आज विश्व माटो दिवस

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । माटो र पानी, जीवनको थालनी भन्ने नाराका साथ यसवर्ष पनि विभिन्न कार्यक्रम गरी विश्व माटो दिवस २०२३ मनाइने भएको छ । माटोको गुणस्तर बारेमा प्रचारप्रसार, माटो परीक्षण लगायतका कार्यक्रम गरी माटो दिवस मनाइन लागिएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का कार्यकारी निर्देशक डा.ध्रुव भट्टराईले जानकारी दिनुभएको छ ।

मंसिर १६ गतेदेखि सुरु भएको माटो दिवसको मुख्य कार्यक्रम भने आज (मंगलबार) आयोजना हुनेछ । नार्कका अनुसार भूक्षय तथा अत्यधिक पानीका कारण वार्षिक प्रतिहेक्टर १२ देखि १४ टन माटो बगेर जाने गरेको छ । त्यसमा पहाडमा मात्र २० देखि ३० टन माटो बग्ने गरेको छ । १.४ एमएम माटोको माथिल्लो सतह बगेर जाने गरेको हो । समग्रमा माटोको अवस्था राम्रै भए पनि अहिलेको भन्दा खराब हुनु नहुने माटो विज्ञहरूले बताउने गरेका छन् । नेपालको ६६ प्रतिशत माटो अम्लीय, पाँच प्रतिशत क्षारीय, २९ प्रतिशत माटो तटस्थ रहेको छ ।

त्यस्तै नेपालमा ३४ प्रतिशत जमिनमा भूक्षय भएको छ । नेपालको माटोमा सबभन्दा समस्या देखिएको अम्लीयपना हो । जुन रासायनिक मल बढी प्रयोग भएका कारणले हो । माटो दिवस नार्क, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र कृषि विभाग, नेपाल माटो समाज, संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठन (एफएओ), अन्तर्राष्ट्रिय गहुँ तथा मकै सुधार केन्द्रले संयुक्त रूपमा मनाउने भएका छन् । एफएओको सिफारिसमा संयुक्त राष्ट्रसंघको ६८औँ महासभाको निर्णयले सन् २०१३ डिसेम्बर ५ देखि दिवस मनाउन सुरु गरिएको हो । नेपालमा सन् २०१४ डिसेम्बर ५ देखि माटो दिवस मनाउन सुरु गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *