15th June | 2021 | Tuesday | 9:39:38 AM

मोउरिन्हो रोमाको मुख्य प्रशिक्षक

  POSTED ON : बैशाख २३, २०७८ (११:२८ AM)

मोउरिन्हो रोमाको मुख्य प्रशिक्षक

लण्डन । जोसे माउरिन्हो इटालियन क्लब रोमाको मुख्य प्रशिक्षक बन्नुभएको छ । ५८ वर्षीय माउरिन्हो गत अप्रिल १९ मा इंग्लिस प्रिमियर लिग क्लब टोटेनहम हटस्परबाट बर्खास्तीमा पर्नुभएको थियो । जारी सिजनमा टोटनहमले खराब प्रदर्शन गरेपछि माउरिन्हो बर्खास्तीमा पर्नुभएको हो ।
बर्खास्तीमा परेको दुई सातापछि पोर्चुगिज प्रशिक्षक माउरिन्हो इटालियन क्लब एएस रोमाको मुख्य प्रशिक्षकमा नियुक्त हुनुभएको हो । सिरी ‘ए’ क्लब रोमाले मंगलबार माउरिन्होलाई तीन वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ ।
रोमासँगको सम्झौताअनुसार माउरिन्हो सन् २०२४ सम्म इटालीमा हुनुहुनेछ । माउरिन्हो सन् २०१० पछि इटाली फर्किन लाग्नुभएको हो । माउरिन्हो २००८–१० मा दुई वर्ष इन्टर मिलानको प्रशिक्षक रहनुभएको थियो । दुई वर्ष इन्टर मिलानको प्रशिक्षक रहँदा उहाँले टोलीलाई सिरी ‘ए’, कोपा इटालिया र च्याम्पियन्स लिगको उपाधि दिलाउनुभएको थियो ।
इन्टर मिलान छाडेपछिको ११ वर्षको अवधिमा माउरिन्हो स्पेनिस क्लब रियल म्याड्रिड, इंग्लिस क्लब चेल्सी, म्यानचेस्टर युनाइटेड र टोटेनहम हटस्परको प्रशिक्षणका रूपमा रहनुभयो । माउरिन्होले नयाँ सिजनबाट रोमाको प्रशिक्षण सम्हाल्नुहुनेछ ।
रोमा यस सिजन लिगको सातौं स्थानमा रहेको छ । युरोपा लिगको सेमिफाइनलमा पुगेको छ । टोली सेमिफाइनलको पहिलो लिगमा रोमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग ६–२ ले पराजित भएको थियो । दोस्रो लिग रोमाको मैदानमा बिहीबार राति हुँदैछ ।


Views: 130