शरद ऋतुको रमणीय आगमन । उत्सवको माहोल छ यतिबेला । यस वर्षको बडादशैँ सबैको घरपरिवारमा पुगिसकेको छ । यस वर्षको दशैँ विगतका वर्षमा जस्तो उल्लासमय भने छैन । हामी नेपालीले प्राकृतिक प्रकोपको कहरबीच हाम्रो महान् पर्व बडादशैँ मनाउन गइरहेका छौँ । यही १०, ११ र १२ गते आएको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा भएको जनधनको क्षतिबीच हामीले यसपालिको बडादशैँ मनाउन गइरहेका छौँ ।
यसैबीच गाउँघर, शहरबजार सबैतिर दशैँको आगमन भएको छ । वैदेशिक रोजगारमा गएकाहरू पनि घर फर्किएका छन् । कष्टकर यात्रा गर्दै भए पनि लाखौं नेपाली आफ्नो घर पुगेका छन्, केही पुग्ने तयारीमा छन् भने केहीले यसपालि गाउँघर नगएर आफू बसेकै ठाउँमा दशैँ मनाउने तयारीमा छन् । यात्रा कष्टकर भए पनि बाहृय देशबाट नेपाल आउने र नेपालभित्रै पनि आफ्नो मूलघर फर्कनेको ताँती भने लागेकै छ । जहाज र बसको टिकट पाउन मुस्किल हुँदै गएको छ । दशैँका लागि बजारमा सामानहरू किनमेल गर्नेहरूको पनि भिडभाड नै छ । यतिबेला वर्षात्का बादलहरू फाट्ने क्रममा छन् । मौसम क्रमशः सफा हुँदै गरेको छ र जसले आमन्त्रण गरिरहेको छ शरदकालीन पर्वहरू । नेपालीहरूको प्रमुख चाड दशैँ २०८१ संघारमा छ । यो पर्वलाई खासगरी असत्यमाथि सत्यको जितका रूपमा अंगिकार गरिँदै आएको छ । यही उत्सवमा कला क्षेत्रका व्यक्तित्वहरू पनि आ-आफ्नो योजनामा लागेका छन् यो उत्सव मनाउन । कोही विदेशका कार्यक्रममा व्यस्त हुँदैछन् भने कोही घरपरिवार, नाता कुटुम्बसँग मिलेर यो पर्वलाई उत्सवमय बनाउँदै छन् । आउनुहोस् जानौँ कसले कसरी मनाउँदै हुनुहुन्छ बडादशैँ २०८१ लाई ।
सानो बेलाको दशैँको छुट्टै रमाइलो हुन्थ्यो : ज्ञानेन्द्र गदाल, साहित्यकार
दशैँ नेपालीहरूको मुख्य र महत्वपूर्ण पर्व हो । पारिवारिक मिलनका आधारमा एकापसमा प्रेम, सद्भाव र अपनत्व साटासाट गर्ने अवसर पनि हो दशैँ । आमाको दुःखमा रहेकाले यसपालि मेरो चाहिँ हर्षोल्लास गर्ने योजना छैन दशैँमा । यसपालि हाम्रो टीका चल्दैन, पूजाआजा गर्न मिलेन । सामाजिक समारोहमा चाहिँ सहभागी हुने योजना छ । दशैँ हाम्रो पवित्र चाडपर्व हो, परम्परालाई धान्ने हिसाबले आ-आफ्नो गच्छेअनुसार मनाउँदा कुनै नराम्रो पक्ष छैन यसको । मलाई मन नपर्ने एउटै पक्षचाहिँ बली प्रथा हो । प्राणीमात्रको ज्यान मारेर आफूले मस्ती मार्नु धर्म होइन । सानो बेलाको दशैँको छुट्टै रमाइलो हुन्थो, जिम्मेवारीबोधबिनाको स्वच्छन्द रमाइलो ।
