काठमाडौं । नेकपा एमालेबाट विद्रोह गरेर माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) पार्टी आन्तरिक कलहका कारण थप कमजोर बन्दै गएको छ । विद्रोहको औचित्य पुष्टि गर्नुपर्ने चुनौती थाती रहँदै नेकपा एसमा बढेको ध्रुवीकरण र विवादले पार्टीको नियमित कार्यप्रणालीमै अवरोध गरेको छ ।
गत असारमा नेकपा एसले आफ्नो दशौँ महाधिवेशन सम्पन्न गरेको थियो । महाधिवेशन सम्पन्न भए पनि पदाधिकारी र केन्द्रीय कमिटी चयनमा तीव्र विवाद हुँदा महाधिवेशनपश्चात् मात्रै सहमतिमा जम्बो कमिटी निर्माण भएको थियो । केन्द्रीय कमिटीभित्र निर्वाचन गराएर गत महिना पदाधिकारी चयन गरिए पनि नेकपा एसमा अझै कार्यविभाजन हुन सकेको छैन । प्रदेश र जिल्ला इञ्चार्ज, विभागका प्रमुख-उपप्रमुख, आयोगहरू एवं जनसंगठनका इञ्चार्जहरू तोक्ने काम बाँकी नै छ । कार्यविभाजनलाई पूर्णता दिन अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेताहरू प्रमेश हमाल, घनेन्द्र बस्नेत, राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल सम्मिलित कार्यदल बनाइएको छ । सो कार्यदलको बैठक बिहीबार बसे पनि कार्यविभाजनमा सहमति हुन सकेन ।
कार्यदलको बैठकमा अध्यक्ष नेपालले आफूनिकट अधिकांश नेताहरूको व्यवस्थापन गर्नेगरी हाल कायमै रहेको कार्यविभाजनलाई निरन्तरता दिने प्रस्ताव गर्नुभएको थियो । नेता झलनाथ खनालले भने लिखित प्रस्ताव पेस गर्दै महाधिवेशनपश्चात् देखिएका सबै समस्याको समाधान हुनेगरी कार्यविभाजन गर्नुपर्नेमा जोड दिनुभएको छ । कार्यदलमा अध्यक्ष नेपाल, नेता खनाल र महासचिव घनश्याम भुसालका आ–आफ्ना तयारी देखिएपछि तीन घण्टासम्म कुनै निष्कर्ष निस्कन सकेन । कार्य विभाजनमा भएको विवाद र ढिलाइले पार्टीलाई दुर्घटनासम्म पु¥याउन सक्ने आँकलन गरिँदै आएको छ । ‘नेकपा एसमा कार्य विभाजनको मात्रै विवाद छैन । कार्यविभाजन एउटा सन्दर्भमा मात्रै हो । यसबारे लिने निर्णयले पार्टीको भविष्यमा फरक पार्छ । सर्वपक्षीय सहमति भएन भने पार्टी फुट्न पनि सक्छ’, नेकपा एसका एक नेताले बताउनुभयो । अध्यक्ष नेपालले विगतमा एमालेमा रहँदा आफ्नो गुटमा भएकाहरूको मात्रै संरक्षण खोजेका कारण कार्यविभाजन विवादित बनेको उहाँको भनाइ छ ।
गत असारमा सम्पन्न महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेताहरू झलनाथ र घनश्याम यसपटक सजिलोसँग माधवको निर्णयमा हस्ताक्षर गर्ने पक्षमा छैनन् । कार्यविभाजन बाहेकका विवादहरू पनि यसैपटक मिलाउन झलनाथले गरेको लिखित प्रस्तावले अध्यक्ष नेपाललाई थप समस्यामा पारेको छ । ‘अध्यक्षले पुरानै कार्यविभाजन चाहनुभएको छ । अरू नेताहरूले सबै विवादहरूको समाधान खोज्नुभएको छ । यदि सहमति जुटेन भने कार्यविभाजन होइन पार्टी विभाजन हुनसक्छ’, संस्थापनइतर समूहका नेताको भनाइ छ । झलनाथले प्रस्तुत गरेको लिखित प्रस्तावअनुसार समग्र असहमति हटाउन अध्यक्ष तयार हुनुपर्ने उहाँले बताउनुभयो ।
बिहीबारको बैठकमा कुनै सहमति नजुटेपछि कार्यदलको अर्को बैठकको टुंगो छैन । अध्यक्ष नेपाल पाल्पा र जनकपुरको कार्यक्रमका लागि केहीदिन काठमाडौंबाहिर रहनुहुने बताइएको छ । यस्तोमा नेकपा एसको असन्तुष्टि अझ विस्तार हुने सम्भावना देखिन्छ । महाधिवेशनपछि पार्टी गतिविधिमा उत्साहित नदेखिएका नेताहरू रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ लगायतले कार्य विभाजनकै निर्णय पर्खेर बसेको बताइन्छ । ‘उहाँहरू पार्टीभित्र असन्तुष्ट हुनुहुन्छ । केही दिनमा असन्तुष्टि सम्बोधन नभए जे पनि हुनसक्छ’, प्रचार फाँटका एक नेताले भन्नुभयो ।
नेकपा एमालेबाट व्रिदोह गरेर नयाँ पार्टी स्थापना गरे पनि अध्यक्ष नेपालको चिन्ता दूर भइसकेको छैन । गत निर्वाचनमा राष्ट्रिय पार्टी बन्न नसकेपछि प्रतिनिधि सभामा १० सिट जितेको नेकपा एसको तल्लो तहको संगठनहरू भत्कने क्रम सुरु भएको थियो । तल्लो तहमा अधिकांश नेता कार्यकर्ताहरू एमालेमै फर्किसकेको सन्दर्भमा नेपाल, खनाल र भुसाल बाहेकका नेतालाई जुनसुकै हालतमा एमालेमा फर्काउने कसरत एमालेले गरिरहेको छ । नेकपा एसमा पछिल्लो समय देखिएका विवादले एमालेकै कसरतलाई बल पुगिरहेको छ । जानकारहरू प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्केपछि एमाले र नेकपा एसको आन्तरिक राजनीतिमा तरंग पार्ने घटनाहरू हुनसक्ने आँकलन गर्दछन् । यस्तोमा अध्यक्ष नेपालसामु पार्टी सग्लो राख्ने चुनौती बढ्दै गएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच