उचित मूल्यको अभावमा बोटमै कुहिन थाले माझकुभिण्डेका जुनार र सुन्तला

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 20 mins

सिन्धुली । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–४ माझकुभिन्डेमा दुर्गा कुमारी ठकुरीको एक सय बोटमा जुनार र सुन्तला लटरम्म छन् । माघको द्रोस्रो साता वित्न लाग्दा समेत बिक्री भएका छैनन् । बगैँचाका बोटले थेग्नै नसक्ने गरी फल उत्पादन भएपछि टेको दिएर राखिएको छ ।
उचित मुल्य नपाएर बोटैभरी फलेका जुनार र सुन्तलाका गुणस्तरीय दानाले समयमै बजार नपाउँदा उहाँलाई चिन्ता छ । माघभरीमा टिपिसकेर काँटछाँट गरी बगैँचा व्यवस्थापन गरिसक्नु पर्ने हुन्छ । ‘पाँच बर्ष यताकै राम्रो उत्पादन भएको छ तर, विकेको छैन,’ किसान दुर्गाले भन्नुभयो, ‘सबै झरेर वस्तुलाई खुवाउन थालेका छौँ ।’

सस्तोमा खोज्ने व्यापारी त आइरहन्छन् । जुनार किलोको ७० रुपैयाँ र सुन्तला एक सय १० भन्दा कममा बिक्री नगर्ने उहाँको अडान छ । भएको सबै जमिनमा जुनार र सुन्तला खेती गरिएकोले नुनदेखि सुनसम्मको खर्च धान्ने आफ्नो स्रोत यही भएको उहाँले बताउनुभयो । अघिल्लो वर्ष जुनार र सुन्तला बेचेर एक लाख कमाई गर्नुभएको उहाँलाई यसवर्ष उत्पादन राम्रो भएकाले अझ बढी आम्दानी हुने आशा छ ।

गोलञ्जोर गाउँपालिका–४ मल्लगाउँकी कुसुमकुमारी ठकुरीले १२ रोपनीमा गर्नुभएको जुनार बगैँचा यतिबेला लरबर छ । बोटमा लटरम्म फलेको जुनार र सुन्तलाको दानाले उहाँ हर्षित मात्रै होइन चकितै पर्नुहुन्छ । ११ जना परिवारको लुवाईखुवाई र पढाइलेखाई यसै खेतीबाट चल्ने बताउनुहुने उहाँ वार्षिक ११ नै लाख आम्दानी गदैँ आउनुभएको छ । जीवीकाको आधार नै बनेको जुनार र सुन्तलाले समयै उचित मुल्य र बजार नपाउँदा भने उहाँलाई दुख लाग्ने गर्दछ ।

‘कच्ची बाटो बगैँचासम्म पुगेपनि बजारमा पुर्याउन खर्चिलो हुन्छ । बगैँचामै खरिद गर्न आएका व्यापारीले उचित मुल्य दिदैनन् । बिचौलीयाले दलाली मात्रै गर्दछन् । किसान कुसुमले भन्नुभयो, ‘किसानलाई दुख मन बजारको राम्रो व्यवस्था नभएर छ । यहाँको जमिनमा सुन फलाउने काम हामी किसानको हो, उचित भाउसहितको बजार व्यवस्थापन स्थानीय सरकारले गरीदिनुपर्छ ।’
पाकेका जुनार र सुन्तला बोटबाट झर्न थालिसकेका छन् । टिपेर राख्न शीतभण्डार समेत छैन । माझकुभिन्डेका एक सय बढी किसानलाई टिप्ने बेलाभएका जुनार र सुन्तला बगैँचामा आएर नास गरिदिने पशुपंक्षिबाट जोगाउन हम्मेहम्मे छ ।

