स्थानीय तह निर्वाचन-२०७९ : काठमाडौं महानगरको मेयरकी प्रत्यासी सिर्जना सिंहद्वारा संकल्प पत्र सार्वजनिक, सुरक्षित शहरदेखि सुशासनसम्म, विपन्नको लागि विशेष प्याकेज ल्याउने

Read Time = 11 mins

अनिल क्षेत्री/हिटा

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरकी प्रत्यासी एवं नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले स्थानीय तह निर्वाचनको लागि सात ‘स’को संकल्प सार्वजनिक गर्नुभएको छ । ‘सिर्जना सिंहका सात ‘स’को संकल्प’ नाम दिइएको पत्रमा मेयरकी उम्मेद्वार सिंहले सेवा, सुशासन, स्वास्थ्य शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ र सफा शहर दिगो पर्यावरण, सहरी सुरक्षा, संस्कृति, सम्पदा र सभ्यता, सबल तथा समावेशी पूर्वाधार, स्वावलम्बी महिला, सबल युवा, सिर्जनशील महानगरबासीलगायत सातवटा प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

बिहीबार काठमाडौंमा सार्वजनिक गरिएको संकल्प पत्रमा महानगरलाई विधिको शासन, नियम, कानुनभित्र रही चलाउने संकल्प गरिएको छ । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्नलगायत समूहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउने संकल्प गर्नुभएकी सिंहले काठमाडौं महानगरलाई जिरो वेष्ट नगरपालिका बनाउनुका साथै महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलगायत सम्पूर्ण सुरक्षित अनुभव गर्न सक्ने र हिँड्डुल गर्न सक्ने शहरको निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

यी हुन् मेयर उम्मेदवार सिंहले संकल्प गर्नुभएका सात ‘स’

  • सेवा र सुशासन
    –महानगरलाई विधिको शासन, नियम, कानुनभित्र रही चलाउने ।
    –भ्रष्टाचारमुक्त, चुस्त सेवा प्रवाहका सथा उत्कृष्ट पालिकाको रूपमा स्थापित गर्ने ।
    –संघीय सरकार, प्रदेश सरकार, अन्य पालिका, निजी क्षेत्र, गैरसरकारी संघसंस्था र समुदायसँग साझेदारी गर्दै महानगरको लक्ष्य प्राप्तिका लागि काम गर्ने ।
  • स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा
    –शिक्षा र सिकाइको गुणस्तरमा वृद्धि गर्दै सुलभ र सबैको पहुँचयुक्त बनाउने ।
    –महानगरीय स्वास्थ्य प्रणालीको विकास गरी सबै वडाहरूमा रोकथाम, परीक्षण, उपचार र पुनःस्थापनासहितको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको स्थापना र विशेषज्ञ सेवासहितको महानगरीय अस्पतालको सञ्चालन गर्ने ।
    –ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्नलगायत विशेष समूहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउने ।
  • स्वच्छ, सफा, दिगो पर्यावरण
    –काठमाडौं महानगरपालिकालाई जिरो वेष्ट नगरपालिका बनाउने ।
    –पिउन योग्य पानी, श्वास फेर्ने योग्य हावाका लागि आवश्यक कानुनी संस्थागत र संरचनागत व्यवस्था गर्ने ।
    –सार्वजनिक, खुला स्थान, पार्क, वन, सिटी, इनार, पोखरी, वडा, फल्चा आदिको संरक्षण पुनःस्थापना तथा विस्तार गर्ने ।
  • सुरक्षित शहर
    –महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलगायत सम्पूर्णले सुरक्षित अनुभव गर्न सक्ने र हिँड्डुल गर्न सक्ने शहरको निर्माण गर्ने ।
    –विपत् थेग्न सक्ने क्षमतायुक्त शहरको निर्माणको लागि काम अघि बढाउने ।
    ड्ड संस्कृति, सम्पदा र सभ्यता
    – मौलिक ज्ञान, भाषा, जात्रा, बाजागाजा, चाडपर्व, मेला, ग्रन्थ, पेसालाई समुदायको अपनत्व र संलग्नतामा संवद्र्धन तथा संरक्षण गर्दै महानगरको संस्कृतिलाई पर्यटनसँग जोड्ने ।
    – गुठी प्रणालीको प्रवद्र्धन, संरक्षण गर्दै दिगो विकासका लागि प्रतिबद्ध रही काम गर्ने ।
  • सबल र समुन्नत पूर्वाधार
    – सहज रूपमा हिँड्डुल गर्ने पूर्वाधारको निर्माण गरी पैदलयात्री केन्द्रित सहरका रूपमा महानगरलाई विकास गर्ने ।
    –महानगर क्षेत्रभित्र सबै खालका पूर्वाधारको निर्माणमा मौलिक ज्ञान, प्रविधि र सामग्रीको प्रयोगका लागि प्रेरित गर्ने ।
    –महानगरको कार्यक्षेत्रभित्र पर्ने सम्पूर्ण पूर्वाधार निर्माण र विस्तारको कार्य गुणस्तरीय रूपमा समयमै सम्पन्न गर्ने तथा मर्मत सम्भारका लागि अविलम्ब कार्य गर्न सक्ने गरी संस्थागत क्षमताको विकास गर्ने ।
    ड्ड सबल युवा, स्वावलम्बी महिला, सृजनशील महानगरबासी
    – युवाका लागि अवसर, महिलाको सशक्तिकरण र सम्पूर्ण महानगरबासीको सृजनशीलता अभिवृद्धि गर्नका लागि आवश्यक पहलकदमी लिने ।
    –उद्यमशीलताको विकासका लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण गर्ने ।

