स्थानीय तह निर्वाचनको प्रारम्भिक रुझान : राजनीतिक समीकरणमा परिवर्तनको संकेत

Read Time = 10 mins

अनिल क्षेत्री/हिटा
काठमाडौं । स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । आइतबार साँझसम्म सार्वजनिक अन्तिम मत परिणामअनुसार दलगत रूपमा नेकपा एमाले अग्र स्थानमा छ । तर, समग्र स्थानीय तहको मतगणनाको अग्रतालाई हेर्दा नेपाली कांग्रेस पहिलो स्थानमा देखिन्छ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा एकतातिर नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय सत्तारूढ गठबन्धन बन्यो भने अर्कोतिर सत्ता गठबन्धनको सामना गर्न प्रतिपक्ष दल नेकपा एमालेसँग राजावादी सहितका दलहरू देखिए । तर, प्रारम्भिक पत परिणामको रुझान हेर्दा दुवै गठबन्धन अपेक्षाकृत सफल देखिएका छैनन् । आइतबार राति सम्मको मत परिणाम हेर्दा नेपाली कांग्रेस नेतृत्वको सत्तारूढ पाँच दलीय गठबन्धन अगाडि देखिएको छ । मत परिणामको यही शैली कायम रहे सत्तारूढ गठबन्धनले नै स्थानीय तह निर्वाचन जित्ने देखिन्छ ।

तर, केन्द्रमा चुनावी तालेमलको निर्णय भए पनि चुनावमा इमानदारीपूर्वक निर्णयको पालना नभएको मत परिणामले देखाएको छ । जुन इमानदारीसाथ गठबन्धन सदस्य दलहरूले एक-अर्कालाई मत दिनुपर्ने हो प्रारम्भिक मत परिणामले त्यो देखाएको छैन । उम्मेदवार चयनको क्रममा सत्तारूढ गठबन्धनका सदस्य दलहरूबीच देखिएको विवादको प्रत्यक्ष असर मत परिणाममा पनि देखिएको छ ।
केन्द्रमा नेताहरू मिले पनि तल्लो तहमा स्थानीय राजनीति नै हाबी भएको र तालमेल कार्यान्वयन यसपटक व्यापक रूपमा हुन नसकेको स्थानीय तालमेलले देखाएको छ । कतै तलका कार्यकर्ताले विरोध गरेर स्वतन्त्र उम्मेदवार उठाए त कतै उनीहरूका असन्तोष सार्वजनिक रूपमा देखा परे । तर, पार्टीहरूभित्रै अन्तर्घात भइरहने चुनावी माहोलमा धेरै पार्टीबीचमा त्यसो हुनु अस्वाभाविक नभएको कतिपयको जिकिर छ ।

कांग्रेसमा इमानदारी देखिएन : गजुरेल
स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणामले सत्तारूढ गठबन्धनको घटक माओवादी केन्द्र असन्तुष्ट देखिएको छ । माओवादी केन्द्रका एकजना प्रभावशाली नेता हरिबोल गजुरेलले तालमेल र गठबन्धनको भावनाअनुसार कांग्रेसले इमानदारी नदेखाएको आरोप लगाउनुभएको छ । कांग्रेसले चुनावमा अलि बढी नै अराजकता देखाएको टिप्पणी गर्दै नेता गजुरेलले भन्नुभयो, ‘चुनावमा कांग्रेसमा अराजकता देखियो । गठबन्धन र तालमेलको भावनाअनुसार कांग्रेसले इमानदारी देखाउन सकेन । गठबन्धनका अन्य सदस्य दलहरूले उठाएको स्थानमा कांग्रेसबाट स्वतन्त्र उम्मेदवार उठे । तिनै स्वतन्त्र उम्मेदवारमा मत गएको देखिन्छ । तालमेलको भावनाअनुसार त स्वतन्त्रमा नभई गठबन्धन तर्फका आधिकारिक उम्मेदवारमा मत जानुपर्ने हो नि । त्यसकारण कांग्रेसमा इमानदारी देखिएन ।’

मतदानको भोलिपल्टै माओवादी केन्द्रका युवा नेता रामप्रसाद सापकोटा (दीपशिखा)ले पनि सामाजिक सञ्जालमार्फत गठबन्धनप्रति असन्तुष्टि जनाउनुभएको थियो । सापकोटाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘अघिल्लो र यो, दुवै गठबन्धन प्रत्युत्पादक भयो । हाम्रा काँधमा चढेर उनले तारो टिपेर हामीलाई चारो हाले । हामी माओवादी समीक्षा गरौँ ।’