२०३५ सालदेखि व्यावसायिक रुपमा जुनार र सुन्तला खेती गर्दै आउनु भएका अगुवा किसान गुण्डबहादुर ठकुरीकाअनुसार पाँचदेखि ३० रोपनीसम्ममा यहाँका किसानले यसको खेती गदैँ आएका छन् । जसबाट वर्षको पाँचदेखी २५ लाखसम्म आम्दानी लिने उहाँले बताउनुभयो ।
२० रोपनीमा जुनार र सुन्तला खेती गरेको बताउने गुण्डबहादुर नेपाल सरकारको जुनार सुपर जोन र कृषि ज्ञान केन्द्रले कृषि औजार, अनुदानसहित प्राविधिक सहयोग दिन थालेको र जुनार, सुन्तलाको लागि यो उपयुक्त क्षेत्र भएकाले किसानको यस खेती तर्फ आर्कषण बढेको बताउनुहुन्छ ।

जुनार र सुन्तला बजार व्यवस्थापनको लागि कोल्ड स्टोर, जाम, जेली र जुस बनाउने उद्योग खोल्ने र बाहिर निर्यात गर्न स्थानीय सरकारले भूमिका खेलिदिनुपर्ने उहाँले बताउनुभयो । ‘जुनार र सुन्तलाको उत्पादन वर्षेनी वृद्धि हुँदै गएको छ । उत्पादन बजारसम्म ढुवानी गर्न भरपर्दो सडक छैन, कच्ची बाटोको भरै छैन,’ उहाँले भन्नुभयो ।

किसानका बगैंचामा उत्पादित जुनार बिक्रीको ग्यारेन्टी सरकारले लिनुपर्ने देवीकुमारी ठकुरीको भनाई छ । एउटा बगैंचाको जुनार हालै १२ लाखमा बिक्री गरिसक्नु भएको उहाँको अझै त्यति नै आम्दानी हुने जुनार र सुन्तला बगैँचामा छन् ।

माझकुभिण्डेका किसानको बगैँचामा अझै पनि लटरम्मै जुनार र सुन्तला छन् । यस बेलासम्ममा कुल उत्पादनको एक चौथाइ मात्रै बाँकी रहनुपर्ने थियो । एक चौथाई पनि वित्रली भईनसकेकाले किसान चिन्तित भएका हुन् ।
जिल्लामै सबैभन्दा बढी जुनार र सुन्तला उत्पादन हुने माझकुभिण्डे र आलेगाउ“मा पाक्नु अगावै जुनारको बगैंचामा पुगेर खरिद गर्ने व्यापारी नआउँदा भने चिन्ता बढेको किसान कमल कुमारी ठकुरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नयाँ पालुवा आउने र फूल फुल्ने समय भइसक्यो । दिउँसो बाँदरबाट जोगाउन बारीको छेउमा टौवा बनाएर कुकुर बाँधेर रुँग्नुपरेको छ । चरा पनि झुमिन्छन् । हावा चल्दा हुरुरु झर्छ ।’
जुनार र सुन्तलाको उत्पादन बढेपनि अन्य जिल्लाबाट आएको जुनार सुन्तलाले बजार ओगट्दा स्थानीय उत्पादनको बिक्री ठप्पजस्तै रहेको उहाँको गुनासो छ । रामेछाप, लगायत जिल्लाबाट आएको जुनार सुन्तला सस्तोमा बिक्री भईरहेकाले स्थानीय उत्पादनलाई ठूलो असर पुर्याएको उहाँले बताउनुभयो ।

