बालकथा : साथी हजुरआमा

हिमालय टाइम्स
Read Time = 10 mins

✍️ अनिल नेपाली

बिहानैदेखि मामुले घर चिटिक्क शृङ्गारेको देख्दा सानुको मनमा निक्कै कौतुहलता जागे पनि मामुलाई केही सोधिनन् । बरू केहीबेर कोठामा खाजा खाँदै होमवर्क गरिरहिन् । घामले स्कुल जाने समयको सङ्केत गर्‍यो सानुको बाबा पनि कार्यालय जाने तयारीमा जुट्नुभयो । भान्साकोठाबाट मामुको प्रेमपूर्वक आवाज आयो, सानु, स्कुल जाने बेला भयो नि ! खाना खान आऊ ।

यति सुन्नसाथ सानु आँगनबाट दौडिएर भान्साकोठामा पसिन् । किन सानु यति हतार ? कपाल कोरेको खोइ ?, पोशाक लगाएको खोइ ? हातमुख धोएकी खोइ ? साथीसँग खेल्न पाए पुग्छ हगि । मामु यस्तै के भन्दै हुनुहुन्थ्यो सानु सुटुक्क हात, मुख धोएर आइन् । मामुले खाना दिनुभयो । सानु छक्क परिन् । किनकि, आज भान्सामा खानाका नौला परिकार तयार भएका थिए । माछा, मासु, दाल, तरकारी, अण्डा, पुरी, पुलाउ, अचार, केक, दूध, दही अरू पनि के-के थिए । सानुको भागमा सबै थोक पर्‍यो ।

सानुको कलिलो हृदयमा अर्को कौतुहलता जाग्यो । जसलाई उनले रोक्नै सकिनन् र मामुलाई प्रश्न गरिन् । किन मामु आज घर पनि चिटिक्क, खानाका परिकार पनि यति धेरै ? पक्कै हाम्रो घरमा आज नौलो केही हुनुपर्छ । नाइ मामु म त आज स्कुल जान्नँ । यत्तिकैमा आँगनमा मारुनी, रूपक, चना, अशोक, चुलठी आएर एउटै स्वरमा बोलाए । सानु स्कुल नजाने ? सानु बोलिनन्, मामुले भित्रबाट जवाफ दिनुभयो । एकैछिन् पर्ख है, म सानुलाई छिट्टै तयार पारिदिन्छु । केही समयपछि मन नलागी नलागी सानु साथीहरूसँग स्कुलतिर लागिन् ।

बेलुका घाम अस्ताउन पश्चिमी डाँडैमा पुगे । सानुको घरमा पाहुना आए । स्कुल छुट्टी भएपछि सानु साथीसँग खेलेर अबेर घर आइन् र भान्साकोठामा पसिन् । मामु पनि नजिकै तरकारी केलाउँदै हुनुहुन्थ्यो । सानुलाई देखेर मामुले भन्नुभयो, आज पनि अबेर आयौ ?, साथीसँग खेल्न पाए पुग्छ होइन ? मामु रिसाएको सानुले प्रष्ट बुझिन् । भोलिदेखि सबेरै घर आउनू है सानु नत्र जाति हुँदैन । मामुले भन्नुभयो, लौ खाजा खाऊ र पल्लो कोठामा गएर हेर त को पाहुना आएका छन् ?

यत्तिकैमा पल्लो कोठाबाट बुढी आइमाईले खोकेको आवाज आयो । मावलाबाट हजुरआमा आएको कुरा सानुलाई थाहा भइहाल्यो । सानुलाई हेर्न हजुरआमा विस्तारै कोठाबाहिर आउनुभयो तर सानु साथीसँग खेल्न दौडिहालिन् । मामु र हजुरआमा सानुको बारेमा सँगै कुरा गर्दै साँझ पर्खिरहे ।

बेलुका घाम अस्ताउन पश्चिमी डाँडैमा पुगे । सानुको घरमा पाहुना आए । स्कुल छुट्टी भएपछि सानु साथीसँग खेलेर अबेर घर आइन् र भान्साकोठामा पसिन् । सानुलाई देखेर मामुले भन्नुभयो, ‘साथीसँग खेल्न पाए पुग्छ होइन ?’ मामु रिसाएको सानुले प्रष्ट बुझिन् ।

