गाउँमै विद्यालय बनेपछि लालीगुराँसका बालबालिका हर्षित

हिमालय टाइम्स
Read Time = 3 mins

तेह्रथुम । तेह्रथुम लालीगुराँस नगरपालिका-५ सिरीसेका बालबालिका घर नजिकै विद्यालय नहुँदा घण्टौ लामो बाटो हिँडेरै विद्यालय पुग्नु पर्थ्यो । बर्षातको समयमा बालबालिकाहरू विद्यालय पुग्नै समस्या हुन्थ्यो । तर, लालीगुराँस नगरपालिकाले गाउँमै सिरिजंङगा आधारभूत विद्यालय स्थापना गरेपछि यहाँका बालबालिकाहरूलाई सहज भएको छ ।

नगरपालिकाले यहाँका बालबालिकाहरूको समस्यालाई मध्यनजर गर्दै विद्यालय स्थापनामा जोड दिएको हो । विद्यालय स्थापनासँगै अत्याधुनिक प्रविधिबाट विद्यालयमा पठनपाठन गरिने नगरपालिकाका नगरप्रमुख अर्जुन माबोहाङले बताउनुभयाे ।

‘विद्यालयमा बालबालिकाहरूलाई कम्प्यृुटर शिक्षाका साथै दृष्यचित्र प्रविधिबाट शिक्षा दिने तयारी गरेका छौँ । गाउँका बालबालिकाहरू शिक्षाबाट बञ्चित नहोस् भन्ने उद्देश्यका साथै शिक्षालाई प्रविधिमैत्री बनाउने हाम्रो लक्ष्य हो,’ माबोहाङले भन्नुभयाे । विद्यालयको भवन निर्माण गर्न नगरपालिकाले २ लाख ५० हजार रकम विनियोजन गरेको थियो । नगरपालिका सहयोग स्थानीयवासीको श्रमदानले भवन निर्माण सम्पन्न भएको हो । भवन सम्पन्न भएसँगै विद्यालयमा पठनपाठन सुरु समेत भएको छ । बाल कक्षामा २० जना विद्यार्थी भर्ना भएको विद्यालयका शिक्षिका सुशीला लिम्बूले बताउनुभयाे ।

गाउँमै विद्यालय स्थापना भएपछि यहाँका नागरिकहरूले स्थानीय सरकार नागरिकहरूको समस्यामा साथमै रहेको महशुस गरेका छन् । घर नजिकै विद्यालय नहुँदा नानीहरूलाई विद्यालय पुर्‍याउन नै समस्या हुँदै स्थानीय वेदना लिम्बूले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘ गाउँमै विद्यालय स्थापनाले नानीहरूलाई सजिलो मात्रै भएको छैन हामीलाई समेत राहत मिलेको छ ।’

विद्यालय स्थापनाको लागि स्थानीय लोकमान लिम्बू मादेनले निःशुल्क जग्गा प्रदान गर्नुभएकाे थियाे । जग्गा प्रदान गर्ने मादेन र उहाँकी श्रीमती टिकामाया लिम्बूलाई सम्मान गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?