ढिलो बिक्री हुँदा गुणस्तर घट्दै जाने र अर्को वर्षको उत्पादन घट्ने डरले किसान आत्तिन थालेका छन् । स्थानीइ किसानअनुसार मंसिर दोस्रो सातादेखि माघ अन्तिमसम्ममा जुनार सुन्तला टिपिसक्नुपर्छ । माघभरिमा टिप्न नसके अर्को वर्ष उत्पादन आधा पनि हुँदैन । मूल्य घटाएर भए पनि जुनार र सुन्तला बिक्री गर्ने तयारी छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोन कार्यालयका प्रमुख रमेशले सिन्धुलीमा यस वर्ष उत्पादन भएको जुनार हालसम्म ६० प्रतिशत बिक्रि भइसकेको बताउनुभयो । जुनारको मुख्य उत्पादन हुने माझकुभिण्डे लगायतका केही स्थान बाहेक अन्य क्षेत्रका बगैँचा रित्तिन थालिसकेका छन् । सुपरजोन लागु भएपछि जिल्लामा जुनार क्षेत्र विस्तार भएको र उत्पादन समेत बढेकोले अघिल्ला वर्षहरुका तुलनामा जुनार र सुन्तला बजार पुर्याउन ढिलाई भएको उहाँको धारणा छ । तीन सय हेक्टरमा जुनार खेती विस्तार हुँदा दुई सय १५ मेक्ट्रिकटन जुनार उत्पादन थप भएको छ ।

उहाँकाअनुसार २०७५ मा सात सय ४५ हेक्टरमा जुनार खेती भएकोमा छ हजार २०९ मेक्ट्रिकटन उत्पादन भएको थियो । यसको चार वर्षपछि २०७९ सम्ममा ३०० हेक्टरमा जुनारको बोट थपियो । हाल एक हजार ४५ हेक्टरमा जुनार खेती भइरहेको छ । ७५० हेक्टर उत्पादक जुनार बगैँचा रहेकामा यसबर्ष ९ हजार ४२४ मेक्ट्रिकटन जुनार उत्पादन भएको हो । प्रति हेक्टर १२.४ मे.ट जुनार उत्पादन भएको उहाँले सुनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘छ हजार मे.ट जुनार बिक्रिका लागि बजार लैजाने, ३६ प्रतिशत अर्थात ३४२४ मे.ट जुनार आफैँ खाने, कोशेली, रोग कीराको क्षती, सानो साईज भएर बिक्री नहुने हुन्छ । जम्मा यहाँको जुनार सुन्तलाको अर्थतन्त्र करिब ४० देखि ४२ करोडसम्म हुने हाम्रो आँकलन छ । यसमध्य ३३ देखि ३५ करोडसम्म आम्दानी जुनार कृषकले लिन्छन् । हाल जुनारको औषत मुल्य ५५ रुपैयाँ छ ।’
१० देखि १२ करोडसम्म आम्दानी बिचौलियले लिने उहाँले बताउनुभयो । यस वर्ष विगतको तुलनामा जुनार उत्पादन वृद्धि भएको तर स्थानीय बजारले खपत गर्न नसकेको र आवश्यक मात्रामा कोल्डस्टोर निर्माण भइनसकेकाले किसानलाई समस्या भएको उहाँले स्विकारर्नु भयो । माघभरीमा सबै जुनार र सुन्तला बिक्रि भइसक्ने उहाँको अनुमान छ । अहिले सिन्धुलीका चोक र बजारमा जुनार किन्ने र खानेको भीडनै लाग्छ । काठमाडौँ– धुलिखेल– सिन्धुली– बर्दिबास भएर गुड्ने सवारी साधनका यात्रुको मुख्य कोसेली जुनार नै बन्ने गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई सिन्धुलीले कात्तिकमा गरेको एक सर्भेक्षणअनुसार भिमानदेखि खुर्कोटसम्म २५० वटा स्टलहरुबाट जुनार बिक्री भइरहेको छ ।

यो वर्ष उत्पादन बढी भएकाले बगैंचाबाट जुनार र सुन्तलाको दाना घटेको छैन । ढिलै भएपनि जुनार बिक्री हुनेमा आफू ढुक्क रहेको स्थानीय किसान तथा जुनार विकास संघका अध्यक्ष कर्णबहादुर आलेमगरले बताउनुभयो ।
‘जुनार दिनदिनै बजारमा गएको छ । उत्पादन बढ्नु र माग नबढ्नुले सन्तुलन नमिलेको हो । माघ मसान्तसम्ममा सबैको बिक्री हुन्छ,’ उहाँले भन्नुभयो, ‘थोरै मात्रामा बोटबाट झरेपनि कुहिएर जाने अवस्था पक्कै आउँदैन ।’