महिलालाई रातभर एक्लै हिँड्न सक्ने सुरक्षित काठमाडौं बनाउँछु : सिंह

स्थानीय तह निर्वाचनको लागि आफ्नो संकल्प प्रस्तुत गर्दै मेयरकी उम्मेदवार सिर्जना सिंहले हरेक महिलालाई सुरक्षित महसुस हुने गरी महानगर बनाउने योजना पेश गर्नुभएको छ । महिलाहरूमा सुरक्षाको अनुभूति दिलाउन एकरात एक्लै काठमाडौंमा हिँड्नेसम्मको योजना सुनाउँदै नेपाली कांग्रेसकी नेतृसमेत रहनुभएकी सिंहले भन्नुभयो, ‘रातिसम्म काम गरेर सहज हिँड्डुल गर्न गाह्रो छ काठमाडौंमा । म मेयर भए त्यो समस्या हटाउँछु । त्यसका लागि झिलिमिली सडक बनाएर सिसिटिभी क्यामेराहरू राख्छु ।’ काठमाडौंमा रहेका विपन्न महिलालाई लक्षित गरेर उनीहरूको श्रमको सम्मानसहितको विशेष प्याकेज ल्याउने सिंहको योजना छ ।

काठमाडौं मेयरमा महिला ल्याउने अवसरबाट नचुक्न महामन्त्री थापाको आग्रह
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंका आममहिला मतदातालाई काठमाडौंको मेयरमा महिला ल्याउने अवसरबाट नचुक्न आग्रह गर्नुभएको छ । सत्तारूढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरको मेयरका उम्मेदवार सिर्जना सिंहको ‘संकल्प पत्र’ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भन्नुभयो, ‘अघिल्लोपटक सूर्यमा भोट हालेको महिलाले पनि सोच्नुस् लडाइँ घरभित्र पनि छ । श्रीमान्सँग छ, छोरासँग छ । महिलाको लडाइँ सजिलो छैन । राजधानीको मेयरको ठाउँमा महिला मेयर भएको कल्पना गरौँ त । अघिल्लोपटक सूर्यमा भोट हाल्नुभो भोलि पनि हाल्नुहोला । तर, यसपटक महिलालाई जिताउनुस् । मेयरका उम्मेदवार सिंहको आँट र साहस हेरेर मतदान गर्न आग्रह गर्दछु ।’

महामन्त्री थापाले मेयरका उम्मेदवार सिर्जना सिंहलाई गणेशमान सिंहको बुहारी, प्रकाशमान सिंहको श्रीमती मात्र भन्दा अन्याय हुने भन्दै उहाँ महिला आन्दोलनको अगुवा भएको बताउनुभयो । मेयरका अर्का प्रत्यासी एमालेका उम्मेदवार केशव स्थापितले सिर्जना सिंहलाई होच्याएर बोलेकोप्रति आक्रोशित हुँदै महामन्त्री थापाले भन्नुभयो, ‘यसले उहाँको महिलाप्रतिको दृष्टिकोण छताछुल्ल भएको छ, त्यस्ता उम्मेदवारको बोली र व्यवहारबारे अघिल्लो निर्वाचनमा सूर्यमा भोट हाल्ने महिलाले सोच्नुपर्ने बेला भएको होइन र ? भन्दा महिला र पुरुष बराबरी भन्ने, व्यवहार बराबरी हुनुपर्छ कि पर्दैन ?’

काठमाडौंमा कुनै विवाद छैन : प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सिर्जना सिंहलाई पार्टीले काठमाडौं महानगरपालिकामा उम्मेदवार बनाउँदा सबै खुसी रहेको जिकिर गर्नुभएको छ । बिहीबार काठमाडौंमा आयोजित सिर्जना सिंहको संकल्प पत्र सार्वजनिक कार्यक्रममा प्रवक्ता महतले भन्नुभयो, ‘केही ठाउँमा उम्मेदवारका विषयमा विवाद छ । तर, काठमाडौंमा कुनै विवाद छैन । सिर्जना सिंहलाई उम्मेदवार बनाउँदा सबै खुसी छन् ।’

आफूले प्रकाशमान सिंहभन्दा पहिला सिर्जनालाई चिनेको भन्दै प्रवक्ता महतले काठमाडौं बनाउने क्षमता सिर्जनासँग रहेको दाबी गर्नुभयो । कांग्रेस गफ नगरी काम गर्ने पार्टी भएको भन्दै प्रवक्ता महतले त्यसको उदाहरण काठमाडौं र ललितपुर महानगरपालिकाको काम हेरे पुग्ने बताउनुभयो । सिर्जना सिंहको नेतृत्वमा काठमाडौं महानगरपालिकाका ३२ वडामा कांग्रेसलाई जिताउन महतको अपिल छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?