म्युनिख । च्याम्पियन्स लिगमा बार्सिलोनाले अर्को ठूलो जित हासिल गरेको छ । क्याटलान क्लबले बुधबार रेड स्टार बेलग्रेडलाई ५-२ गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाले सातौँ खेलमा जित निकालेको हो । बार्सिलोनालाई ठूलो जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्नुभयो । उहाँले क्याटलन क्लबबाट पछिल्ला १० खेलमा १५ गोल गर्नुभएको छ । लयमा रहनुभएका राफिन्हासँगै इनिगो मार्टिनेज र वैकल्पिक खेलाडी फर्मिन लोपेजले पनि एक गोल थप्नुभयो ।
‘हामीले आज फेरि निकै राम्रो खेल्यौँ,’ लेवान्डोस्कीले भन्नुभयो, ‘हामीले खेल नियन्त्रणमा लिएका थियौँ र तीन अंक बटुल्यौँ ।’ च्याम्पियन्स लिगमा बार्सिलोनाले चार खेलमा सर्वाधिक १५ गोल गरेको छ । तर, नौ अंक जोडेको बार्सिलोना शीर्ष स्थानको लिभरपुलभन्दा तीन अंकले पछाडि छ । बार्सिलोनाले गत साता सिटी डर्बीमा स्पेनिस ला लिगामा एस्पान्योललाई ३-१ ले हराएको थियो भने त्यसअघि स्पेनिस लिग ‘क्लासिको’ मा प्रतिद्वन्द्वी रियल मड्रिडलाई ४-० ले हरायो ।
लिगकै अर्को खेलमा बायर्न म्युनिखले बेन्फिकामाथि १-० को जित निकालेको छ । जमाल मुसियालाले दोस्रो हाफमा गोल गरेपछि बायर्नले जित हासिल गरेको हो । खेलको ६७औँ मिनेटमा जर्मनीका मिडफिल्डर मुसियालाले हेडरमार्फत् गोल गर्दै बायर्नलाई अग्रता दिलाउनुभएको थियो । यो नतिजासँगै बायर्नले चार खेलबाट ६ अंक पुर्याएको छ । आक्रमणमा गति लिन नसकेको बेनफिका समान अंकसहित १९औँ स्थानमा छ । युरोपको शीर्ष क्लब प्रतियोगिता यस सिजन समूह चरणबाट लिग चरणमा परिवर्तन भएको छ, जहाँ ३६ टोलीले आठ-आठ खेल खेल्नेछन् । अंक तालिकाका शीर्ष आठ टोली सिधै अर्को चरणमा प्रवेश गर्दछन् । तर, बाँकी १६ टोली प्लेअफमा प्रवेश गर्नेछन् ।
च्याम्पियन्स लिगमा आर्सनलले इन्टर मिलानसँग १-० को हार बेहोरेको छ । यो सिजन च्याम्पियन्स लिगमा आर्सनलले पहिलोपल्ट गोल खाएको हो । आर्सनलले बराबरी गोलका लागि दबाब दिए पनि इन्टरको डिफेन्स लाइनलाई छिचोल्न सकेन । खेलको एकमात्र गोल मध्यान्तरअघि इन्टरले पेनाल्टीमा गरेको थियो । मेहदी तारेमीले प्रहार गरेको फ्रिकिक बल मिकेल मेरिनोको पाखुरामा लाग्न पुगेको थियो । सोही हृयाण्ड बलमा प्राप्त पेनाल्टीलाई हाकान कालहानोलुले गोलमा परिणत गर्नुभएको हो । पहिलो गोल बेहोरेपछि भिडियो सहायक रेफ्रीले खेलमा मेरिनोको पेनाल्टी अपिल अस्वीकार गर्नुभएको थियो ।
लिगमा इन्टर मियामीले आफ्नो अपराजित यात्रालाई चौथो खेलसम्म पनि कायम राखेको छ । घरेलु मैदान सान सिएरोनमा इन्टरले बुधबार आर्सनलविरुद्ध १-० को कठिन जित निकालेको हो । जितसँगै चार खेलमा १० अंक जोडेको इन्टर पाँचौँ स्थानमा छ । पराजित आर्सनल समान खेलबाट सात अंकका साथ १२औँ स्थानमा छ । हकान काल्हानोग्लुले गरेको एकमात्र गोल इन्टरको जितमा निर्णायक बन्यो । उहाँले पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत् गोल गर्नुभएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच