काठमाडौं । बिहीबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्गसहित भित्री सडकहरू क्षतविक्षत बनेका छन् । केही सडक आइतबार साँझबाट सञ्चालनमा आए पनि अधिकांश मुख्य सडकहरू आइतबार खुल्न सकेनन् । खुलेका सडकमा पनि सवारी चापले गर्दा जताततै जाम परेको देखिन्थ्यो । आइतबार साँझसम्म मुख्य राजमार्गको ५७ ठाउँमा सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ । यस्तै, विभागले आज (सोमबार) सम्म अधिकांश सडकको पहिरो हटेर गाडी गुड्नसक्ने अवस्था बनाउने बताएको छ । पूर्वबाट आउने बिपी राजमार्ग सबैभन्दा बढी ठाउँमा क्षति भएको छ भने मुख्य राजमार्गको रूपमा रहेको त्रिभुवन राजपथअन्तर्गत धादिङको झ्याप्ले खोलामा लेदोले बाटो खुल्नसकेको छैन ।
कहाँ-कहाँ अवरुद्ध छ सडक?
बाढी र पहिरोका कारण बिपी रामार्गको बर्दिबास-सिन्धुली-खुर्कोट-धुलिखेल सडक खण्डको काभ्रे जिल्लास्थित भ्याकुरेमा शनिबार बिहानदेखि अवरुद्ध छ । त्यस्तै, काभ्रेकै चर्सया, ममति खोला, कालढुंगा, बोक्सी कुना, नार्के पुल, काभ्रे भञ्जाङ, पिनथली बेसी, भिंडी बेसी, डाला बेसी, चौकी डाँडामा रोकिएको छ । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको सिम्ले, धकलाङ, कोदारी, दोलालघाट चौतारीको सडक बन्द छ । सिन्धुपाल्चोकै सिर्सिरे, लिपिङ पुल बगाएको छ । त्रिभुवन राजपथ हेटौँडा-भैँसे-पालुङ-नौबीसे-काठमाडौं पनि अवरुद्ध छ । धादिङको झयाप्ले खोलामै अवरोध छ । मध्यपहाडी राजमार्गअन्तर्गत ओखलढुंगाको भँडारे खोलाभन्दा माथि रोकिएको छ । सिन्धुलीको हर्जेनी, बलेनी, सालघारी, कुखुरेटार, ल्याउ खोला, फिक्कल, रामेछापको खैरेनी घाट, लुभु खोला अवरुद्ध भएको छ । पूर्वमा मेची राजमार्गको चारआली–फिदिम सडकको फिदिममा सडक अवरुद्ध भएको छ । भेडेटार रवि राँके सडकको पाँचथर मैदानेमा रोकिएको छ । मिर्चैया कटारी घुर्मी सडकअन्तर्गत उदयपुरमा चनौटेदेखि घुर्मीसम्म बन्द भएको छ । तमोर करिडोरको चतरा पुलदेखि वराहक्षेत्रसम्म जाने सडकमा पहिरो गएको छ । उदयपुरको फोक्सिङटारमा पहिरोले लाहान-गाइघाट-महुरे सडक रोकिएको छ । ललितपुरको ग्वार्को-लुभु-लाकुरीभञ्ज्याङ सडकको लाकुरी भञ्ज्याङ मानेदोभानमा रोकिएको छ । पश्चिममा डुम्रे-बेसीसहर-चामे सडकअन्तर्गत लमजुङको रामबजारमा रोकिएको छ । सालझण्डी-सन्धिखर्क-ढोरपाटनको अर्घाखाँची घोलाडाँडामा रोकिएको छ ।
११ वटा पुल बगे
शुक्रबार र शनिबारको अविरल वर्षाले ११ वटा पुल बगेका छन् । सडक विभागका अनुसार देशभर ११ वटा पुल र एक सय किलोमिटर जति सडक बाढीले बगाएको छ । वर्षा तथा बाढी-पहिरोका कारण देशभर सडक तथा पुल गरेर ४० करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । विभागका सूचना अधिकारीसमेत रहनुभएका सिनियर डिभिजनल इञ्जिनियर अमितकुमार शर्माका अनुसार शुक्रबारदेखि हालसम्मको वर्षा तथा बाढी-पहिरोका कारण ४० करोड रुपैयाँ जतिको सडक तथा पुलमा क्षति भएको हो । हालसम्म एक कल्भर्ट, दुई बेली ब्रिज, चार आरसिसी सपोर्टेड ब्रिज, एउटा आर्क ब्रिज, एउटा स्टिल ट्रस ब्रिजसहित ११ वटा पुल बगेको उहाँले जानकारी गराउनुभयो । सडक डिभिजन इलामअन्तर्गत मेची राजमार्गको केचना-चन्द्रगढी-चारआली-इलाम-फिदिम, गणेशचोक-ताप्लेजुङ-ओलाङचुङ्गोला सडक खण्डको हेवाखोला पुल बगेको छ । त्यसैगरी, सडक डिभिजन खुर्कोट (सिन्धुली) अन्तर्गत सुनकोशी नदीमा निर्माण सम्पन्न भएको स्टिल ट्रस पुलको १०० मिटरको एउटा स्पाम बाढीले बगाएको छ । सडक डिभिजन इलामअन्तर्गत इलाम-माईपोखरी-सन्दकपुर सडक खण्डअन्तर्गत रातेखोला निर्माणाधीन आरसिसी प्रिस्ट्रेस्ड पुल पनि बाढीले बगाएको छ । त्यस्तै, पुल सेक्टर धरानअन्तर्गत ठाँडी-भगवानपुर-लहान, कदमाहा चोक-गाईघाट-महुरे-खार्पा-सोलु सडक खण्डमा निर्माणाधीन १२० मिटरको पुल पनि बाढीले बगाएको छ । त्यसैगरी, हुलाकी राजमार्ग योजना कार्यालय इटहरीअन्तर्गत झापाको विरंगी खोलामा निर्माणाधीन पुलमा समेत असर परेको छ । अत्यधिक वर्षाका कारण आएको बाढीले पुलमा क्षति नभए पनि एप्रोच रोड बगाएका कारण यातायात आवागमन बन्द भएको सडक विभागले जनाएको छ ।
