बागलुङ । अग्लो पहाड । पहाडको फेदमा छ लुकुम गाउँ । बाक्लो बस्ती, आफ्नै भाषा र रीतिरिवाज यस गाउँको पहिचान हो । छेउमा रहेका अग्ला धुपीका रुखहरुले गाउँको सुन्दरतालाई थप बढाएको छ । एक दशक अगाडिसम्म लुकुम गाउँ सुनसान थियो । जब मध्यपहाडी लोकमार्गले जोडियो, तब गाउँमा विकासका लहर छाउनुका साथै पर्यटकीय गन्तव्य बन्न थाल्यो ।
लोकमार्गले गाउँलाई जोडेपछि दुर्गम ठाउँ सुगममा परिणत त हुने नै भयो, त्यसमाथि गाउँको सुन्दरता र परम्परा आगन्तुका लागि महत्वपूर्ण गन्तव्यसमेत बन्यो । लोकमार्गले नजोडिदा ओझेलिएको लुकुम गाउँ अहिले एकाएक चर्चामा आएको छ । सडकले गाउँलाई पर्यटकीय गन्तव्य बनाउनुका साथै स्थानीयलाई सहजतासमेत प्रदान गरेको छ ।
पूर्वी रुकुमको भूमे गाउँपालिका–१ मा पर्ने लुकुम गाउँमा अहिले दैनिक सर्यौँ आन्तरिक पर्यटक पुग्ने गर्दछन् । तीन वर्ष अगाडि लोकमार्ग कालोपत्रे भएपछि लुकुम गाउँ धेरैको रोजाइमा परेको छ । सडकको सहज पहुँच तथा रुकुम र बागलुङदेखि नजिक पर्ने हुँदा बागलुङ, पूर्वी रुकुम तथा पश्चिम रुकुमबाट दैनिक सयौँ पर्यटक लुकुम गाउँमा घुम्न आउने गरेको स्थानीय श्रीप्रसाद पुन मगरले बताउनुभयो ।
पुन मगर भन्नुहुन्छ– “सडक आएपछि त निकै सजिलो भयो, पहिले यहाँ यही गाउँ मात्रै थियो, अहिले तल बजार बन्दै छ, बाटो पनि राम्रो बनेको छ, अहिले धेरै ठाउँबाट मान्छेहरु घुम्न आउँछन्, हाम्रो पुरानो गाउँमा डुल्ने, घुम्ने र फोटो खिचेर जान्छन्, यो गाउँ हाम्रो पुर्खाहरुदेखिनै यस्तै थियो, यहाँ धेरै जसो पुराना घरहरु मात्रै छन्, यही घर अहिले धेरैले मन पराए ।”
लोकमार्गले जोडिएपछि गाउँले मुहार फेरेको पुन मगर बताउनुहुन्छ । उहाँले पहिले आफूहरु नयाँ ठाउँमा सामान किनमेल गर्न पुगेको भन्दै अहिले धेरै मान्छेहरु आफ्नै गाउँमा घुम्दै आउँदा खुसी लागेको बताउनुभयो । गाउँलाई पर्यटनसँग जोड्न लोकमार्गले ठूलो भूमिका खेलेको उहाँको भनाई छ ।
“पहिले हामीहरु नुन, तेल र चामल ल्याउन एक साता लागेर दाङ तुल्सीपुर पुग्थ्यौँ, त्यति बेला त्यो ठाउँमा जाँदा यहाँका गाउँलेहरुलाई धेरै समस्या थियो, तर नयाँ ठाउँ देख्दा रमाइलो लाग्थ्यो,” पुन मगरले भन्नुभयो– “अहिले बाहिरी मान्छे हाम्रो गाउँमा आउँदा रमाइलो लाग्यो भन्छन्, केही मान्छेहरु त एक÷दुई दिन बसेर घुमेर जान्छन् ।”
स्थानीय सुनकुमारी पुन मगर सडकले गाउँलेको जनजीवनमा ठूलो परिवर्तन ल्याएको बताउनुभयो । पुरानो गाउँ अहिलेका युवायुवतीका लागि आकर्षक गन्तव्य बनेको भन्दै गाउँ घुम्न आउनेले स्थानीय स्तरमा उत्पादन भएका सामानहरु किनेर लैजाने गर्दा गाउँलेको आयआर्जनमा टेवा पुगेको उहाँको भनाई छ ।