दशैँको एक महिनाअघि घरको भित्ता, झ्याल-ढोका रंगरोगन गरेर सिंगार्ने चलन थियो । यही गतिविधिले दशैँ आएको आभास गराउँथ्यो । कमेरो र रातोमाटोले घर सिंगारेर पोतिन्थ्यो । आँगन, करेसाबारी सबै साफसुग्घर पारिन्थ्यो । दशैँलाई चाहिने खाद्य सामग्रीको जोहो गरिन्थ्यो । टीका थाप्न आउनेहरूलाई दक्षिणा दिनका लागि बैंकबाट बाले नयाँ-नयाँ १, २, ५, १०, २० र ५० रुपैयाँ सम्मका नोटहरूको गड्डी ल्याउनुहुन्थ्यो ।
मारवाडी व्यापारीहरूको दोकानबाट थानको कपडा ल्याएर घरमै लुगा सिउने मान्छे बोलाएर छेक्न थालेपछि चाहिँ पक्का दशैँ भित्रिएको भान हुन्थ्यो । फूलपातीदेखि गाउँमा बाँसको लिंगेपिङ सुरु भएपछि अझ थप रौनक आउँथ्यो दशैँको । टीकाको दिनदेखि पूर्णेको दिनसम्म घरमा भएको आवतजावत, मानिसको भिडभाडले अर्कै आनन्द दिलाउँथ्यो ।
विशेष उत्सवका साथ हामी यो पर्व मनाउँछौँ : उत्तम केसी नेपाल, वरिष्ठ कलाकार
हरेक वर्ष जस्तै यो वर्ष पनि घरपरिवारमा रमाइलो गरेर दशैँ मनाउँदै छौँ । बाढीपहिरोका कारण केही खल्लो महसुस भइरहेको छ यो वर्षको दशैँ । भए पनि हाम्रो परम्परा मनाउनै पर्यो । एउटा छोराबुहारी र नातिनी बाहिर छन् । एउटा छोराबुहारी हामीसँगै छन् । दाजुभाइ हामी चारजना छौँ । परिवार ठूलै छ । सबैजना जम्मा भएर मनाउँदै छौँ । म जेठो भएकाले सबै हाम्रोमा जम्मा हुन्छौँ । पूजाआजा मेरोमै हुन्छ । सबैको जमरा मेरो घरमा नै हुन्छ ।
यसपालि भान्जीको बिहे र कान्छो भाइको छोरीको बिहे पनि छ दशैँमा । त्यता पनि व्यस्त भइन्छ । मेरा दुई दिदी र बहिनी एकजना हुनुहुन्छ । उहाँहरू पनि आउनुहुन्छ । विशेष उत्सवका साथ हामी यो पर्व मनाउँछौँ । घरमा मनाएर ससुराली जान्छु । यस्तै-यस्तै गरेर दशैँ मनाउने योजनामा छु । यसको परम्परालाई कायम राख्दै नयाँ पुस्तालाई हाम्रा धर्म, संस्कृति र संस्कार हस्तान्तरण गर्ने तपाईं-हामी सबैको कर्तव्य हो ।
दशैँमा ‘छक्का पञ्जा-५’ : केदार घिमिरे ‘माग्नेबुढा’ कलाकार
दशैँको मलाई मनपर्ने पक्ष भनेको आफन्तबीचको भेटघाट, भलाकुसारी हो । बच्चा बेलामा आफ्नो घरमा टीका लगाउन आएका बुबा र आमाका भान्जाले पैसा पाएको तर म भान्जा नाता नपरेकाले पैसा नपाएको अमिलो अनुभव पनि छ मेरो । दशैँमा पूजाअर्चना गरेर मनाउँछु । हाम्रो चलचित्र ‘छक्का पञ्जा-५’ सिनेमाघरमा आउँदैछ । यो चलचित्र हेरेर दशैँमा रमाइलो लिन पनि अनुरोध गर्दछु ।
माता दुर्गाको आराधना गरेर यो पर्व मनाउँदै छौँ : सरिता राजोपाध्याय, कलाकार