कोशीमा २६ वटा पुलमा क्षति
निरन्तर झरीपछिको बाढी पहिरोले कोशी प्रदेशका २६ पक्की र झोलुंगे पुलमा क्षति पुगेको छ । क्षतिको विवरण संकलन भइरहेकाले पूरा विवरण आइनसकेको प्रदेश सरकारले जनाएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री तथा सरकारका प्रवक्ता लीलावल्लब अधिकारीले कोशी प्रदेशका ७० वटा सडक अवरुद्ध भएको जानकारी गराउनुभयो । अवरुद्ध सडक खुलाउने काम भइरहेको र एक दुई दिन भित्रमा सबै सडक सुचारु हुने उहाँको भनाइ छ । बाढीका कारण उदयपुरको रौता र खोटाङको खोटेहाङ जोड्ने सुनकोशी नदीमा रहेको फोक्सिङटार पक्की पुल बगाएको छ । सो पुलमा पूर्णरूपमा क्षति भएकाले सञ्चालनमा समय लाग्ने अधिकारीले जानकारी गराउनुभयो ।
२० जलविद्युत् आयोजनामा साढे दुई अर्ब बराबरको क्षति
दुई दिन शुक्रबार र शनिबार अविरल रूपमा आएको भीषण वर्षात पछिको बाढी-पहिरोका कारण विभिन्न २० वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार बाढीका कारण आयोजनाहरूको विद्युत् गृह, प्रसारण लाइन तथा अन्य संरचनामा क्षति पुगेको हो । हाल ती आयोजनामा भएको क्षतिको विवरण संकलन भइरहेको जानकारी दिँदै इप्पानले थप क्षति भएको हुनसक्ने आँकलन गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले प्रवद्र्धन गरेको माथिल्लो तामाकोशीको बाँधस्थल तथा बालुवा थिग्र्याउने पोखरीमा क्षति पुगेको छ । सो आयोजनाको नियन्त्रण कक्ष रहेको भवनमा क्षति पुग्दा सुरक्षाकर्मी र अन्य कामदार गरी चारजना बेपत्ता भएको प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले जानकारी दिनुभयो । आयोजना सञ्चालनका लागि तामाकोशी पाँचौँको सहयोग लिन लागिएको छ । कुल ४५६ मेगावाट क्षमताको सो आयोजनाबाट विद्युत् उत्पादन बन्द हुँदा बिजुली आयात गर्नुपरेको जनाइएको छ ।
बाढी पहिरोका कारण विद्युत् उत्पादन केन्द्रमा क्षति पुग्दा बिजुली प्रवाहमा समेत समस्या भएको छ । वैकल्पिक व्यवस्था गरी बिजुली काटिएका स्थानमा उपलब्ध गराइएको र केही स्थानमा भने अझै मर्मत जारी रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका बाढी–पहिरोका अनुसार देशभर ९८० मेगावाट घण्टा बराबरको बिजुली आपूर्तिमा अवरोध छ । इप्पानका अनुसार माण्डु हाइड्रोपावरद्वारा प्रवद्र्धित २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत् आयोजनाको ‘पावर हाउस’ पूर्णरूपमा डुबेको छ । खानी खोला हाइड्रोपावर, माण्डु हाइड्रो पावर लगायतका आयोजनाले बाढीका कारण विद्युत् उत्पादन बन्द भएको जानकारी नेपाल स्टक एक्सचेञ्जलाई समेत गराएका छन् ।
बाढीका कारण माउण्टेन हाइड्रो नेपालद्वारा प्रवद्र्धित २२ दशमलव एक मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजनाको बिजुली उत्पादन बन्द भएको छ । सो आयोजना गत वर्ष पनि बाढीबाट प्रभावित भएको थियो । हाल उक्त आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ ।
