फोहोर व्यवस्थापन नगर्दा बस्ती नै दुर्गन्धित

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 5 mins

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले फोहोर व्यवस्थापनमा लापरबाही गर्दा सिंगो बस्तीमै दुर्गन्ध फैलिएको छ । नगरपालिकाको व्यापारिक तथा प्रशासनिक केन्द्र कुश्मीसेराबाट निस्केको फोहोर सडकछेउमै फाल्ने, प्लाष्टिक र बोतलसमेत जलाउने गर्दा जैमिनी नगरपालिका–१ को टारलगायतको बस्ती दुर्गन्धित बन्दै गएको स्थानीयको भनाइ छ ।

कुश्मीसेरादेखि जैमिनीघाट जाने सडकको पोक्चे भन्ने स्थानमा सडकछेउमै फोहोर फालिएको छ भने प्लाष्टिक र बोतल जलाउँदा त्यहाँदेखि माथि रहेका बस्तीका मानिसहरू प्रदूषित धुवाँले हैरानी खेप्न बाध्य भएका छन् । प्लाष्टिक र बोतलबाट निस्कने धुवाँ मानिसको स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ ।

जैमिनी नगरपालिका-१ कुश्मीसेराका स्थानीय शोभाखर शर्माले फोहोर व्यवस्थापनको माग गर्दै नगरपालिकामा २३ बुँदे माग-पत्र बुझाए पनि त्यसको सुनुवाइ नभएको बताउनुभयो । शर्माले भन्नुभयो, ‘कुश्मीशेराको फोहोर जति सबै जथाभावीरूपमा ठेउले खोलामा फालिएको छ, सडकछेउमा पनि सर्वत्र छरिएको छ, फोहोर व्यवस्थापनमा तत्काल ध्यान नदिए यहाँ थप जटिलता निम्तिन सक्छ, नगरपालिका यसप्रति उदासीन बनेको छ ।’

साँघुरो बजार भए पनि जनघनत्व बढी हुँदा फोहोर पनि बढी नै हुने गरेर फोहोर व्यवस्थापनमा नगरपालिकाले खासै चासो नदिएको बजार व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन पदमबहादुर श्रीषले गुनासो गर्नुभयो । उहाँले बजारवासीले फोहोर व्यवस्थापनमा पटक-पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको बताउनुभयो । उहाँले फोहोर व्यवस्थापनको विषय महत्वपूर्ण भएको उल्लेख गर्दै दीर्घकालीन समाधान खोजिनुपर्ने बताउनुभयो । दिनदिनै बजारमा जनसंख्या बढिरहेको र फोहोर पनि बढ्दै गइरहेको उहाँको भनाइ छ । प्लाष्टिक र बोतल जलाउँदा पर्यावरणमा समेत नराम्रो असर पर्ने स्वास्थ्यकर्मी बताउँछन् ।

जैमिनी नगरप्रमुख नरबहादुर पुनले सडकछेउमा नै स्थानीयले फोहोर थुपार्दा दुर्गन्ध फैलिएको बताउनुभयो । स्थानीयले सहीरूपमा फोहोरको व्यवस्थापन नगरी जथाभावी फाल्दा बस्तीमै दुर्गन्ध फैलिन थालेको प्रमुख पुनले बताउनुभयो । फोहोर व्यवस्थापनका लागि हालसम्म कुनै पनि पहल नभएको उहाँ बताउनुहुन्छ ।

सडकछेउमा नै फोहोर फालिँदा जैमिनीघाटदेखि कुश्मीसेरा आवतजावत गर्ने यात्रुसमेत दुर्गन्धबाट हैरानी खेप्न बाध्य छन् । जैमिनीको कुश्मीसेरा, दमेक, सर्कुवासम्मका मलामीसमेत हिँड्ने सडकछेउमा फोहोर फालिँदा सरुवा रोगको प्रकोप बढ्न सक्ने भन्दै स्थानीय चिन्तित बनेका छन् । कुश्मीसेरामा हप्तामा एकपटक फोहोर संकलन गरिन्छ भने संकलित फोहोरलाई सडकछेउ फाल्ने र जलाइने गरिन्छ ।

फोहोर संकलन गर्ने र फाल्ने जिम्मा जैमिनी नगरपालिका-१ कुश्मीसेराका मिलन थापाले लिनुभएको छ । पालिकाको टेण्डर आहृवानपश्चात् आफूहरूले हप्तामा एकपटक फोहोर फाल्ने गरी पालिकासँग सम्झौता गरेको थापाले बताउनुभयो । थापाले फोहोर फाल्ने ठाउँ व्यवस्थित बनाइदिन पालिकालाई आग्रह गरे पनि वास्ता नगरेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?