सधैँ जस्तै यसपालिको दशैँ सपरिवार रमाइलो गरेर मनाउँदै छौँ । माता दुर्गाको आराधना गरेर यो पर्व मनाउँदै छु । अरू बेला सुटिङतिर व्यस्त भएकाले परिवारलाई समय दिन पाइँदैन । यो समय उपयुक्त छ । सात्विक भोजन गरिन्छ । काटमार चल्दैन हाम्रोमा । यो पालिको दशैँमा युट्युब हेरेर घरमा बनाउन सक्ने परिकार बनाउन कोसिस गर्छु म । घरमा सबैसँग मिलेर रमाइलो गरिन्छ ।
विदेशमा रहे पनि नेपाली पर्व हर्षोल्लासका साथ मनाउँदै छौँ : निता आचार्य, गायिका
बडादशैँ हामी सबैको सबैभन्दा ठूलो पर्व हो । म केही वर्षदेखि विदेशमा बसिरहेकी छु । चाडपर्वमा नेपालको साह्रै सम्झना आउँछ । दशैँमा आफूभन्दा ठूलाको हातबाट टीका लगाउने, आशीर्वाद लिने, परिवारसँग रमाइलो गर्ने, मिठा-मिठा परिकार बनाएर खुवाउन मनपर्छ । जहाँ भए पनि यो नेपालीपन र संस्कारलाई हामीले बचाइराख्नुपर्छ । यहाँ अमेरिकामा विशेष योजना बनाएर दशैँ मनाउँदै छौँ । हाम्रो संस्कार र संस्कृतिलाई माया गरौँ भन्न चाहन्छु । हामी विदेशमा भए पनि नेपाली पर्वलाई हर्षोल्लासका साथ मनाउँदै छौँ । पारिवारिक भेटघाट र आशीर्वाद लिने, दिने चाडका रूपमा रहेको यो परम्परालाई कायम राखौँ ।
जहाँ जस्तो अवस्थामा छौँ, आ-आफ्नो गच्छे अनुसार दशैँ मनाऔँ : राधा भण्डारी, साहित्यकार
हरेक नेपालीले आफ्नो गच्छेअनुसार दशैँ मनाउँछन् । यसपालि पनि फेरि दशैँ हाम्रो घरआँगनमा आएको छ । केही खुसीसँगै बाढीपहिरोले दुखी बनाएको छ । फेरि पनि हाम्रो पर्व मनाउने तयारीमा छौँ हामी । सानो बेलाको दशैँको रौनक नै अलग हुन्थ्यो । नयाँ लुगा लगाउन पाउँदा औधी खुसी लाग्थ्यो । पछिल्लो समय विभिन्न जिम्मेवारीले गर्दा अरूलाई खुसी पार्न सक्नु पनि ठूलो कुरा रहेछ भन्ने लाग्छ । हामी जहाँ जस्तो अवस्थामा छौँ, आ-आफ्नो गच्छेअनुसार दशैँ मनाऔँ भन्न चाहन्छु ।
दशैँमा घरपरिवारसँग बसेर रमाइलो : भीम बिसी, कम्पोजर
यसपालिको दशैँमा घरपरिवारसँग बसेर रमाइलो गर्ने, परिवारसँगै सुदूरपश्चिमका विभिन्न धार्मिकस्थलहरूमा दर्शन गर्ने योजना छ । दशैँका राम्रा पक्ष धेरै छन् भने नराम्रा पक्षमा जुवातास खेल्ने, मादक पदार्थको सेवन गर्ने, पशुपक्षीहरूको हत्या जस्ता रहेका छन् । यो हुनुहुँदैन भन्ने मेरो धारणा छ । दशैँ हर्षोल्लासपूर्ण वातावरणमा मनाऔँ । आफू खुसी हुनका लागि अरूको हत्या नगरौँ भन्न चाहन्छु ।
दशैँमा आफन्तसँगको भेटघाटमा नै व्यस्त भइन्छ : गम्भीर विष्ट, नृत्य निर्देशक
दशैँमा काठमाडौंमा आमाबाबासँग टीका ग्रहण गरेर सायद म, श्रीमती र बाबु विराटनगर जान्छौँ होला यसपालि । रमाइलो कुरा मेरो घर र ससुराली नै विराटनगर हो तर घरमा अहिले कोही हुनुहुन्न । त्यही भएर ससुरालीतिर समय बित्छ । साथै आफन्तसँगको भेटघाट, चलचित्र ‘ज्वाइँ साहेब’ र ‘छक्का पञ्जा-५’ पनि हेरिन्छ । अरू समय व्यस्त भए पनि दशैँमा पूरै समय परिवारलाई दिन पाइन्छ । बच्चा बेलाको दशैँमा धेरै रमाइलो हुन्थ्यो ।
आफन्तसँग भेट्ने, रमाइलो गर्ने : सुनिता कुँवर, ट्याटु आर्टिस्ट
दशैँ भन्नासाथ बच्चा बेलाको याद आउँछ । एकदम रमाइलो लाग्छ मलाई दशैँको मौसम पनि । माता दुर्गाको पूजा गरेर, आमाबाबा र मान्यजनको हातबाट टीका लगाउने, आफन्तसँग भेट्ने, रमाइलो गर्ने, दशैँमा अरूबेला कामको व्यस्तताले भेट्न नपाएका साथीहरू पनि भेटिन्छन् ।
दशैँमा भेटघाट र केही औपचारिक कार्यक्रम छन् : काव्य आचार्य, गायिका
म यसपालिको दशैँमा अमेरिकामा छु । पहिलोपटक देशबाहिर दशैँ मनाउँदै छु । देशबाहिर हुँदा चाडपर्वहरू निकै मिस हुँदो रहेछ । अरू बेलाभन्दा चाडपर्वका बेलामा गाउँघरको याद धेरै आउँदो रहेछ । यहाँ पनि हामी आफन्तबीच भेटघाट गरेर दशैँ मनाउँदै छौँ । केही औपचारिक र केही अनौपचारिक कार्यक्रमबीच दशैँ मनाउँदै छु ।
दशैँपछि पूर्णिमामा म अस्ट्रेलिया पुग्छु : हेमन्त शर्मा, गायक
मलाई केटाकेटीको दशैँ प्यारो लाग्छ । दशैँमा घरपरिवारसँग रमाउन मन पराउँछु म । जसका कारण दशैँताका कार्यक्रमहरूमा म जाने गर्दिनँ । दशैँमा घर, आफन्त र इष्टमित्रकहाँ जान रुचाउँछु । दशैँको बेला म बाहिरको कार्यक्रम कहिल्यै लिन्नँ । काठमाडौं बसेको २८ वर्ष भयो । सकेसम्म म गाउँमा जान्छु । दिदीबहिनी इभेन्टले अस्ट्रेलियाका पाँच/सात शहरमा मेरो एकल कार्यक्रम गर्दैछ । दशैँपछि पूर्णिमामा म अस्ट्रेलिया पुग्छु । दशैँलाई भन्नुभएको थियो, मैले दशैँलाई नगरौँ भनेर सारेको हुँ ।
यसपालिको दशैँमा दाङमा हुन्छु : निता ढुंगाना, अभिनेत्री
यसपालि परिवारसँग बसेर दशैँ मनाउँदै छु । यसपालिको दशैँमा दाङमा हुन्छु । दशैँमा मनपर्ने पक्ष भनेको टीका जमरा र आशीर्वाद नै हो । रमाइलो वावतारण हुन्छ । मलाई दशैँमा अलिक मन नपर्ने भनेको बली हो । बच्चा बेलामा नयाँ लुगा लगाउन पाउने, मिठो खाने, चंगा उडाउने आदि कुराको धेरै याद आउँछ । दशैँ हाम्रो मौलिक पर्व हो । सबैले आ-आफ्नो गच्छेअनुसार मनाऔँ, तडकभडक नगरौँ । दशैँमा धेरै खाएर स्वास्थ्य नबिगाराँै भन्न चाहन्छु । अनि समय भएसम्म, मिलेसम्म नेपाली चलचित्र हेरौँ, रमाइलो गरौँ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच