आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नुपर्छः मन्त्री भुसाल (भिडियाेसहित)

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाण्डाैं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले देशको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा गुरु ट्राभल्स लिमिटेडको समुद्घाटन तथा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले देशको समृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो ।

उहाँले कृषिमा आत्मनिर्भर हुनुपर्ने र कृषिलाई उद्योगको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नीजि क्षेत्रले पनि कृषिलाई उद्योगको रुपमा विकास गर्न व्यवसायीकरण र यान्त्रिकिकरण गर्नेतर्फ सोच्नुपर्ने उल्लेख गर्नुभयो । मन्त्री भुसालले कृषिमा आत्मनिर्भर हुनुपर्ने र त्यसका लागि जमिन बाँझो नछोडी खेती गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो - ‘अब आर्थिक विकास र सामाजिक विकासमार्फत सामाजिक न्यायमा आधारित समाजवादउन्मुख समाज निर्माण गर्ने प्रतिवद्धता हामीले संविधानमै गर्‍यौँ । अब त्यसको कार्यान्वयन तहमा हामी अगाडी बढेका छौँ । त्यो विकास धेरै तरिकाले हुन्छ । तर आधारभुत कुरा चाहीँ तिनओटा हुन् भन्ने मलाई लाग्छ, एक नम्बर कृषि नै रहेछ । कृषिप्रधान देश, उर्वरा भूमि छ । जलस्रोतले सम्पन्न छौँ । सिंचाईको मात्रै उचित ढंगले व्यवस्थापन गर्दा र आधुनिक मल, बीउ र यान्त्रिकिकरण गर्दा हामी कृषिमा आत्मनिर्भर हुनसक्छौँ । हिजो निर्यात गर्ने राष्ट्र अहिले हामी आयात गरेर खाने राष्ट्र बनेका छौँ । हामीले आफ्नो जमिन बाँझो नछोडीकन खेती गर्नुपर्छ । हामीलाई भुकम्पले पनि सिकायो । र कोभिडको महासंकटले पनि हामी टिकिराखेका छौँ । कृषि आधारभुत कुरा हो । बरु यसलाई अझ व्यवसायीकरण, यान्त्रिकरण गर्ने कुरामा हामी सबै लाग्ने कुरा र संस्थागत ढंगले उद्योगी व्यवसायीको छाता संगठनले पनि यो कुरा सोच्नुपर्छ । कृषि पनि उद्योग हो । यसलाई पनि हामी उद्योगको तरिकाले अगाडी बढाउन सक्छौँ भन्ने तरिकाले लाग्न जरुरी छ ।’

उहाँले विद्युतीय सामग्रीको प्रयोगमा वृद्धि गर्नुपर्ने बताउनु भयो । त्यस्तै देशमा धेरैभन्दा धेरै पर्यटक भित्राउन जोड गर्नुपर्ने पनि उहाँको भनाई छ ।

https://youtu.be/X9c3AovJY7Y

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?