श्रम सम्झौता नवीकरण गर्न मलेसियाको प्रस्ताव, घरेलु कामदारसमेत लैजाने तयारी

अध्ययन गरेर आवश्यक्ता अनुसारको सुधार गर्नेछौँ : मन्त्री अर्याल

डिबी शर्मा
Read Time = 11 mins

काठमाडौं । मलेसियाले श्रम सम्झौता नवीकरण गर्न प्रस्ताव गरेको छ । शुक्रबार श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइल नेतृत्वको दुई पक्षीय बैठकमा मलेसियाले श्रम सम्झौता नवीकरण गर्न प्रस्ताव गरेको हो । घरेलु क्षेत्रमा नेपाली कामदारलाई पठाउने गरी श्रम सम्झौता नवीकरण गर्नुपर्ने मलेसियाको प्रस्ताव छ । २०७५ कात्तिकमा नेपाल र मलेसियाबीच श्रम सम्झौता भएको थियो ।

दुई पक्षीय वार्तामा गृहमन्त्री फुद्दिन नासुसन इजमाइलले घरेलु कामदार पठाउनसमेत प्रस्ताव राख्नुभएको श्रम मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मलेसियाले घरेलु कामदार पठाउन राखेको प्रस्तावलाई नेपाल संयुक्त प्रविधिक समितिको बैठकमा राखेर छलफल गर्न तयार भएको छ । बैठकमा श्रम सम्झौता नवीकरण गर्न मलेसियाको प्रस्ताव रहेको र आवश्यक सुधार गरी नवीकरण गर्ने कुरा भएको मन्त्री अर्यालले बताउनुभयो ।

श्रम नवीकरण गर्दा नेपाली श्रमिकलाई पनि मलेसियाका श्रमिकसरहको सेवासुविधा दिने कुरामा छलफल भएको मन्त्री अर्यालले बताउनुभयो । उहाँले नेपालबाट पनि कामदारलाई मलेसिया पठाउँदा सीप सिकाएर पठाउने प्रतिबद्धता जनाएको बताउनुभयो । ‘श्रम सम्झौता नवीकरण गर्ने बेला भएको छ । हामीले त्यसलाई अत्यन्त सूक्ष्म तरिकाले अध्ययन गरेर आवश्यक्ता अनुसारको सुधार गर्नेछौँ,’ मन्त्री अर्यालले भन्नुभयो, ‘नेपाली कामदारलाई मलेसियाका कामदारसरह नै सेवासुविधा दिने कुरामा छलफल भएको छ । हामीले पठाउँदा पनि कामदारलाई सीप सिकाएर पठाउने कुरा भएको छ ।’ उहाँले नेपाली कामदारलाई आफ्नै देशको कामदारअनुसार सेवा सुविधा दिने प्रतिबद्धता जनाएको बताउनुभयो ।

बैठकमा श्रममन्त्री अर्यालले नेपाल र मलेसियाबीच भएको श्रम सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्न मलेसियाले सहयोग गर्नुपर्ने बताउनुभएको थियो । यसमा मलेसियाले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको उहाँले बताउनुभयो । नेपालले मलेसियामा कार्यरत सबै नेपाली कामदारलाई सामाजिक सुरक्षा कार्यक्रम (सोस्को)मा समेट्नका लागि अनुरोध गरेको उहाँको भनाइ छ । भेटका क्रममा दुई सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउने बारेमा समेत छलफल भएको श्रममन्त्री अर्यालले बताउनुभयो ।

कामदार ल्याउने प्रक्रिया झन्झटिलो रहेको गुनासो
कामदार अनुकूलको नीति निर्माण गरिरहेका छौँ : मलेसियन गृहमन्त्री फुद्दिन नासुसन इजमाइल
बैठकमा मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइलले मलेसियाले तुरुन्तै पाँच लाख विदेशी कामदार लैजान ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेसन प्लान’बारे जानकारी दिनुभएको थियो । उहाँले मलेसिया सरकारले नयाँ श्रम नीति बनाउन लागेको समेत छलफलमा जानकारी दिनुभएको थियो । कामदाका लागि ज्याला पनि वृद्धि गर्नेगरी नीति बनाएको उहाँले बताउनुभयो । ‘मलेसियाले नयाँ श्रम नीति बनाउँदै छ । हामीले मलेसियामा लागू हुन लागेको नयाँ श्रम नीतिका बारेमा छलफल गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘कामदार अनुकूलको नीति निर्माण गरिरहेका छौँ । कामदारहरूका लागि ज्याला बढाउने नीति अघि बढाइरहेका छौँ ।’ मलेसियन गृहमन्त्री फुद्दिन नासुसन इजमाइलले मलेसियामा नेपाली कामदारलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