घाम अस्ताए । सानुको बाबा पनि कार्यालयबाट फर्कनुभयो । सानुलाई कतै नदेख्दा मामुलाई सोध्नुभयो तर सानु टुप्लुक्क आइपुगिन् । बाबाले हृदयको मायालाई केही लुकाएर गाली गर्नुभयो । सधैँ खेल्ने, पढ्नु नपर्ने ? भोलि पनि यसै गरे जाति हुन्न सानु, यति भनेर बाबा सुत्ने कोठामा पस्नुभयो । बाबाको गाली सुनेर डराएकी सानु मामुको छेउमा हलचल नगरी उभिरहिन् । हजुरआमाले मायालु स्वरमा भन्नुभयो, मेरो सानुलाई कसले, यता आऊ । सानुलाई केही राहत मिल्यो । हजुरआमाले पटुकीबाट मिश्री र नरिवलको चोइटा दिनुभयो । सानु निक्कै खुशी भएर हजुरआमासँग लुटुपुटु गर्न थालिन् ।

हजुरआमाले पल्लो कोठामा लानुभयो र मावलीको कोसेली खीर र घ्यूका केही चोइली दिनुभयो । सानुको मिठो मुख भयो । उनी झनै खुशी भइन् । भोलिदेखि साथीहरूसँग धेरै खेल्न नजाने है । हजुरआमाले भन्नुभयो । सानुले पनि हुन्छ भनेर टाउको हल्लाइन् । बेलुका सबैले सँगै खाना खाए । हजुरआमाले मामुसँग भन्नुभयो, ऊ बेला हाम्रा त धेरै साथी पनि हुँदैनथे । पढ्न स्कुल थिएनन्, आँगनको डिल कटेर जाँदैनथ्यौँ ।

फेरि सानुको मनमा कौतुहलता जाग्यो । ऊ बेला भनेको के होला ? स्कुल थिएनन् भन्दा त छक्कै लाग्यो । हजुरआमा पनि केटाकेटी हुनुहुन्थ्यो रे । आम्मै !! सानुलाई छक्कै लाग्यो । त्यो रात मामुसँग सुतेकी सानुको मनमा रातभरि खुल्दुली लागिरहृयो । भोलिपल्ट बिहानै हजुरआमा सुतेको ठाउँमा सुटुक्क पुगिन् सानु । हजुरआमा खुशी हुनुभयो । सानुले हजुरआमाको छेउमै बसेर भनिन्, हजुरआमा एउटा कुरा सोधौँ ? हिजो ऊ बेला भनेको के हो ? अनि स्कुल थिएनन् भनेको के हो ? आम्मै !! हजुर पनि हामीजस्तै केटाकेटी हुनुहुन्थ्यो ? हजुरका पनि मेरा जति साथी थिएनन् रे ? सानु हाँसिन् ।

सानुको जिज्ञासा देखेर हजुरआमा पनि खुशी हुनुभयो । अनि सानुले बुझ्न चाहेका सबै कुरा औँला भाँची भाँची, खोक्दै, हाँस्दै बताउनुभयो । हजुरआमाका कुरा सुनेर सानु छक्कै परिन् । उनी निक्कै रमाइन् । आम्मै !! हजुरआमा त कति ज्ञानी पो हुँनुहुँदोरहेछ । सानुले हजुरआमालाई चुम्बन गर्दै भनिन्, त्यसदिन बिहान सानु खेल्न गइनन्, खाना खाएर स्कुल गइन् । स्कुलमा पनि सानुलाई हजुरआमाको याद आइरहृयो । बेलुका स्कुलबाट फर्केपछि खेल्न गइनन् । बरू हजुरआमासँगै बसिन् । अनि नयाँ–नयाँ कुरा सुनाउन आग्रह गरिन् । हजुरआमाले पनि आफ्ना जीवनका सत्य अनुभव बताउँदै जानुभयो ।

कहिले धार्मिक र रमाइला कथाहरू सुनाउनुहुन्थ्यो त कहिले गाउँखाने कथाहरू, कहिले परी र राजकुमारका कथा त कहिले भूत र स्वर्गका कथाहरू सुनाउनुहुन्थ्यो । कहिले आफ्ना बाल्यकालका अनुभवहरू सुनाउनुहुन्थ्यो त कहिले रमाइला चुट्किलाहरू सुनाउनुहुन्थ्यो । हजुरआमाका कुरा सुनेर सानु छक्कै परिन् । आफूभन्दा धेरै ज्ञानी हजुरआमा भएको सानुले बुझिन् अनि सानु हरेक दिन हजुरआमासँगै बसेर रमाउन थालिन् ।

सानुले खेल्न चटक्कै छाडेको कुरा उनका साथीहरू मारुनी, रूपक, चना, अशोक र चुलठीले पनि बुझ्न चाहे । सानुले हजुरआमाको बारे सबै कुरा भनिन् । साथीहरू पनि छक्कै परे । हजुरआमाबारे सानुले स्कुलमा पनि भनिन्, गुरुले स्याब्बास दिनुभयो । उनी पढाइमा पनि अब्बल हुँदै गइन् । त्यसपछि सानुका साथीहरू पनि खेल्ने समय हजुरबा हजुरआमाको छेउमा बसेर रमाइलोसँग बिताउन थाले ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?