हिमालय टाइम्स छापिने आशुतोष प्रेसमा बाढी पस्यो, करोडौंको क्षति

Read Time = 2 mins

काठमाडौं । हिमालय टाइम्स राष्ट्रिय दैनिक छापिने छापाखाना (प्रेस) मा मनोहरा खोलाको बाढी पस्दा करौडौंको क्षति भएको छ । गए राति परेको अविरल वर्षाका कारण ललितपुर बालकुमारी दक्षिणस्थित आशुतोष प्रिन्टर्सको कार्यालयमा मनोहरा र हनुमन्ते खोलाको पानी पसेर प्रेस मेसिन, छपाईमा प्रयोग हुने लाखौं मूल्य बराबरको कागज समेत नष्ट भएको हो ।

बेलुका १० बजेदेखि भएको अविरल वर्षा पछि राति १ : ३० बजेतिर खोलाको पानी तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको हाता भित्र रहेको आशुतोष प्रिन्टर्स भवनमा पसेको थियो । पानीले तल्लो तलामा रहेका छापाखाना सम्बन्धी लाखौंका सामाग्रीमा कामै नलाग्ने गरि क्षति पुगेको हिमालय टाइम्सकाे प्रिन्टिङ हेर्दै आउनु भएको कर्मचारी धीरेन्द्र ठाकुरले बताउनु भयो । उहाँका अनुसार प्रेसमा पानी पस्दा त्यहाँ केही महिनालाई जोगाड गरेर राखिएको पत्रिका छपाईका कागजदेखि प्रेसमा प्रयोग हुने मसीलगायत मेसिनमा समेत क्षति पुगेको छ ।

मंगलबार राति मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि आसपासका क्षेत्र डुवानमा परेका छन् ।

खोलाको पानी बस्तीमा पस्दा यसक्षेत्रका केही घर समेत डुबानमा परेका छन् । विशेषगरी सुकुम्बासी बस्तीमा पानी पसेको छ । त्यहाँ रहेका केही टहरासमेत बाढीले बगाएको छ । सुकुम्वासी बस्ती डुबानमा पर्दा घरभित्रका लत्ताकपडा, खाद्यान्न र अन्य सामान नष्ट भएको, यहाँका कुखुरा र बङ्गुर बगाएको छ ।

काठमाडौं उपत्यकामा मंगलबार राति परेको झरीका कारण बागमती र सहायक नदीमा पानीको बहाव उल्लेख्य बढेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?