नवौं राष्ट्रिय खेलकुद : गण्डकीका खेल पत्रकारलाई तालिम

हिमालय टाइम्स
Read Time = 5 mins

गण्डकी । गण्डकी प्रदेशमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समाचार संकलन र सम्प्रेषणलाई सरल बनाउन सञ्चारकर्मीका लागि खेलकुद पत्रकारिता तालिम सुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना र खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बुधबारदेखि सुरु भएको दुई दिनको तालिममा मुस्ताङबाहेकका १० जिल्लाबाट गरी ७० जना खेल पत्रकारको सहभागिता छ । राष्ट्रिय खेलकुदका ३६ वटै खेलका नियम, खेल नतिजाको विधि, खेल अनुशासन, नियमलगायतका विषयमा जानकारी प्रदान गरी पत्रकारलाई सबै खेल विधामा समाचार सम्प्रेषणमा सक्षम बनाउने उद्देश्यले तालिम आयोजना गरिएको खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिनानाथ बरालले जानकारी गराउनुभयो ।

उहाँका अनुसार तालिममा ३६ वटै खेलका प्रशिक्षक एवं खेल पदाधिकारीले समाचार सम्पे्रषणका लागि सञ्चारकर्मीलाई प्रशिक्षित गर्नुहुनेछ । पहिलो दिनको तालिममा १३ जना प्रशिक्षकले प्रशिक्षण दिनुभयो । स्क्वासका रामकृष्ण ज्ञवाली, उसुका गोपाल श्रेष्ठ, क्रिकेटका रिजन प्रजु, भारोत्तोलनका राजन बड्गामी, फेन्सिङका सन्दीप बराल, सेपाताक्रोका मोहन गुरुङ, आर्चरीका योगेन्द्र शेरचन र खोखोका विशालजंग कुँवरले सम्बन्धित खेलका बारेमा जानकारी गराउनुभयो ।

यसैगरी ब्याडमिन्टनका पुनम गुरुङ, बक्सिङका प्रियंका बर्मा, टेनिसका निरज थापा, प्याराग्लाइडिङका योगेश भट्टराई र खेल फोटोका बारेमा राम गुरुङले प्रशिक्षण दिनुभएको थियो । बाँकी खेलका बारेमा दोस्रो दिन सम्बन्धित खेलका प्रशिक्षक तथा विज्ञबाट तालिम प्रदान गरिने मञ्चले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङले तालिमले खेल पत्रकारितामा रुचि राख्ने पत्रकारको दक्षता अभिवृद्धि हुने र नवौं राष्ट्रिय खेलकुद भव्य बनाउन पत्रकारिताको माध्यमबाट योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेलमैदान व्यवस्थापन उपसमितिका संयोजकसमेत रहनुभएका गुरुङले प्राविधिक कारणले प्रतियोगिताका लागि यसअघि तय भएका केही ठाउँको खेलस्थल परिवर्तन हुनसक्ने संकेत गर्नुभयो ।

प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य-सचिव तेजबहादुर गुरुङले राष्ट्रिय खेलकुद प्रतियोगितासम्बन्धी गतिविधिलाई आमसर्वसाधारणमाझ पुर्‍याउन सञ्चारकर्मीबाट निरन्तर साथ प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

तालिम उद्घाटन समारोहमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्वअध्यक्ष केशव पाठक, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, पश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरणबहादुर बानियाँ, नेपाल पत्रकार महासंघ मनाङका अध्यक्ष नवीन लामिछाने, नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष कृष्ण दवाडी, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेललगायतले तालिमले राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएका ३६ खेलको समाचार लेखनमा सहयोग पुर्‍याउने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?