25th September | 2020 | Friday | 10:28:00 PM

सनसनीपूर्ण जित निकाल्दै पीएसजी २५ वर्षपछि सेमिफाइनलमा

एजेन्सी   POSTED ON : श्रावण २९, २०७७ (११:४५ PM)

सनसनीपूर्ण जित निकाल्दै पीएसजी २५ वर्षपछि सेमिफाइनलमा

लिस्बन । खेलको अन्तिम समयमा सनसनीपूर्ण दुई गोल गर्दै पेरिस सेन्ट जर्मन(पीएसजी) २५ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वार्टरफाइनल खेलमा फ्रान्सेली क्लब पीएसजीले इटालीयन क्लब एटलान्टामाथि २–१ को पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको अन्तिम चारमा स्थान पक्का गरेको हो ।

निर्धारित समयको एक मिनेट बाँकी रहँदासम्म १–० ले पछि पर्दै हारको संघारमा पुगेको पीएसजीले त्यसपछि दुई गोल फर्काउँदै जित हात पारेको थियो । लिस्बनमा पहिलो हाफमा मारियो पासालीचले एटलान्टालाई अग्रता दिलाउनुभएको थियो । खेलको अन्त्यमा मार्किन्हस र चुपो मोटीङले दुई गोल गर्दै पीएसजीलाई जित दिलाउनुभयो ।

खेलको २६ औं मिनेटमा पीएसजीका रक्षकहरुले क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिदैँ पासालिचले गोलपोस्टको दिशा दिनुभएको थियो । उहाँको प्रहारलाई पीएसजीका गोलरक्षक नाभासले ठम्याउन सक्नुभएन । त्यसपछि पीएसजीले निरन्तर अक्रामक खेले पनि खेलमा थप गोल हुन सकेन ।

९० औं मिनेटमा पीएसजीले बराबरी गोल फर्कायो । चुप मोटीङको क्रसमा ने मारले गर्नुभएको प्रहारलाई एटलान्टाका रक्षकले रोक्नुभएको थियो । उक्त बल मार्किन्हसमा आएपछि उहाँले गरेको प्रहारले जाली चुमेको थियो । इन्ज्युरी समयको दोस्रो मिनेटमा पीएसजीले विजयी गोल ग¥यो ।

यसबेला पनि नेमारले मिलाएको पासमा एम्बाप्पेले अफसाइड ट्«याप बिट गराएपछि बल चुपो मोटीङकहाँ पुगेको थियो । उक्त बललाई मोटीङले पोस्टको दिशा दिएपछि पीएसजी इतिहासमै दोस्रो पटक सेमिफाइनलमा प्रवेश ग¥यो । अब फाइनल प्रवेशका निम्ति पीएसजीले एटलेटिको म्याड्रिड र आरबी लाइप्जिगबीच खेलको विजेतासँग खेल्नेछ ।

पीएसजीका दुवै गोलमा उत्कृष्ट पास मिलाउनुभएका नेमार खेलको म्यान अफ द म्याच चुनिनुभयो । यद्यपि उहाँले खेलमा दुई महत्वपूर्ण गोल गर्ने मौका गुमाउनुभएको थियो । खेलको तेस्रो मिनेटमा मैदानको मध्य भागबाट एक्लै बल अगाडि बढाउनुभएका ने मारले वन भर्सेस वनको स्थितिमा गरेको प्रहार पोस्टभन्दा निकै टाढाबाट बाहिरिएको थियो ।

यस्तै पहिलो हाफमा गोल ब्यहोरेलगत्तै जुहान बेर्नाटको पासमा नेमारको प्रहार पुनः बाहिरिएको थियो । खेलपछि उहाँले आफूहरुले कहिलै हार नमानेको प्रतिक्रिया दिनुभयो ।

‘यहाँ पुगेर रित्तो हात फर्कनुपर्ला भनेर मेलै सोचेको थिइन । वार्म अपदेखि खेल सकिदाँसम्म हामी जित्छौँ भन्ने मनस्थिति बनाएका थियौं,’ उहाँले भन्नुभयो, ‘हाम्रो टोली एक परिवारजस्तै हो । हामीले एक–अर्कालाई सहयोग गर्दै सेमिफाइनलमा पुग्छौँ भन्नेमा म विश्वस्त थिएँ ।’

पीएसजीका प्रशिक्षक थोमस टुचालले भने ८८ मिनेटपछि आफूहरु इलिमिनेट हुनेबारे दिमागमा कुराहरु खेल्ने थालेको बताउनुभयो । तर खेलाडीहरुको उत्कृष्ट प्रदर्शनले अविश्वसनीय नतिजा निस्केको उहाँले बताउनुभयो ।

‘८८ मिनेट बित्दा त हामीले हार्छौ ठानेको थिएँ । तर लगत्तै हाम्रा खेलाडीले अविश्वसनीय प्रदर्शन गरे । यस जितको असली हकदार उहाँहरु हुनुहुन्छ । म मेरा खेलाडीप्रति गर्व गर्छु,’ टुचालले भन्नुभयो ।


Views: 69