदिन्छ त्यो विकास विकास नै होइन ।
- देश भन्नुहोस् वा राष्ट्र,त्यो भूगोल होइन,त्यो यथार्थमा जनता हो ।
- हामीले आफ्ना बिरोधीहरुलाई सिद्धान्तको आधारमा जित्नुपर्छ ।
- प्रजातन्त्र बिना देश रहँदैन ।
- राष्ट्रियता माटो होइन,जनताको सामूहिक भावना र विचार हो ।
- मेरो राजनीतिक जीवन खुलेको पाना हो ।
- जीवन नै एक सुनिश्चित जोखिम हो ।
- राष्ट्रियता र प्रजातन्त्र अविभाज्य छन् ।
- प्रजातन्त्र नभए देश रहँदैन,राजा रहँदैनन्,हामीहरुको त कुरै भएन ।
- समाजको कुनै वर्गले अन्यायको अनुभव गरेसम्म राष्ट्रको जग मजबुत हुँदैन ।
- तानशाही व्यवस्थालाई प्रजातान्त्रीक संज्ञा दिने प्रयत्न गर्नु एउटा असत्यलाई अर्को असत्यले ढाकछोप गर्ने प्रयत्न गर्नु हो ।
- कसैको शिरमा कालो टोपी छ वा छैन भन्ने कुराले केहि अर्थ राख्दैन, यथार्थमा संस्कृति भनेको मानवको व्यवहार हो ।
-पत्रपत्रिकाको सहयोगमा
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच