काठमाडौं । पश्चिम तराईका थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याका रूपमा देखिएको सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना हुने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै थारु समुदायको प्रमुख स्वास्थ्य समस्याको उपचारका लागि बेग्लै वार्ड स्थापना गरेर विशेष उपचार व्यवस्था गर्ने निर्णय गर्नुभएको हो । ठूलो संख्यामा थारु समुदायमा समस्या देखिए पनि उपचारका लागि पर्याप्त व्यवस्था हुन सकेको छैन । यस्तोमा मन्त्री पौडेलले भेरी अस्पताल नेपालगञ्जमा हेमोग्लोविनोप्याथी वार्ड स्थापनाको निर्णय गर्दै भर्ना हुने बिरामीका लागिसमेत व्यवस्था गराउने निर्णय गर्नुभएको स्वास्थ्यमन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्री पौडेलले गत महिना सिकलसेल उपचार सम्बन्धमा अभियन्ता उज्वलविक्रम थापा, थारु अधिकारकर्मीलगायतको टोलीसँग समुदायको समस्याबारे जानकार रहेको भन्दै केही व्यवस्था गर्ने घोषणा गर्नुभएको थियो । सोहीअनुरूप थारु समुदायलाई पायक पर्ने र अधिक बसोबास रहेको क्षेत्रलाई लक्षित गरी भेरी अस्पतालमा वार्ड स्थापनाको निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
थारु समुदायमा वंशाणुगत स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेलबाट समुदायका झण्डै १२ प्रतिशत नागरिक प्रभावित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक आँकडाले देखाएको छ ।
पश्चिम तराई बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायतका भूभागमा बसोबास गर्ने थारु समुदाय सिकलसेल रोगबाट बढी प्रभावित भएको पाइएको छ । विपन्न नागरिक औषधि उपचार कोष निर्देशिकाबमोजिम सिकलसेल एनिमिया रोग लागेका बिरामीलाई शल्यक्रिया, औषधि तथा औषधिजन्य सामग्री, थप निदानात्मक सेवा, शैय्या सेवा शुल्कका लागि एक लाख रुपैयाँसम्म खर्चको व्यवस्था गरिने मन्त्रालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच