भोजपुरमा लम्पी स्किन रोगको संक्रमण बढदै

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 5 mins

भोजपुर । ‘प्रकोप अत्याधिक बढेसंगै अनुदानमै भ्याक्सिन माग गरेर केही मात्रामा वितरण गरेका छौँ, पर्याप्त भ्याक्सिन ल्याउने काम भईरहेको छ, सक्दो पहल गरिरहेका छौँ’ भोजपुरको पश्चिम टेम्के मैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले भन्नुभयो । टेम्केमैयुङ गाउँपालिकाले वडा नम्वर ३, ५, २, १ का किसानहरुलाई ५० प्रतिशत अनुदानमा भ्याक्सिन ल्याएर वितरण समेत गरेको छ ।

घरमा पालेका पशुचौपायाहरुमा लम्पी स्किन रोगको संक्रमण बढदै जान थाले पछि पूर्वी पहाडी जिल्ला भोजपुरका स्थानीय पालिकाहरु समेत रोग नियन्त्रणका लागि सचेत बन्न थालेका छन । घरपालुवा पशुचौपायामा लम्पी स्किन रोगको संक्रमण बढ्न थालेपछि किसान चिन्तित बनेको अवस्थामा स्थानीय तहहरु समेत जागरुक हुनु पर्ने भोजपुर नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष नवीन प्रधानले बताउनुभयो । प्रधानले भन्नुभयो “गाई गोरुमा देखिएको नयाँ रोगनियन्त्रण तथा ब्यबस्थापनको लागि भोजपुर नगरपालिकाले निशुल्क औषधीको ब्यबस्था गरेको छ, यस वडामा पनि स्थलगत पशु सेवाको दिनको लागि पशु सेवाकर्मीको ब्यवस्था मिलाएका छौ ।”

जिल्लाका अधिकांश गाउँवस्तीका गाईवस्तुमा यो रोगको प्रकोप बढ्न थालेपछि किसानहरु चिन्तित बनेका छन । बालीनाली लगाउने समयमा गाईवस्तु रोगबाट धमाधम संक्रमित हुन थालेपछि खेती चटारोमा थप समस्या थपिएको छ । खेतीको सिजन सुरु भएका बेला गोठका गाईबस्तु रोगबाट ग्रसित हुन थालेपछि आफुहरु चिन्तित बनेको किसानहरुको गुनासो रहेको छ । संक्रमणविरुद्धको भ्याक्सिन अझै पनि पर्याप्त नहुँदा ग्रामीणबस्तीमा पशुचौपाया मर्न थालेका छन् ।

रोग नियन्त्रणका लागि रामप्रसाद राई गाउँपालिकाले पनि औषधी ब्यवस्थापनका लागि बजेटको ब्यवस्थापन गरेको गाउँपालिका अध्यक्ष थाम बहादुर राईले बताउनुभयो । जिल्लाको टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका, पौवादुङमा गाउँपालिकालगायत विभिन्न ग्रामीण क्षेत्रमा यो रोगको प्रकोप बढेको हो । हावापानी, संक्रमित पशुको सम्पर्कका साथै लामखुट्टे, झिंगा, किर्ना, भुसुनाको टोकाइबाट एकदेखि अर्को पशुचौपायामा सर्ने गरेको पौवादुङमा गाउँपालिका पशु स्वास्थ्य शाखाका पशु प्राविधिक अभिषेक खवासले जानकारी दिनुभयो ।

‘बेँसीखेतमा बाँझो जोत्ने बेला भएको छ, बालीनाली लगाउने समय छ, गोठमा जोत्ने गोरुहरु लम्पी रोगबाट थलिएका छन्, उचित उपचार छैन, यसपाली कसरी खेती उतार्ने खै?’ किसान चन्द्र राईले गुनासो गर्नुभयो । भोजपुरमा पछिल्लो एक महिनाको अन्तरालमा यो रोगको प्रकोप बढेको हो ।

गाईवस्तुको छालामा बिबिरा आउने, पाक्ने, र गाईवस्तुमा कडा ज्वरो आउने प्रकोप बढेको छ ।रोगको प्रकोप गर्मी बढेसंगै विभिन्न माध्यमबाट एक पशुदेखि अर्कोमा सर्ने गरेको तथ्याङ्कले देखाएको छ, यसको नियन्त्रणका लागि गाउँपालिकाका प्रभावित क्षेत्रमा भ्याक्सिनेसनमा जोड दिनु पर्ने पशु सेवाकर्मीहरुको भनाई रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?