चर्को भाडा असुल्ने दर्जन बढी सवारीसाधन कारबाहीमा

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

बाजुरा । बाजुराका विभिन्न स्थानीय सडक खण्डमा सञ्चालन हुने सवारी साधनले तोकिएको भन्दा बढी भाडा लिएको भन्दै १७ भन्दा बढी जिप चालकहरू कारबाहीमा परेका छन् । जिल्ला प्रशासन कार्यालय बाजुराको पुस २० गते बसेको बैठकले जिल्लाका ग्रामीण सडकमा चल्ने सवारी साधनहरूको भाडादर कायम गरेको छ । सो निणर्यको कार्यान्वयनका लागि प्रहरीले विभिन्न ठाउँमा तोकिदिएको भन्दा दोब्बर भाडा असुलेको पाइएपछि कारबाही प्रक्रिया थालिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुरा र जिल्ला ट्राफिक प्रहरीले जिल्लाका ग्रामीण सडकमा तोकिएको भाडादर कार्यान्वयन नगर्ने जिप व्यवसायीलाई कारबाही प्रभावकारी रहेको स्थानीयले बताएका छन् । मनोमानी तरिकाले भाडा उठाउने गरेको नागरिकको व्यापक गुनासोपछि जिल्ला प्रशासन कार्यालय बाजुराको पुस २० गतेको बैठकले नयाँ भाडादर कायम गरेको थियो ।

सबै स्थानीय सडक खण्डको भाडादर कायम गर्दासमेत कार्यान्वयनमा नल्याउने र मनोमानी भाडा असुल्ने सवारी साधनमाथि कडा निगरानी राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । तोकिएभन्दा बढी भाडा लिने गरेका जिप व्यवसायीलाई स्पष्टीकरणसहित बढी लिएको भाडा सम्बन्धित यात्रुलाई फिर्ता गर्न थालिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्य थापाले बताउनुभएको छ ।

यात्रुको चापको फाइदा उठाएर तोकिएभन्दा बढी भाडा उठाएपछि ठाउँ-ठाउँमा भएका इलाका प्रहरी कार्यालयले विभिन्न स्थानमा चेकजाँच गर्दा तोकिएभन्दा बढी भाडा लिएकालाई फिर्ता गराउनुका साथै पहिलोपटक त्यस्तो गरेकोमा सम्झाइ बुझाइ पठाउने र दोस्रोपटक फेला परेमा आवश्यक कारबाही गरिन थालिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको हो । भाडादर पूर्णरूपमा कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरीहरूबाट विभिन्न स्थानहरूमा कडाइका साथ चेकजाँच भइरहेको छ । जिल्ला प्रहरी कार्यालयले प्रत्येक इलाका प्रहरी कार्यालयलाई सवारी चेकजाँच गरी पूर्णरूपमा भाडा कार्यान्वयन गराउन निर्देशन दिएपछि हाल भाडादर कायम हुन थालेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?