चित्रबहादुर केसी पहिलो पटक पाँच दलीय गठबन्धनको चुनावी सभामा आउनुको कारण के ?

Read Time = 4 mins

काठमाडौं । राष्ट्रिय जनमोर्चा पाँच दलीय गठबन्धनमा आवद्ध छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्यूत गराउनदेखि अहिलेसम्म जनमोर्चा पाँच दलसँगै छ । गठबन्धन आवद्ध सरकारले एमसीसी पास गरेपछि जनमोर्चा अलग हुने घोषणा गर्‍यो । एमसीसी पास गरेर राष्ट्रघाती काम गरेको भन्दै जनमोर्चाले गठबन्धनबाट अलग हुने घोषणा गरेको थियो ।

उक्त घोषणापछि धेरैको अपेक्षा थियो( अब जनमोर्चा पाँच दलीय गठबन्धनबाट अलग हुन्छ । तर, त्यसो हुन सकेन । जसले गर्दा जनमोर्चामाथि अनेकन आरोप लाग्यो ।

जनमोर्चामाथि यस्तो आरोप लागेको यो पहिलो पटक भने होइन । यसअघि राजतन्त्र ढाल्न भएको जनआन्दोलन होस्, या विगतमा भएका आन्दोलनमा जनमोर्चा गठबन्धनमा आवद्ध थियो । तर, त्यहाँबाट बाहिरिएपछि यस्तो प्रतिगमनको मतियार बनेको, आर्थिक प्रलोभन वा सत्ता बाँडफाँटको साझेदार बनेको आरोप जनमोर्चामाथि लाग्ने गरेको थियो ।

सत्तारूढ नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी ९जसपा० ले संसद्‌बाट एमसीसी पास गराए । त्यसपछि जनमोर्चा गठबन्धनको उक्त निर्णयको विरुद्धमा उभियो । र गठबन्धनसँगको सहकार्य तोड्ने घोषणा गर्‍यो ।

स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै जनमोर्चा पुनः गठबन्धनको पक्षमा उभियो । जनमोर्चाको तर्फबाट उपाध्यक्ष दुर्गा पौडेल गठबन्धनको हरेक बैठकमा सहभागी भइहनु भयो। अध्यक्ष चित्रबहादुर केसी भने निष्क्रिय जस्तै बन्नुभयो ।

चुनावी तालमेलका हुनेगरेका हरेक बैठकमा उपाध्यक्ष पौडेलले नै सहभागी हुनु भयो। चित्रबहादुर भने त्यति सक्रिय देखिनुभएन । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा पाँच दलीय गठबन्धनका शीर्ष नेताहरू देशदौडाहमा देखिए । तर, केसी भने कुनै पनि शीर्ष नेतासँग देखिनुभएन । यसरी सक्रिय नभएपछि कतै गठबन्धनभित्र जनमोर्चा असन्तुष्ट त छैन ? भन्ने प्रश्न धेरैको मनमा थियो ।

यसरी गठबन्धनभित्र पनि निष्क्रिय देखिनुभएको अध्यक्ष केसी पहिलो पटक गठबन्धनको चुनावी सभामा सहभागी हुनुभएको छ। शान्तिवाटिकामा आयोजित चुनावीसभामा उहाँ पहिलो पटक सहभागी हुनु भएको हो । हिजो चितवनमा आयोजित चुनावी सभामा पाँच दलीय गठबन्धनबाट जनमोर्चाका नेताहरू उपस्थिति भएनन् ।

पहिलो पटक गठबन्धनको कार्यक्रममा सहभागी अध्यक्ष केसीले त्यसबारे आजको सभाबाट प्रष्ट पार्नुभयो । ‘गठबन्धनको कार्यक्रममा म आज पहिलो पटक सहभागी भएको छु । यसमा मेरा व्यक्तिगत समस्या थिए, अन्य कारणले सहभागी हुन सकेको थिएन । आजको कार्यक्रममा उपस्थित हुन पाएँ,’ अध्यक्ष केसीले भन्नुभयो ।

गठबन्धनको कार्यक्रममा सहभागी नहुनु आफ्नो व्यक्तिगत कारण रहेको उहाँको भनाइ छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?