पाँचथर पावरद्वारा प्रवद्र्धित १४ दशमलव नौ मेगावाट क्षमताको हेवाखोला जलविद्युत् आयोजाको विद्युत् उत्पादन पनि बन्द भएको छ । गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनर्निर्माण सकेर सञ्चालनमा आउनै लाग्दा आयोजना पुनः क्षतिग्रस्त भएको हो । साहस ऊर्जाद्वारा प्रवद्र्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत् आयोजनाको बाँध स्थलमा क्षति पुग्दा विद्युत् उत्पादन बन्द छ । सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवद्र्धित तीन मेगावाट क्षमताको माईखोला क्यासकेड जलविद्युत् आयोजनाको बाँध लगायतका संरचनामा क्षति पुगेको छ ।
इप्पानका अनुसार सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवद्र्धित नौ दशमलव ६ मेगावाट क्षमताको माईखोला जलविद्युत आयोजनाको बाँध र प्रसारणलाइनमा क्षति पुगेको छ । फेमे खोला जलविद्युत आयोजना सिउरीखोला पनि बाढीले क्षति पुर्याउँदा विद्युत् उत्पादन बन्द भएको जनाइएको छ ।
कूल ४० मेगावाट क्षमताको सुपरन्यादी जलविद्युत् आयोजनाको पहुँचमार्ग र सुरक्षा पर्खालमा बाढीका कारण क्षति पुगेको छ । इलेप खोला तातोपानी जलविद्युत् आयोजनामा पनि बाढीले क्षति गरेको छ भने कोरियन लगानी रहेको २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली एकको क्याम्प हाउस र पहुँचमार्गमा क्षति भएको छ । निर्माण सामग्री राखिएको तीनवटा कन्टेनर बगाएको छ । हेवाखोला जलविद्युत् आयोजनाको क्रसर पुरिएको छ भने पहुँचमार्गमा क्षति भएको छ । यस्तै, बाढीका कारण प्रसारण लाइनको टावर ढलेका छन् भने पावर हाउसमा जडान गर्न ल्याइएका सामग्री बगाएको छ । सभाखोला बी जलविद्युत् आयोजनाको पहुँचमार्गमा पहिरोका कारण समस्या उत्पन्न भएको छ । यसैगरी, पावरहाउस पुरिएको र बाँधमा क्षति हुन गएको छ । इप्पानका अनुसार सभाखोला सी जलविद्युत् आयोजना पहुँचमार्गमा क्षति पुगेको छ भने लान्द्रुक मोदी जलविद्युत् आयोजनाको पनि सडक पूर्वाधार बगाएको छ । बाढीले सुपर त्रिशूली जलविद्युत् आयोजनाको निर्माण उपकरण बगाएको छ । कूल एक सय मेगावाट क्षमताको सो आयोजना निर्माणको क्रममा छ । आयोजनाको दुईवटा स्काभेटर लोडर र तीनवटा ट्रिपर बगाएको छ । त्यस्तै, बेलीब्रिज बगाएको, खन्ने क्रममा रहेको पावरहाउस पुरिएको इप्पानले जनाएको छ ।
११ सय मेगावाट बिजुली अवरुद्ध
झरीपछि बाढी-पहिरोका कारण देशभर ११ सय मेगावाट विद्युत् अवरुद्ध भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पत्रकार सम्मेलन गर्दै अविरल बर्षाका कारण ११ सय मेगावाट विद्युत् अवरुद्धसँगै साढे दुई अर्ब बराबर नोक्सानीको अनुमान गरेको जनाएको छ । मन्त्रालयका अनुसार अझै यो क्षति बढ्न सक्नेछ । यस्तै सिँचाइतर्फका आयोजनामा एक अर्ब ३५ करोडको क्षति भएको छ । गत वर्ष अविरल वर्षाका कारण १० अर्बको क्षति भएको मन्त्रालयको भनाइ छ ।
उत्पादन बन्द हुँदा प्राधिकरणको प्रणालीमा चाप
बाढीका कारण प्रभावित आयोजनाबाट विद्युत् उत्पादन बन्द हुँदा त्यसको चाप प्राधिकरणको प्रणालीमा परेको छ । सोही कारण शनिबार मात्रै प्राधिकरणले भारतबाट थप तीन सय मेगावाट बिजुली आयात गर्नुपरेको थियो । वर्षाका कारण देशका विभिन्न ठाउँमा शनिबार दिनभरजसो विद्युत् अवरुद्ध हुन पुगेको थियो । विद्युत् प्रसारण लाइन र उत्पादन गर्ने आयोजनाहरू नै बाढीमा परेपछि शनिबार दिनभरजसो विद्युत् अवरुद्ध हुन पुगेको थियो । नेपाल विद्युत् प्राधिकरण उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक मदन तिम्सिना हालसम्म विद्युत् अवरुद्ध हुने कुनै सम्भावना नरहेको बताउनुहुन्छ । निजी विद्युत् उत्पादकहरूको संघ नेपाल ऊर्जा उत्पादक संघ (इप्पान)ले हालसम्म साढे दुई अर्बमाथिको क्षति पुगेको जनाएको छ । प्राधिकरणले भने हालसम्म आएको क्षतिका विवरणले आउँदो चाडमा हुने विद्युत् आपूर्तिलाई कुनै असर नगर्ने बताएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच