शोकमा क्याप्टेन केसीको गाउँ

रासस
Read Time = 6 mins

तनहुँ । आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएका पाइलट कमल केसीको पुख्र्याैली गाउँ शोकमा डुबेको छ । इमानदार र सहयोगी गाउँले गुमाउनुपर्दा गाउँका सबैका आँखा रसाएका छन् । कास्कीको रुपा गाउँपालिका-३ पोल्याङमा रहेको पुख्र्यौली घरमा रहनुभएकी कान्छी आमा ७९ वर्षीया देवीलाई सान्त्वना दिन गाउँलेहरू भेला हुने गरेका छन् ।

गत दशैँको अष्टमीको दिन पोल्याङमा परिवारका सबै भेला भई रमाइलो गरिएको नै अन्तिम भएको कान्छी आमा देवीले बताउनुभयो । ‘दशैँमा सबैजना जमघट भएर निकै रमाइलो गरिएको थियो । कमलले गाउँलेहरूसँग पनि भेटघाट गरेका थिए’, उहाँले भन्नुभयो, ‘अब सम्झिनुबाहेक केही रहेन । यो जन्ममा यत्तिकै हुने भो ।’

घरधन्दामा व्यस्त रहेको आफूलाई नाताले बुहारी पर्ने स्थानीय अप्सरा केसीले कमलले चलाएको जहाज दुर्घटनामा परेको भनेपछि रोएरै दिनरात बिताएको देवीले जानकारी दिनुभयो । दुर्घटनामा देवर गुमाउनुको पीडाले आफूहरूलाई काम गर्ने उत्साह पनि नआएको अप्सराले बताउनुभयो । ‘यसरी अकालमा कोही पनि मर्न नपरोस’्, उहाँले भन्नुभयो, ‘हामी जस्तै धेरैको परिवार शोकमा पर्नुभएको छ । सबैको आत्माले शान्ति पाओस् ।’

सानैदेखि पढ्नमा चलाख र मिजासिला स्वभावका कमलले स्थानीय जनता मावि (तत्कालीन महेन्द्रज्योति प्रावि)मा कक्षा ४ देखि ५ सम्म पढ्नुभएको थियो । त्यसअघि कमल कास्कीकै फल्याङकोटमा पढ्नुहुन्थ्यो । जनता माविबाट कक्षा ५ पूरा गरेपछि थप शिक्षाका लागि कमल काठमाडौं हानिनुभएको थियो । ‘कमलदाइ यहाँको विद्यालयमा पढ्दा निकै चलाख र मिलनसार हुनुहुन्थ्यो’, जनता प्रावि व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका स्थानीय बलभद्र कुमालले भन्नुभयो, ‘हामी सानालाई निकै माया गर्नुहुन्थ्यो र ठूलालाई आदर गर्ने स्वभाव थियो ।’

काठमाडौंबाट हरेकपटक गाउँ आउँदा आफूलगायत गाउँका बासिन्दालाई कमलले सञ्चोविसञ्चो सोध्ने गर्नुहुने कुमालले बताउनुभयो । ‘म यस्तो उस्तो भनेर कमलदाइले कहिल्यै घमण्ड गर्नुहुन्थेन,’ कुमालले भन्नुभयो, ‘आँखामा राखे पनि नबिझाउने मान्छेलाई गुमाउँदा हामी गाउँले ठूलो शोकमा परेका छौँ ।’

माघे संक्रान्तिको पर्व मनाउने तयारीमा आफूहरू रहे पनि दुर्घटनामा कमल परेको खबरले आफूहरूको भोकप्यास हराएको स्थानीय छिमेकी ६१ वर्षीया कृष्णा रानाभाटले बताउनुभयो । ‘हामी गाउँलेलाई अभिभावक नै गुमाएको जस्तो भएको छ,’ रानाभाटले भन्नुभयो ।

आफूहरूले क्याप्टेन कमलकी कान्छी आमा देवीलाई सम्झाउने र सान्त्वना दिने गर्दै आएको उहाँले बताउनुभयो । गाउँमा ‘काजीबा’ भनेर कहलिएका वीरेन्द्र केसी र मीनाका जेठा छोरा क्याप्टेन कमल हुनुहुन्छ भने विनोद माइला र विदुर कान्छा छोरा हुनुहुन्छ । कमलका कल्पना, विन्दु, सरिता र सुनीता गरी चार बहिनी हुनुहुन्छ । देवीको कोखबाट सुनीता जन्मिनुभएको हो । वीरेन्द्र र मीना पोखरा तेर्सापट्टिमा बस्नुहुन्छ । क्याप्टेन कमल बूढानीलकण्ठमा श्रीमती शिलु र कान्छा छोरा आर्यनसँगै बस्नुहुन्थ्यो । जेठा छोरा सागर बैंकमा हुनुहुन्थ्यो ।

क्याप्टेन कमलको मृत्युको शोकमा बुबाआमालगायत श्रीमती शिलु र छोराहरूलगायत अर्धचेत अवस्थामा हुनुहुन्छ । क्याप्टेन कमल अनुभवी पाइटलमा गनिनुहुन्थ्यो । उहाँ ७२ सिट हुने एटिआर विमानको प्रशिक्षक पाइलटसमेत हुनुहुन्छ । नेपाल वायु सेवा निगममा लामो समय विमान चलाउनुभएका कमल निगम छाडेर यती एयरलाइन्समा आबद्ध हुनुभएको थियो । माघ १ गते ६८ यात्रुसहित चार चालका दलका सदस्य रहेको यतीको यही दुर्घटनाग्रस्त विमानले पुस ७ गते पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा परीक्षण उडान भरेको थियो । परीक्षण उडानको नेतृत्वसमेत क्याप्टेन कमलले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?