चिनियाँ व्यापारीसहितको टोलीले सिन्धुलीको जुनार निर्यातका लागि गाउँमै पुगेर सम्भाव्यता अध्ययन गरेकाले समेत बिक्री गर्न सहज हुने उहाँको भनाई छ । यस बाहेक बजारीकरणको समस्या न्यूनिकरण गर्न स्थानीय सरकार, जुनार सुपरजोन लगायत सम्बन्धित निकायमा समेत समन्यव र पहल भइरहेको उहाँले बताउनुभयो ।
ठूलो क्षमताको शीतभण्डार निर्माण भए जुनार बिक्रीको चिन्ता हट्ने किसान प्रमेबहादुर ठकुरीको भनाई छ । ‘जुनार भण्डारण गर्न पाए गर्मी मौसममा बजारमा लैजाँदा ढुक्कैसँग बिक्री हुन्थ्यो,’ उहाँले भन्नुभयो । माझकुभिन्डे र आले गाउँबाट मात्रै वार्षिक १५ करोडको जुनार निर्यात हुँदै आएको छ ।

जुनारको लागि सिन्धुली प्रसिद्ध छ । जुनारको राजधानीका रुपमा यस जिल्लालाई चिनिन्छ । पाकेका जुनार सुनौलो रंगको हुन्छ । मंसिरदेखि माघसम्म टिपिन्छ । जुनारको पाकेको फल शीतले भिजेको अवस्थामा र चर्को घाम लागेको बेलामा टिप्नु हुदैन । जुनारको बोट ओभानो भएको बेलामा र दिनको २ बजेपछि मात्र फल टिप्नु उपयुक्त हुन्छ । फललाई कुनैपनि पनि हानी नोक्सानी नहुने गरि चोटपटक नलगाई टिप्नु पर्छ । किल्पर फल टिप्ने कैचिको सहयताले थोरै भेट्नो राखी फल टिप्ने गर्नु पर्दछ । एकै चोटी धेरै फल पाक्यो भने हाँगामुनी प्लाष्टिक क्रेट विछाएर हलुकासँग हाँगा हल्लाएर झार्नु पर्दछ । जुनारको बोटको उचाई ५–८ मिटरसम्म अग्ला हुन्छन् । यसको फैलावट ४–८ मिटरसम्मको हुन्छ । पातहरु चिल्ला गाढा हरियो रंगका हुन्छन् । फल स्वादिलो, रसिलो र बास्नादार हुन्छ । धेरै प्रकारको खनिज पदार्थ र भिटामिट पाइन्छ । यो फल खानाले तुरुन्तै शरिरमा शक्ति प्रदान भई फर्तिलो बनाउँछ । प्रशस्त पौष्टिक तत्वले भरिपूर्ण यो फल नगदे बाली अन्र्तगत पर्दछ । यसको दाना १५०–२०० ग्रामसम्मकोे हुन्छ ।

