सिटिइभिटीद्वारा आर्थिक प्रलोभनमा चार नर्सिङ कलेजलाई सम्बन्धन

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले आर्थिक प्रलोभनमा परी चार नर्सिङ कलेजलाई सम्बन्धन दिएको खुलेको छ । परिषद् बैठकले आर्थिक लेनदेनका आधारमा मिर्चैया नर्सिङ, ओम शाही नर्सिङ कलेज भैरहवा, सामुदायिक नर्सिङ कलेज चितवन र लाइफगार्ड नर्सिङ कलेज विराटनगरलाई सम्बन्धन दिएको खुलेको हो । नर्सिङ कलेज सञ्चालन गर्न स्वीकृत पाएका कलेजको आफ्नै सय बेडको अस्पतालसमेत छैन ।

आफ्नै सय बेडको अस्पताल नभएर स्वीकृत नपाएका ती कलेजका सञ्चालकले सदस्यसचिव जीवनारायण काफ्लेलाई लाखाँै रुपैयाँ दिएर स्वीकृत दिएको स्रोतको दाबी छ । सिटिइभिटी उच्च स्रोतका अनुसार स्तर महाशाखाका निर्देशक टैलेन्द्र आचार्यको निर्देशनमा उहाँकै बहिनी ज्वाइँ पर्ने कर्मचारी खेम पोखरेल र विजेश बस्नेतले अनुगमन गरेर नर्सिङ कलेजलाई स्वीकृत दिन सिफारिस गर्नुभएको थियो । सदस्य सचिव काफ्लेले चिकित्सा शिक्षा आयोगसँग ‘सेटिङ’ गरेर चार नर्सिङ कलेजलाई स्वीकृत दिएको स्रोतको भनाइ छ । चार कलेज स्वीकृत दिँदा करिब एक करोड रुपैयाँ संकलन गरेको स्रोतको दाबी छ ।

सदस्य सचिवको कामविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ । अख्तियारमा उजुरी पर्दा पनि सेटिङ भने रोकिएको छैन । यसअघि २०६९ सालदेखि रोकिएको करिब एक हजार ५० भन्दा बढी कलेजमध्ये केहीलाई रकम दिएर एलओआई पत्र थमाउन सफल सदस्य सचिव काफ्लेले बाँकीलाई पर्खनुस् भन्दै टार्दै आएको बताइएको छ । ‘हामीसँग काम गरिदिन्छु भन्दै पाँच लाख रुपैयाँसम्म लिनुभएको छ । अरू साथीहरूसँग पनि विषय हेरेर सात लाखसम्म लिनुभएको छ,’ एक कलेज सञ्चालकले नाम उल्लेख नगर्ने सर्तमा भने । सरकारले टिएसएलसी खारेज गरी १८ महिने कोर्सलाई तीन वर्षे कायम गर्ने निर्णय गरेसँगै काफ्ले रकम उठाउन व्यस्त हुनुभएको स्रोत बताउँछ ।

चिकित्सा शिक्षासँग सम्बन्धित विषयलाई चिकित्सा शिक्षा आयोगले अपग्रेडिङ गर्न स्वीकृत दिनुपर्छ । आयोगले मापदण्ड पुगेका १२२ मध्ये ६५ वटालाई अपग्रेडिङ गर्न स्वीकृत दिएको थियो । सोही आधारमा सिटिइभिटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले अपग्रेडिङ गर्ने पत्रमा हस्ताक्षर गर्नुभएको थियो । काफ्ले तत्कालीन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको कार्यकालमा नियुक्ति हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?