अब टालाटुली बटुली कतिराम्री कठपुतली होइन स्थायी सरकारका लागि एमालेलाई भोट दिनुस् : अध्यक्ष ओली

हिमालय टाइम्स
Read Time = 5 mins

बैतडी । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुक्रबार बैतडीको पाटनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभएको छ ।

दार्चुलामा दीप प्रज्वलन गरेर एमालेको प्रचार अभियान सुरुवात गर्दै बैतडी पुग्नुभएका ओलीले एमालेको आगामी योजना सुदूरपश्चिममा विकासको मूल फुटाउने रहेको बताउनु भयो । ओलीले बैतडीवासीलाई विकास निर्माणका विभिन्न आयोजना पुरा गर्ने विचार व्यक्त गर्नुभयो ।

नेपाल–भारत सिमानदी झुलाघाटमा पक्की पुल, महाकाली कोरिडोर आयोजना सम्पन्न, गोकुलेश्वरमा रहेको कृषि विज्ञान कलेज र पाटनमा रहेको भिमदत्त पोलिटेक्नीकल शिक्षालयको स्तरोन्नती, दशरथचन्द प्रतिष्ठान लाई राष्ट्रिय प्रतिष्ठान बनाउने, खनिज पदार्थको उत्खनन् तथा बैतडीमा रहेको फस्फोराईड खानी सञ्चालन गर्ने उहाँले बताउनु भयो । उल्लेखित आयोजनाको काम विगतमा आफू नेतृत्वको सरकारले सुरुवात गरे पनि वर्तमान सरकारले अलपत्र छाडेको उहाँको आरोप छ । ओलीले बैतडी सहित सुदूरपश्चिका विभिन्न सामुदायिक क्याम्पसलाई आंगिक बनाएको बताउनु भयो ।

अध्यक्ष ओलीले सुदूरपश्चिममा रहेका सबै राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने जिम्मेवारी एमालेको काँधमा रहेको बताउनु भयो । मंसिर ४ मा एमालेलाई भोट दिन आग्रह गर्दै उहाँले भन्नुभयो 'एमालेले अहिले बच्चा गर्भमा रहँदादेखि पुरै जीवनका योजनाको खाकासहित सार्वजनिक गरेको पार्टीको घोषणा पत्रमा टेकेर काम गर्नेछौँ । सूर्य चिन्हमा मतदान गरी एमालेका सबै उम्मेदवारलाई विजयी गराउन अनुरोध गर्छु ।'

ओलीले वर्तमान सरकार विदेशी सामू घुडा टेकेर बसेको आरोप समेत लगाउनु भएको छ । दार्चुलामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले तुइन काटेर नेपालीलाई महाकालीमा फाल्दा सरकार एक शब्द बोल्न नसको उहाँले आरोप लगाउनु भयो ।

'विदेशीसँग गलत सम्झौता गर्छ । तर, प्रधानन्यायाधीषलाई नजरबन्दमा राख्ने । उहाँको छोरीलाई दिनभर थुनेर साझँ छोडीदिने जस्ता क्रियाकलाप निन्दनीय छन्,' उहाँले भन्नुभयो । आफूहरू सरकारमा हुँदा सडक बालबालिकाको व्यवस्थापन गरेको उहाँको भनाइ छ ।

'हामी सरकारबाट बाहिरिए लगत्तै फेरी समस्या बल्झीयो । जब कंगाल बुद्धिका मान्छे सरकारमा आउछन् तब देश विग्रन्छ । हामीले १ सयबाट सुरु गरेको जेष्ठ नागरिक भत्ता अहिले चार हजार बनाएका छौं । त्यसलाई कहिले ६८ वर्ष, कहिले ६५ वर्ष, भन्दाभन्दै २५ मै पाउनुपर्छ भन्न बेर छैन,' कांग्रेस नेतृत्वको सरकारलाई व्यंग गर्दै ओलीले भन्नुभयो ।

विकास गर्न टालाटुली बटुली कतिराम्री कठपुतली भएको सरकारले नहुने भन्दै उहाँले स्थायी सरकार चाहिने बताउनु भयो । 'त्यसैले अब मंसिर ४ पछि एमालेको स्थायी सरकार बनाउन, एमालेलाई सरकारमा पुग्नका लागि नभइ देश बनाउनका लागि भोट दिनु होला,' उहाँले भन्नुभयो ।

एमालेका सचीव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले विगतमा टाउकोको मूल्य तोक्नेहरूको गठबन्धन नटिक्ने दाबी गर्दै भन्नुभयो, 'अब गठबन्धनको प्रधानमन्त्री कोहो ? गोरखा बाट प्रचण्ड म हुँ भन्छन्, कांग्रेसका गगन थापा म हुँ भन्छन्, शेर बहादुर देउवा डडेल्धुराबाट मै हुँ भन्छन् र अन्य दलहरुको त कुरै छोडौं। त्यसैले एमालेले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाई देश विकास गर्ने योजना छ, सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्छु ।'

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?