काठमाडौं महानगरभित्रका अधिकांश सहकारीविरुद्ध ठगीको उजुरी

सिआइबी भन्छ- २० अर्ब बढीको उजुरी परिसक्यो, सबै सञ्चालक फरार हुँदा अनुसन्धानमा समस्या

हिमालय टाइम्स
Read Time = 10 mins

-रमेश भारती

काठमाडौं । देशभर नै सहकारी ठगीको उजुरी बढेको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जनाएको छ । पछिल्लो समय देखिएको सहकारी संस्थाहरूको ठगी प्रकरणमा काठमाडौं महानगरपालिकाभित्र सञ्चालित धेरै सहकारी संस्था परेको सिआइबीले जनाएको छ । सिआइबीका अनुुसार चालु आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा महानगरभित्रका ४० वटा सहकारीले ठूलो रकम ठगी गरेको उजुरी परेको हो । यी सहकारीले पाँचदेखि २५ करोडसम्म ठगी गरेको उजुरी परेको र ठगीबारे अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ । काठमाडौं महानगरअन्तर्गत १९ सय हाराहारीमा सहकारी संस्था सञ्चालनमा छन् । ६९ सहकारीको कुल ठगी रकम एक अर्ब बढी रहेको सहकारी विभागका निर्देशक बलराम त्रिपाठीले जानकारी दिनुभयो । त्यसमा चालु आवमा मात्रै उजुरी परेका २९ सहकारी ठगी रकम ३० करोडभन्दा बढी छ ।

एक अर्बसम्म ठगीका उजुरी स्थानीय तह अन्तर्गतका सहकारीहरूको कारोबार गर्ने सीमा र दायरा सीमित हुन्छ, त्यसले गर्दा ठूला सहकारीहरूको तुलनामा कम रकम ठगी भएको देखिन्छ । सिआइबी प्रहरीले दिएको तथ्यांकअनुसार काठमाडौं महानगरभित्र मात्र सहकारी संस्थाले २० अर्बभन्दा बढी ठगी गरेको उजुरी परेको छ । ठगीको उजुरी परेका सहकारीका सञ्चालक भने फरार भएका कारण अनुसन्धान गर्न समस्या भइरहेको सिआइबीले जनाएको छ । काठमाडौं महानगरपालिका भित्रका झण्डै तीन दर्जन सहकारी संस्थाको ठगी मुद्दा अहिले नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा पुगेको छ । महानगरका ६९ वटा सहकारी ठगीविरुद्ध अनुसन्धान गर्न प्रहरी परिसर र सिआइबीमा सिफारिस गरिएको निर्देशक त्रिपाठीले जानकारी दिनुभयो ।

महानगर अन्तर्गतका सहकारी संस्थामाथि अनुगमन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । ‘उजुरी परेका सहकारीविरुद्ध अनुसन्धान गर्न काठमाडौं महानगर सहकारी विभागले सिआइबीलाई सिफारिस गरेको छ । विभागको सिफारिसको आधारमा महानगर अन्तर्गतका सहकारीमाथि सिआइबीले अनुसन्धान गरिरहेको निर्देशक त्रिपाठीको भनाइ छ । महानगरको सिफारिसमा ७७ वटा मुद्दा प्रहरी परिसरले अनुसन्धान गर्नेछ ।’ उहाँले भन्नुभयो, ‘विशेषतः आर्थिक मन्दीका कारण पनि यस्तो घटना बढेको हो । पछिल्लो सहकारी ठगीका उजुरी र मुद्दाहरू बढेको बढ्यै छ । सहकारीका सञ्चालकको खराब प्रवृत्तिका कारणले पनि ठगी मुद्दा बढ्दो नै छ । महानगरभित्र मात्र सहकारीले २० करोड ठगी गरेको अनुमान छ ।’ पछिल्लो समय देखिएको आर्थिक मन्दी लगायतका कारण सहकारी ठगीका घटना दिनदिनै बढ्दो क्रममा रहेको उहाँको भनाइ छ । पछिल्लो समय देखिएको आर्थिक संकटका कारण आर्थिक गतिविधिहरू न्यून छ । सहकारीहरूले प्रवाह गरेका ऋण असुल हुन सकेको छैन । त्यसले गर्दा सहकारीहरूले बचतकर्ताको पैसा फिर्ता गर्न सकेका छैनन् ।

आर्थिक मन्दीकै कारण सहकारीहरूले बचतकर्तालाई कन्भिन्स गर्नुको साटो चुपचाप बस्ने, सम्पर्कविहीन हुने, भाग्ने लगायतका गतिविधि हुने गरेको छ । यस्ता कारण पनि यसरी सहकारी ठगी बढेको देखिन्छ । यद्यपि, यसको मुख्य कारण आर्थिक मन्दी नै हो । सहकारीका सञ्चालकहरू ठगी गरी विदेश पनि फरार हुनेमाथि सिआइबीले हेर्ने गरेको छ । अन्य सहकारी ठगीका मुद्दा भने प्रहरी परिसरले अनुसन्धान गर्दछ ।