“यो बाटो नआउँदा गाउँमा बाहिरी मान्छे कमै आउँथे, यहाँका मान्छेहरु सामान किनेमले गर्न, केटाकेटीहरु पढ्न र व्यापार व्यवसाय गर्न दाङ जान्थे, गाउँमा उत्पादन भएका सिमी आलु बाहिर जान पाउँदैनथ्यो” उहाँले भन्नुभयो– “अहिले बाहिरबाट घुम्न आउनेहरुले पनि सिमीहरु किनेर लैजान्छन्, अरु ठाउँको भन्दा स्वादिलो हुन्छ भन्छन्, गाउँमा बुनेका कोक्रो, ढालो, नाङ्लोसमेत किनेर लान्छन् ।”
अर्का स्थानीय आसबहादुर विकले गाउँबाट बाहिरीनेहरुको संख्यामा कमी आएको बताउनुभयो । उहाँले लोकमार्गले गाउँ नजोडिँदा गाउँमा बुढापाका मात्रै हुने गरेको स्मरण गर्दै अहिले बजार गएर व्यापार व्यवसाय गर्ने पनि गाउँमै फर्किएको बताउनुभयो ।
उहाँले गाउँलेको मुख्य पेसा पशुपालन र कृषि भएको भन्दै आफूहरुका कामलाई पनि बाहिरबाट आउने मान्छेहरुले निकै चासो दिएर हेर्ने तथा सिक्ने गरेको बताउनुभयो । गाउँलाई अझ थप व्यवस्थित र सरसफाइमा ध्यान दिन सके धेरै पर्यटकलाई भित्राउन सकिने विकको भनाई छ ।
उहाँले भन्नुभयो– “यो सडकमा दैनिक धेरै गाडी गुड्छन्, त्यस मध्य अधिकांश गाडी यही गाउँ अगाडि रोकिएर फोटो खिच्ने, गाउँ घुम्ने गर्छन्, उनीहरुलाई हाम्रो काम, रहनसहन पनि निकै मन पर्दो रहेछ, धेरै जासोले घरमा आएर तानबनाई, रौँ प्रशोधन गरेको हेर्छन्, कोही त बारीमा पनि पुगेर काम गरेको हेर्ने गर्छन् ।”
बागलुङदेखि घुम्न गएका मिलन बुढा मगरले लुकुम गाउँ निकै रमाइलो भएको हुँदा आफू चार पटक घुम्न गएको बताउनुहुन्छ । एकै नासले चिटिक्क मिलेर बनेका घरहरु र यहाँका स्थानीयहरुको मौलिक संस्कृति र रहनसन मन पर्ने हुँदा आफू पटक–पटक लुकुम गाउँ घुम्न जाने गरेको बताउनुभयो । अहिले लोकमार्ग कालोपत्रे भएपछि यहाँ आउन धेरै समय नलाग्ने बुढा मगर बताउनुहुन्छ ।
“पहिले बागलुङबाट रुकुम कमै मान्छेहरु पुग्थे, बाटो सहज थिएन, पैदल हिँडेर पुग्न पनि गाह्रै थियो, अहिले साढे दुई घण्टामै निसीखोलाबाट लुकुम आइन्छ, बिदा भयो भने घुम्न आउने ठाउँनै लुकुम हो मेरो” उहाँले भन्नुभयो– “यो गाउँ आन्तरिक पर्यटकका लागि मात्रै होइन विदेशीहरुका लागि पनि निकै आकर्षक बन्न सक्छ, यहाँका स्थानीयहरुले विदेशी आउने वातावरण मिलाउन सके यो ठाउँ देशकै उत्कृष्ट गन्तव्य बन्न सक्छ जस्तो लाग्छ ।”
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच