धादिङमा चुनावी सरगर्मी

हिमालय टाइम्स
Read Time = 6 mins

बावुराम श्रेष्ठ/हिटा
धादिङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि धादिङका राजनीतिक दलहरू चुनावी माहोलमा होमिएका छन् । चुनावको मिति नजिकिँदै गर्दा धादिङमा सत्ता गठबन्धन र प्रमुख विपक्षी दलका नेता तथा उम्मेदवारहरू आ-आफ्नो चुनावी एजेण्डा बोकेर मतदाताको घरघरमा पुगिरहेका छन् । धादिङको चुनावी माहोलमा पनि क्षेत्र नं २ मा सबैको आँखा परेको छ । उक्त क्षेत्रमा कसले बाजी मार्ला भन्ने आम चासोको विषय बनेको छ । यस निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सभापति रामनाथ अधिकारी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट निवर्तमान सांसद एवं एमाले केन्द्रीय सदस्य खेम लोहनी चुनावी मैदानमा उत्रिनुभएको छ ।

यी दुई नेताबीच यस निर्वाचनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका रामनाथ अधिकारीलाई नेकपा माओवादी केन्द्र र एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी तथा बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीको साथ रहेको छ । यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवार खेम लोहनीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको साथ रहेको छ । साथै निर्वाचन अगाडि मात्र खोलिएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट बसुमाया तामाङसमेत चुनावी मैदानमा उत्रिनुभएको छ । २०७४ सालको निर्वाचनमा तीन वटासम्म निर्वाचन क्षेत्र रहेको धादिङमा संघीयतापछि राज्य पुनःसंरचना गर्दा दुईवटा निर्वाचन क्षेत्र भएको छ । संघीयता पछिको पहिलो संसदीय निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेका नेता खेमप्रसाद लोहनी विजयी हुनुभएको थियो । नेपाली कांग्रेसका नेता दिलमान पाख्रिनलाई ६४० मतले पराजित गर्दै लोहनी विजयी हुनुभएको थियो । लोहनीलाई तत्कालीन अवस्थामा नेकपा माओवादी केन्द्रको साथ रहेको थियो ।

धादिङमा कुल १०४ वटा वडामध्ये ५१ वटा वडामा निर्वाचन क्षेत्र रहेका छन् । स्थानीय तहको निर्वाचनमा मुख्य राजनीतिक दलहरू नेकपा एमालेले ५१ वटै वडा, नेपाली कांग्रेसले ४३ वडा वडामा र माओवादी केन्द्रले ३४ वटा वडामा आफ्नो उम्मेद्वार उठाएको थियो । त्यस्तै, नेकपा एकीकृत समाजवादी पार्टीले २४ वटा वडा, राप्रपाले ४६ वटा वडा र जनता समाजवादी पार्टीले १३ वटा वडामा आफ्नो उम्मेदवार उठाएको थियो । जसमध्ये नेपाली कांग्रेस २२ वटा वडामा विजयी हुँदा नेकपा माओवादी केन्द्र १० वटा वडामा विजयी भएको थियो भने नेकपा एमालेले आठवटा वडामा विजय हासिल गरेको थियो । त्यस्तै, राप्रपाबाट चार, स्वतन्त्रबाट तीन, जनता समाजवादीबाट एक र एकीकृत समाजवादीबाट तीनजना उम्मेद्वाहरू वडामा विजयी भएका छन् ।

जितेका र हारेका सवै वडा अध्यक्षहरूले पाएको मत जोड्दा यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस २९ हजार ९६५ मत प्राप्त गरी पहिलो स्थानमा रहेको छ । त्यस्तै, नेकपा एमालेले २५ हजार ९३८ मत पाउँदा नेकपा माओवादीले १४ हजार ३८० मत पाएको थियो । त्यस्तै, राप्रपाले पाँच हजार २८७ मत र नेकपा एकीकृत समाजवादीले तीन हजार ४५६ मत पाएका छन् । त्यस्तै, स्वतन्त्रलगायत अन्य साना दलहरूले चार हजार ९४४ मत पाएका छन् । स्वतन्त्रबाट विजयी भएका तीनवटै वडाहरूमा नेपाली कांग्रेसकै बागी उम्मेद्वारहरूको जित भएको थियो ।

सत्ता गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका वडा अध्यक्षले पाएको मत जोड्दा ४७ हजार ८०१ रहेको छ । त्यस्तै, एमाले र राप्रपाका वडा अध्यक्षले पाएको मत जोड्दा ३१ हजार २२५ मत रहेको छ । जनता समाजबादीबाट फुटेर बनेको बाबुराम भट्टाराईको नेपाल समाजबादी पार्टीको पनि सत्ता गठबन्धनलाई नै साथ रहेकाले तत्कालीन जसपा र हाल नेसपाले पाएको भोट एक हजार ६० समेत जोड्दा धादिङमा सत्ता गठबन्धनका उम्मेदवार रामनाथ अधिकारी १७ हजार ६३६ मतले अघि देखिनुभएको छ । तर, स्थानीय तहको निर्वाचनमा जसरी संसदीय निर्वाचनमा भोट नखस्ने, गठबन्धनको प्रतिको वितृष्णा र गठबन्धन दलहरूमा भएको केही असहमतिका भोटहरूमा आफूले ल्याएर चुनाव जित्ने रणनीतिमा खेमप्रसाद लोहनी देखिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?