सिन्धुलीकोमा जुनार खेतीको विस्तार र विकास क्रममालाई हेर्दा उत्पादित जुनारले नेपाललाई नै अन्तराष्ट्रिय क्षेत्रमा परिचय गराउन अग्रसर भएको छ । तर, सिन्धुलीको भनेर अन्यत्र ठाउँमा फलेको जुनारले बजार पाउन थालेपछि वास्तविक पकेट क्षेत्रका किसानहरु आफ्नो ब्राण्डको नाममा भएको गलत अभ्यासप्रति चिन्तित छन् ।
सिन्धुलीमा नेपाल सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत आर्थिक बर्ष २०७३÷७४ मा जुनार जोन र आ.व. २०७४÷७५ देखि जुनार सुपरजोनमा स्तरोन्ती भई कार्यक्रम संचालनमा छन् । जसको फलस्वरुप जुनार कृषकहरुको संस्थागत विकास (जुनार विकास संघ र जिल्ला जुनार सहकारी संघ) र केही पूर्वाधारहरु स्थापना भएर प्रभावकारी रुपमा संचालित छन् । जसकोे प्रभावका कारण यहाँको स्थानीय फल जुनार कृषकहरुको आयआर्जन र जीवीकोपोर्जनमा सकारात्मक परिर्वतन आएको छ ।
जुनार सुपरजोन परियोजनाले दक्ष कृषि प्राविधिकहरु जुनार बगैँचा पुगेर किसानलाई उचित सल्लाहा, सुझाव दिइने, जुनारमा लागेका रोगकीराहरुको पहिचान गरि उपचारको व्यवस्था मिलाउने, काँटछाट गर्न, विषादी छर्कन, उन्नत जातको बेर्नाहरु उत्पादन गर्ने, सिंचाईको प्रबन्ध मिलाउने लगायत कार्यहरुमा किसानलाई सघाउँदै प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउन थालेपछि खेतीमा आर्कषण बढेको छ ।
जुनार क्षेत्रको विस्तार र विकास गरेर देशलाई जुनारमा आत्मानिर्भर बनाउने लक्ष्यका साथ अगाडी बढिरहेको सुपरजोनले हाल तीन वटा कार्यक्रममा जोड दिएको छ । जुनार बढाउने, बचाउने र कमाउने कार्यक्रमलाई प्राथामिकताका साथ अगाडी बढाइएको हो । परियोजना कार्यान्वयन एकाई सिन्धुलीका कार्यालय प्रमुख तथा वरिष्ठ कृषि अधिकृत रमेश हुमागाईकाअनुसार जुनार बढाउने कार्यक्रम अन्र्तगत हरेक बर्ष ६० हेक्टरमा १८ हजार जुनारका विरुवा रोप्ने योजना छ । यो बर्ष सुपरजोनको तीन वटा कार्य क्षेत्रमा सोही योजना बमोजिम जुनारका विरुवा रोपिएको उहाँले बताउनुभयो ।

जुनार, सुन्तला जोगाउने कार्यक्रम अन्र्तगत विशेषगरी जुनारमा र सुन्तलामा लागेका÷लाग्ने रोग तथा किराको प्रकोप नियन्त्रण गरेर उत्पादन बढाउने योजना छ । सोहीअनुसार गतबर्ष ब्याक्ट्रोसेरा मिन्याक्स प्रकोप नियन्त्रणका लागि बैशाखको १० गतेदेखि असार २५ गतेसम्म जुनार बगैँचामा १४ सय लिटर प्रोटिनबेट छिटिएको थियो । यसले किराको प्रकोप न्यूनिकरण भएको छ । साथै जुनारको उत्पादन बढाउन सहयोग समेत पुगेको उहाँले बताउनुभयो । ‘होइन भने यसको क्षती ५० प्रतिशतसम्म हुँदै आएको थियो । अघिल्लो बर्षको तुलनामा १५ देखि २० प्रतिशतले जुनारको उत्पादन बढेको छ,’ उहाँले भन्नुभयो ।

तल्लो क्षेत्र हजार मिटरको आसपासमा सिस्ट्रस ग्रिन रोग छ । यसको निराकरणमा सुपरजोन लागिरहेको उहाँले सुनाउनुभयोे । यसैगरी, कमाउने कार्यक्रम अन्र्तगत यस बर्ष पाँच वटा कोल्ड रुम थप गर्ने कार्यक्रम छ । उक्त कोल्ड रुम सञ्चालनमा आएपछि उपभोक्ताले यहाँको स्थानीय फल जुनार खरिद गर्न स्थानीय बजारमै बैशाखसम्म पाउने छन् भने किसानलाई जुनार विक्न ढिला हुँदा पनि टाउको दुखाई हुने छैन ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?