शैक्षिक क्षेत्र प्रभावित, कतै तोडफोड, कतै आगजनी

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहित चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चा कार्यकर्ताले आज नेपाल बन्दको आह्वान गरेको छ । बन्दको प्रभाव उपत्यकासहित देशैभर परेको छ ।

काठमाडौं उपत्यकामा सार्वजनिक सवारीका साधन कम चलेका छन् भने निजि सवारी साधन संचालनमा रहेका छन् । उपत्यकामा बजार पनि निर्वाध रुपमा संचालनमा आएका छन् । बन्दका कारण शैक्षिक संस्था भने पूर्ण रुपमा ठप्प बनेको छ ।

राजधानीबाट बाहिर जाने सवारी साधनहरू फाट्टफुट्ट मात्र चलेका छन् । लामो दूरीका सवारी साधनहरू आज कम मात्रै चलेका छन् ।

यसैबीच, बन्दको अवज्ञा गरेको भन्दै काठमाडौंको कोटेश्वरमा एक सार्वजनिक बसमा बन्दकर्ताले तोडफोड गरेका छन् । बन्दमा चलाएको भन्दै कोटेश्वरमा बसमाथि ढुंगा प्रहार गरिएको हो ।

बन्दकर्ताले महानगर यातायातको बा ४ च ९३९४ नम्बरको बसमा ढुंगा हानेका हुन् ।

यता, दाङमा बन्दकर्ताले बिहानै सवारीसाधनमा आगजनी गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका हुन ।

चार/पाँच जनाको समुहमा रहेका व्यक्तिले टिप्परको अघिल्लो भागमा आगो झोसेर भागेका थिए । आगजनीका कारण टिप्परको अघिल्लो भाग जलेर नष्ट भएको छ ।

कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका छन् । कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

अत्तरियामा टिफिन बक्स जस्तो बस्तु कपडामा बेरेको अवस्थामा र हरैयामा करिब ५० मिटर लामो तारसहित प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले बताउनुभयो ।

यसैबीच, उपत्यकामा सडक अवरोध गराउँदै हिँडेका १८ जना पक्राउ परेका छन् । उनीहरुलाई नयाँ बानेश्वर, कोटेश्वरलगायत उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।

सडक र गाडी चलाउन समस्या नहोस् भन्नका लागि सडकमा बिहानैदेखि सुरक्षाकर्मी खटिएका छन् । प्रहरीले ढुक्क भएर गाडी चलाउन आग्रह गरेको छ ।

सडक र चोकचोकमा प्रहरीको बाक्लो उपस्थिति छ ।

राजधानीभित्र बजार खुलेको र यातायात चलेको भए पनि राजधानी बाहिरका शहरहरूमा भने यातायात र बजार ज्यादै न्युन मात्रामा चलेको प्रहरीले जनाएको छ ।

यसअघि सरकारसँग भएको आफ्ना कार्यकर्तामाथिको मुद्दा फिर्ता लगायत सहमति पालना गर्न माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज बन्द आह्वान गरेको बताइएको छ ।

  • फाइल तस्बिर

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?