गृहमन्त्री सैफुदिन नासुसनले नेपालबाट दुई लाख ८५ हजार ७६८ जना श्रमिकहरू मलेसिया रहेको जानकारी गराउनुभएको थियो । त्यसमध्ये एक लाख ८५ हजार म्यानुफ्याक्चर्स क्षेत्रमा आबद्ध रहेको र ७० हजार कर्मचारी सेक्युरिटी गार्डमा कार्यरत रहेको उहाँको भनाइ छ ।
मलेसियाले नेपालबाट कामदार ल्याउने प्रक्रिया झन्झटिलो रहेको गुनासो गरेको थियो । कामदार ल्याउँदा दूतावासलाई बुझाउनुपर्ने रकम पनि बढी भएको उसको गुनासो छ । कोभिड महामारीको समयमा रोकिएको विदेशी कामदार भर्ना प्रक्रिया मलेसियाले गत अप्रिलमा सुरु गरेको थियो । त्यसयता झण्डै दुई लाख नेपाली मलेसिया गइसकेका छन् । तीनदिने नेपाल भ्रमणका क्रममा बिहीबार साँझ आउनुभएका उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलेसियामा रहेका नेपाली कामदारको हित, सुरक्षा र कल्याणको विषय सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल भ्रमणमा रहनुभएका मलेसियाका गृहमन्त्री इस्मालीसँग शुक्रबार सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाली कामदारको हितका विषयमा छलफल गर्नुभएको थियो ।

‘मलेसिया सरकारले नेपाली श्रमिकहरूलाई प्रदान गर्दै आएको वातावरणका लागि सरकारका तर्फबाट धन्यवाद दिन चाहन्छु’ उहाँले भन्नुभयो, ‘यदि यो विषयमा केही समस्या भएमा कानुनी तथा संस्थागत सुधार गर्दै मलेसिया सरकारले नेपाली श्रमिकहरूको हित, कल्याण र सुरक्षालाई सुनिश्चित गर्नेछ भन्ने विश्वास लिएका छौँ । यो विषयमा मलेसिया सरकारसँग सहकार्य गर्न हामी सदैव तत्पर छौँ ।’ भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले मलेसिया सरकारका तर्फबाट श्रमिकहरूको न्यूनतम ज्याला, १२ सय रिंगेटबाट वृद्धि गरेर १५ सय बनाएकोमा धन्यवाद दिनुभयो । यसका साथै फ्री भिसा र फ्री टिकटको व्यवस्थालाई अझै कडाइका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले यसो गर्न सकेमा रोजगार क्षेत्रलाई थप व्यवस्थित बनाउन सकिने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले मलेसियामा नेपाली श्रमिकहरू इमानदारी र परिश्रमीका रूपमा सुपरिचित भएको उल्लेख गर्दै भविष्यमा नेपाली श्रमिकको संख्यामा वृद्धि गर्न मलेसिया सरकारलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले मलेसियामा नेपाली श्रमिक र श्रम क्षेत्रलाई खुला, पारदर्शी, विश्वासिलो, प्रभावकारी र व्यवस्थित बनाउने विषयमा मलेसिया सरकारको सहयोग आवश्यक रहेकोमा समेत जोड दिनुभयो । ‘आप्रवासन क्षेत्रलाई थप खुला, पारदर्शी, विश्वासिलो, प्रभावकारी र व्यवस्थित बनाउन मलेसिया सरकारको सहयोग र सहकार्यको अपेक्षा राखेका छौँ’ उहाँले भन्नुभयो । प्रधानमन्त्री प्रचण्डले मलेसिया जाने श्रमिकहरूको सीप, ज्ञान र क्षमता अभिवृद्धि गर्न तथा मलेसियाबाट सिकेको व्यावसायिक ज्ञान र दक्षतालाई नेपालमा उपयोग गर्ने वातावरण बनाउनका लागिसमेत दुवै देशले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । यसबाट श्रमिकहरूलाई समेत उत्प्रेरित गर्ने उहाँको भनाइ थियो ।

प्रधानमन्त्री प्रचण्डले राख्नुभएको चासोप्रति मलेसियाका गृहमन्त्री नासुसन इस्मालीले मलेसिया सरकारले विदेशी श्रमिकहरूलाई भित्र्याउने प्रक्रिया र मलेसियामा रहँदा कामदारको कल्याण र सुरक्षाका विषयमा गम्भीर रहेको बताउनुभयो । उहाँले मलेसियाको पाँचवटा आर्थिक क्षेत्रमा कामदारको आवश्यकता रहेको जानकारी दिनुहुँदै कामदारको कल्याणका लागि नीतिगत तथा कानुनी ढाँचामा सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?