महानगरको अनुगमनमा चासो

२०७४ यता भने सामान्य रूपमा सहकारीविरुद्ध विभागमा उजुरी पर्दै आएको छ । त्यसकै आधारमा आवश्यक अनुसन्धान गरेर विभागले थप अनुसन्धान तथा मुद्दा चलाउन सिआइबीमा सिफारिस गर्दै आएको छ । पहिलोपटक २०७२ मा महानगर अन्तगरको एक सहकारीविरुद्ध विभागमा उजुरी परेको थियो । पहिले महानगरका सहकारीविरुद्ध पर्ने उजुरी एकदमै न्यून थियो । हालसम्म महानगरले पनि त्यस्ता सहकारी संस्थाहरूमाथि अनुगमन गर्ने गरेको थिएन । तर, पछिल्लो समय सहकारीहरूको ठगी बढ्दै गएपछि विभागले अनुगमन गर्ने योजना बनाएको हो । ठगीका घटना देखिन थालेपछि विभागले काठमाडौं महानगर अन्तर्गतका सहकारी संस्थाहरूमाथि अनुगमन गर्ने योजना पनि बनाएको छ ।

सहकारीहरू समस्याग्रस्त हुन थालेपछि पैसा फिर्ता माग्ने बचतकर्ताहरूको संख्या बढ्दैछ । तर, बचतकर्ताको रकम फिर्ता गर्ने अवस्थामा सहकारीहरू छैनन् । त्यसपछि बचतकर्ताहरूले सहकारीविरुद्ध उजुरी गर्ने क्रम बढेको छ । त्यसपछि सहकारीहरू समस्यामा परेका हुन् । काठमाडौं महानगरपालिका सबै सहकारीहरू ‘सहकारी ऐन, २०७४’ अनुसार सञ्चालन भएका छन् । अनुगमनपछि आवश्यकताअनुरूप निर्देशन दिइने विभागको तयारी छ । निर्देशन पालना नगर्ने सहकारीलाई ऐनअनुरूप कारबाहीको प्रक्रिया बढाइनेछ । सहकारीमा बचतकर्ताको बचत डुबेको, सहकारीबाट हुने विभिन्न बदमासी र सञ्चालक भाग्ने गरेको भन्दै गुनासो तथा उजुरी पनि उत्तिकै बढेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । नियमभन्दा बाहिर रही सञ्चालन भएका तथा बचतकर्ताको रकम फिर्ता गर्न आनाकानी गरिरहेका सहकारीको अनुगमन गरिने उहाँको भनाइ छ । नियमभन्दा बाहिर रही सञ्चालन भएका तथा बचतकर्ताको रकम फिर्ता गर्न आनाकानी गरिरहेका सहकारीको अनुगमन गरिने महानगर जनाएको छ ।

देशभर नै ठगी

पछिल्लो समय काठमाडौंमा मात्रै नभएर देशभर नै सहकारी ठगीको घटना बढ्दै गएको छ । संघ र प्रदेश अन्तर्गतको सहकारीहरूको ठगी त अर्बौं रुपैयाँ छ । त्यस्तो ठगी गर्नेको संख्या पनि उल्लेख्य नै बढेको छ । चालु आर्थिक वर्षको नौ महिनामा सहकारी ठगीको ९७ वटा मुद्दा प्रहरीमा दर्ता भएका छन् । गत चैत मसान्तसम्ममा एक अर्ब ४७ करोड ७० लाख ८९ हजार रुपैयाँ बराबरको ठगीको मुद्दा दर्ता भएका छन् । तर, गत आवमा भने १५ वटा मात्रै सहकारी ठगीको मुद्दा दर्ता भएको थियो । समीक्षा अवधिमा ५० जना व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ । सहकारीमा बचतकर्ताको बचत डुबेको, सहकारीबाट हुने विभिन्न बदमासी र सञ्चालक भाग्ने गरेको भन्दै गुनासो तथा उजुरी पनि उत्तिकै बढिरहेको छ । २०७२ को संविधानले सहकारी संस्थालाई कार्यक्षेत्रको आधारमा संघ, प्रदेश र स्थानीय तहको नियमनमा राखेको छ । स्थानीय तह अन्तर्गतका सहकारीहरूमा त्यति ठूलो रकम ठगी नभएको सरोकारवालाहरू बताउँछन् ।

ठगी गर्ने सहकारी सञ्चालकमाथि कारबाही हुन्छ : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले ठगी गर्ने सहकारी सञ्चालकहरूमाथि कानुनअनुसार कारबाही हुने बताउनुभएको छ । बिहीबार राष्ट्रियसभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सरकारले ठगी गर्ने सहकारीको अनुगमन र जाँचबुझ गरी प्रचलित कानुनअनुसार कारबाही गर्ने बताउनुभयो । उहाँले सो प्रक्रिया सुरु भइसकेको पनि दाबी गर्नुभयो । ‘सहकारी ठगी गर्नेलाई प्रचलित कानुनबमोजिम जाँचबुझ गरी कारबाहीको प्रक्रिया अघि बढाएका छौँ,’ उहाँले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?