‘उद्यमशील’ दलित महिला

हिमालय टाइम्स
Read Time = 7 mins

शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । केही वर्ष अघिसम्म बैजनाथ-३ नौवस्ताकी पदमकला विकलाई केही समस्या पर्‍यो कि छिमेकीको घरदैलो चहार्नुप¥थ्यो । तर, पाँच सय रुपैयाँ सापटी मागे पनि कसैले पत्याउँदैनथे । आफूसँग पैसा नहुँदा भौतारिनु परेका थुप्रै दुःखदायी क्षण छन्, उहाँसँग । गाउँमा उहाँजस्तै थुप्रै दलित समुदायका महिला थिए, जो आर्थिक अभाव, गरिबी र विभेदले पीडित थिए । अभावले कमाउन सिकाउँछ भनेझैँ पदमकलाले अभावलाई सम्पन्नतामा बदल्ने अठोट गर्नुभयो । उहाँ स्थानीय एक सहकारीमा आबद्ध हुनुभयो । सुरुमा बचत गर्न थाल्नुभयो । सहकारीले स्वरोजगारमूलक तालिम तथा सचेतना दिन थाल्यो । उहाँले भन्नुभयो, ‘पछि सहकारीबाट लोन लिएँ । व्यवसाय सुरु गरेँ । अहिले निकै राम्रो व्यापार चलिरहेको छ ।’

पाँच वर्षअघिसम्म गृहिणी रहेकी विक अहिले उद्यमी महिलाका रूपमा परिचित हुनुहुन्छ । पदकलाले कुखुरापालन व्यवसाय गर्दै आउनुभएको छ । उहाँले यो व्यवसाय सञ्चालन गर्नको लागि सहकारीबाट सुरुमा एक लाख लोन लिनुभएको थियो । अहिले कुखुरा फार्ममा सयौँ कुखुरा रहेको उहाँले बताउनुभयो । उक्त व्यवसायबाट मनग्य आम्दानी भइरहेको उहाँले बताउनुभयो ।

कोहलपुर-१ कौशिलानगरमा आएकी ३० वर्षीया वसन्ती तिरुवाको परिचय पनि बदलिएको छ, अहिले उहाँ उद्यमी महिलाको रूपमा कोहलपुरमा परिचित हुनुहुन्छ । सहकारीमा आबद्ध भएरै गार्मेन्ट उद्योग सञ्चालन गरिरहनुभएकी वसन्ती अहिले लाखौँ कमाउनुहुन्छ । वसन्तीसँग अहिले, ‘एउटा पक्की घर छ । एक गार्मेन्ट उद्योग पनि । उद्योगमा करिब पाँच लाखभन्दा बढी लगानी छ । त्यही उद्योगमा उहाँले आफू मात्रै होइन अन्य तीन जनालाई पनि रोजगारी दिनुभएको छ,’ आफूले अभाव झेल्दै कडा मिहिनेत र लगनशीलतापछि उद्योगी बन्न सफल भएको उहाँको भनाइ छ ।

बैजनाथ-३ की रिना चदारा आफ्नो कमाइ नहुँदा चुरा किन्न पनि श्रीमान्को मुख ताक्नुपरेको तीतो विगत सुनाउनुहुन्छ । मजदुरी गरेर दैनिक गुजारा चलाउनुपर्ने घरको स्थिति थियो, उहाँको । बिरामी पर्दा दुई-चार सयको अभावले साहुको घरदैलो धाउनुपथ्र्यो । अहिले रिना उल्टै अरूलाई ऋण दिन सक्ने हुनुभएको छ । उहाँले लामो समयदेखि सहकारीमा बचत गर्दै आउनुभएको छ । सहकारीमै आबद्ध भएर कोहलपुर-२ की गीता सुनार चप्पल उद्योग सञ्चालन गर्न सक्ने हुनुभएको छ । स्थानीय सरकारबाट चप्पल उत्पादन तालिम लिनुभएकी उहाँ सहकारीबाट लोन निकालेर व्यवसायतर्फ लम्की रहनुभएको छ ।

कोहलपुरका विभिन्न पाँचवटा दलित महिला समूह मिलेर २०६३ मा संघर्ष महिला दलित बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा ल्याएका थिए । स्थापनाको १६औँ वर्षसम्म आइपुग्दा यो सहकारी दलित समुदायका महिलाहरूका लागि वरदान सावित भएको छ । दलित समुदायका महिलाहरूको मुख्य नेतृत्वमा सञ्चालन हुँदै आएको सहकारीमा हाल २६ सय सेयर सदस्य छन् । छरिएको पुँजीलाई एकीकृत गर्दै दलित तथा विपन्नहरूको आर्थिक सशक्तिकरण गर्ने उद्देश्यले २५ जना दलित समुदायका महिलाहरूको सक्रियतामा स्थापना भएको थियो ।
यो सहकारीको नेतृत्व पनि दलित समुदायका महिलाहरूले नै गर्दै आएका छन् । कोहलपुर-१ की दलित महिला वडा सदस्यसमेत रहनुभएकी शिलता परियारले नेतृत्व गर्दै आउनुभएको छ । उहाँका अनुसार सहकारीको कुल १३ करोड पुँजी छ । उक्त पुँजीमार्फत सेयर सदस्यहरूको आर्थिक सशक्तिकरण र स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष परियार बताउनुहुन्छ । ‘सहकारीमा आबद्ध महिलाहरूले सुरुमा एक सय रुपैयाँ बचत गर्थे । अहिले एक हजार रुपैयाँसम्म बचत गरिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘त्योभन्दा पनि महिलाहरूमा बचतसम्बन्धी जागरण आएको छ । आर्थिक रूपमा सशक्त हुँदै गएका छन् ।’

सहकारीले हाल १६ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । सयौँ सेयर सदस्यले अनौपचारिक रूपमा स्वरोजगार बन्दै गएको उहाँको भनाइ छ । सहकारीले हाल बिमा, सुत्केरी भत्ताका लागि रोजगारका सिर्जना गर्नका लागि तरकारीका बिउ विजनसमेत वितरण गरिरहेको उहाँले बताउनुभयो । सहकारीका हाल ११ सयजना मात्रै बाल बचतकर्ता रहेका छन् । उनीहरूलाई समेत प्रोत्साहन गर्ने खालका कार्यक्रम सहकारीले सञ्चालन गर्दै आएको छ । यति मात्रै होइन सहकारीमा आबद्ध दर्जनौँ महिलाहरूले कुखुरापालन, भैँसीपालन तथा खुद्रा व्यवसाय सञ्चालन गरिरहेका छन् । सहकारीकी व्यवस्थापक तुल्सी सुनार भन्नुहुन्छ, ‘पहिला उनीहरूको घरमा आम्दानीको स्रोत सीमित हुन्थ्यो । पैसाको लागि श्रीमान्को भर पर्ने अवस्था थियो । तर, अहिले आफैँ स्वरोजगार भएका छन् । महिलाहरूमा उद्यमशीलताका लागि आर्थिक सशक्तिकरण भएको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?