सत्तारूढ गठबन्धनको घटक माओवादी केन्द्रका दुईजना नेताहरूको अभिव्यक्तिले स्थानीय तह निर्वाचनको परिणामसँगै गठबन्धनमा खटपट आउने र यसले मुलुककै राजनीतिक समीकरणमा असर पर्नसक्ने आशंका गर्न थालिएको छ । गठबन्धनप्रति माओवादी केन्द्रका नेताहरूले असन्तुष्टि पोखिरहेकै बेला विपक्षी गठबन्धनको नेतृत्व गरिरहेको नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले स्थानीय तह निर्वाचनले नयाँ वाम ध्रुवीकरणको आधार तयार गरेको र यसको लागि नेकपा एमालेको ढोका खुला रहेको अभिव्यक्ति सार्वजनिक गर्नुभएको छ ।

निर्वाचनको प्रारम्भिक मत परिणामसँगै माओवादी केन्द्र र नेकपा एमालेका नेताहरूबाट सार्वजनिक अभिव्यक्तिले मुलुकको राजनीतिक समीकरण हुनसक्ने आशंकालाई थप मलजल गरेको छ । हुन त स्थानीय तह निर्वाचन केन्द्रित चुनावी अभियानको क्रममा कैलाली पुग्नुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी सभामै गठबन्धन अझै क्लियर नभएको अभिव्यक्ति दिनुभएको थियो । तर, त्यसअघि पछिका चुनावी सभामा अध्यक्ष प्रचण्डले गठबन्धन वर्षौं लैजान आवश्यक रहेको समेत बताउनुभएको थियो । गठबन्धनका लागि उहाँकै दलले कतै पाँच दलीय सत्ता साझेदार भित्रबाटै ठूलो चुनौती खेपिरहेको छ भने कतै एक–दुई दलसँग मात्र सहकार्यसमेत भएको छ ।

एमालेबाट टुक्रिएर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावी सभामा कांग्रेसमा आफू धेरै शक्तिशाली भएको दम्भ देखिएको भन्दै पटक-पटक असन्तुष्टि व्यक्त गर्नुभएको थियो । तर, सत्ता गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने गठबन्धनले आफ्नो पार्टीलाई केन्द्र र प्रदेशहरूका सरकारमा पु¥याएकाले घाटा नभएको भन्दै आफूहरूमाथि शंका नगर्न सदस्य दलहरूलाई आस्वस्त पार्ने प्रयास गर्नुभएको थियो ।

मतदानको दिनसम्मै पनि गठबन्धनका नेताहरूमा एक–अर्काप्रति आशंका व्याप्त देखिँदा त्यसलाई ती दलभित्रै र बाहिरबाट नियालिरहेका कतिपयले चुनावपछिको सम्भावित परिदृश्यसँग जोडेर हेर्न थालेका छन् । हुन त गठबन्धनको प्रमुख दल कांग्रेसभित्र सुरुवातदेखि नै चुनावी तालमेलप्रति तीव्र विवाद थियो । गठबन्धनका सदस्य दलहरू भित्रका तमाम असन्तुष्टिले पनि स्थानीय तह निर्वाचनको परिणामसँगै राजनीतिक समीकरण परिवर्तन हुनसक्ने कतिपयको विश्लेषणलाई थप बल पुगेको छ ।

फेरि चर्चा वाम एकताको
प्रारम्भिक मत परिणाम हेर्दा सत्ता र विपक्षी दुवै गठबन्धन अपेक्षाकृत सफल नहुने देखिएपछि नेपालको राजनीतिमा पुनः वाम एकताको चर्चा सुरु भएको छ । चुनावी तालमेल र उम्मेदवारी दर्ताका विषयमा कांग्रेसभित्र देखिएको विवादलाई लक्षित गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनाव केन्द्रित चुनावी आमसभामै कांग्रेसीलाई हँसिया हतौडामा छाप हान्न अप्ठ्यारो भएको देखिएको भन्दै पुनः वाम एकताको सम्भावनाको संकेत गर्नुभएको थियो ।

तर, राजनीतिक क्षेत्रका जानकारहरूले भने स्थानीय, प्रदेश र संघीय तीनवटै निर्वाचनको एउटा चक्र पूरा नभई वाम गठबन्धनको सम्भावना कम रहेको दाबी गरेका छन् । खासगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै कारण तत्कालीन नेकपा भंग भएको, पाँच वर्षको लागि प्राप्त जनमतको सदुपयोग हुन नसकेको र अहिले पनि ओली नै एमालेमा शक्तिशाली रहेकाले तत्काल वाम गठबन्धनको सम्भावना नरहेको विश्लेषकहरूको दाबी छ । तर, कतिपयको विश्लेषकहरू भने स्थानीय तह निर्वाचनमार्फत शक्ति सन्तुलन परिवर्तन हुँदा गठबन्धन भित्रको सकस थप बढ्ने, त्यसले पार्टीभित्रै नयाँ मतहरू उत्पन्न हुनुका साथै सत्ता समीकरण र राजनीतिक समीकरणसमेत परिवर्तन हुनसक्ने जिकिर गर्न सुरु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?