कालीगढलाई मूर्ति बनाउन भ्याई नभ्याई

हिमालय टाइम्स
Read Time = 4 mins

संजीवकुमार मिश्रा/हिटा
बारा । आफूसँग सीप भए स्वदेशमै राम्रो आम्दानी गरी जीवनयापन गर्न सकिन्छ । अहिलेको समयमा डिग्रीभन्दा पनि सीप महत्व राख्दछ । साधारण पढाइ लेखाइले अहिलेको समयमा जीवन धान्न कठिन छ । त्यसैले सरकारले पनि प्राविधिक शिक्षातिर विशेष ध्यान दिएको छ । अहिलेको २१औँ शताब्दी प्रविधिको युग हो । आफूसँग सीप छ भने साधारण लेखपढ गर्ने मान्छेले समेत विदेशभन्दा स्वदेशमै राम्रो आम्दानी गर्न सक्छन् । यसको प्रमुख उदाहरण हुन् हाम्रा देशका कालिगढहरू ।

कालिगढहरूले विभिन्न देवी देवताहरूको मूर्ति बनाएर लामो सयमदेखि आफ्नो परिवार पाल्दै आएका छन् । उनीहरूले मूर्ति बनाएर परिवार पाल्ने पढाउने र सुखमय जीवन बिताउँदै आएका छन् । कलैया उपमहानगरपालिका-२७ रामपुर टोलका ५६ वर्षीय कालिगढ शम्भु ठाकुर अहिले निकै व्यस्त देखिनुहुन्छ । उहाँलाई विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याई नभ्याई छ । आफू र एक जना सहयोगी मिलेर ठाकुरले विश्वकर्मा पूजाको लागि ४० भन्दा बढी मूर्ति तयार पार्नु भएको छ ।

विगत लामो समयदेखि मूर्ति बनाउने काम गर्दै आउनुभएका ठाकुरले मूर्तिको कमाइबाट परिवार पाल्दै आएको जानकारी दिनुभयो । विश्वकर्मा पूजा नजिकिएको छ उहाँले भन्नुभयो, ‘त्यसैले हतार हतार मूर्तिको रंगरोगन गर्दै छु । अर्डर खासै छैन तर पनि निर्माण गरिएका मूर्तिहरू बिक्री हुँदै आएको छ । एक महिनादेखि यही मूर्ति बनाउने काममा व्यस्त छु । पहिलाको भन्दा अहिले मूर्ति बनाउन गाह्रो छ । अहिले त माटो पनि किन्नु परेको छ । आफ्नो श्रम र मूर्तिमा भएको लगानी जोर्ने हो भने एउटा मूर्तिमा एक हजार पाँच सयदेखि दुई हजारसम्म खर्च हुन्छ । बीच बीचमा पानी परेर झन् दुःख दिएको छ । मूर्ति बनाउन चाहिने माटो, पराल, भुस, बाँस, रङ सबै किन्नु पर्छ । महिनौ खटेर मूर्ति निर्माण गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

महिनौ खटेर निर्माण गरिएको मूर्ति दुई हजार पाँच सयदेखि तीन हजारसम्म विक्री हुने गरेको उहाँले जानकारी दिनुभयो । मिहिनेत र लगानी हेर्ने हो भने खासै फाइदा हुँदैन, उहाँले भन्नुभयो, ‘तर पनि घरमा बसेर के गर्ने अलिकता जग्गा जमिन रहेको छ । खेतीको काम पनि गर्छु र समय निकालेर मूर्ति पनि बनाउँदै आएको छु । ४० वटा मूर्ति बिक्री भयो भने २० देखि ३० हजारसम्म आफूलाई नाफा हुने जानकारी गराउनुभयो ।

सिजनअनुसार ग्रामीण भेगका कालिगढहरूले शहरी क्षेत्रमा आएर यसरी विश्वकर्मा, सरस्वती, दूर्गा, गणेश लगायतका मूर्ति बनाएर आम्दानी गर्ने गरेका छन् । असोज १ गते शनिबार हुने विश्वकर्मा पूजा महोत्सवका लागि बारा जिल्ला लगायतका विभिन्न ठाउँमा विश्वकर्मा भगवानको मूर्ति बनाउने कालिगढहरू व्यस्त देखिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?