आगामी बजेटमा नाट्टाका २३ बुँदे सुझाव

Read Time = 3 mins

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न २३ बुँदे सुझाव प्रस्तुत गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघमार्फत् सरकारलाई दिएको सुझावमा टुर ट्रेकिङ, र्‍याफ्टिङ र पर्वतारोहण गाइडलगायत पर्यटनकर्मीलाई सरकारले प्रदान गरेको प्रमाणपत्र जमानी राखी १० लाख रुपैयाँसम्म सहुलियत ऋण प्रदान गर्नुपर्ने, पर्यटन क्षेत्रमा संलग्न साना तथा मझौला व्यवसायीलाई कम्पनी दर्ता प्रमाणपत्र तथा कर चुक्ताको प्रमाणपत्र धितो राखी २० लाखसम्म सहुलियत ऋण प्रवाह गर्नुपर्र्ने, आयकरमा एक प्रतिशत र पर्यटन क्षेत्रमा भ्याट छुटको व्यवस्थालाई निरन्तरता दिनुपर्ने, वार्षिक एक लाखभन्दा बढी विदेशी मुद्रा भित्र्याउने ट्राभल, टुर र ट्रेकिङ कम्पनीलाई कर छुट तथा प्रोत्साहन दिनुपर्ने रहेका छन् ।

त्यस्तै पर्यटन व्यवसायीलाई विद्युतीय पर्यटन सवारी प्रयोगमा प्रोत्साहन गर्न कार्यक्रम ल्याउनुपर्ने, बंगलादेश तथा श्रीलंकाजस्ता मुलुकबाट पर्यटक वृद्धि भइरहेको अवस्थामा बैंकिङ पद्धतिबाट नेपालमा डलर भुक्तानी पठाउन त्यहाँको सरकारले नियन्त्रण गरेकाले सरकारीस्तरबाट समन्वय गरी समस्या समाधान गरिनुपर्ने, कोरोनाले पर्यटन क्षेत्र थला परेको परिस्थितिमा राष्ट्र बैंकले दिएको पुनर्कर्जालाई कम्तीमा पाँच वर्षसम्म निरन्तरता दिनुपर्ने सुझाव रहेका छन् ।

त्यसैगरी कोरोना अति प्रभावित क्षेत्रमा परेका पर्यटन व्यवसायीले बैंकबाट लिएको ऋणको किस्ता भुक्तानीमा ढिलाइ हुँदा थप शुल्क वा जरिवाना नलाग्ने व्यवस्था गरी भुक्तानीको अवधिलाई रिसेड्युल गरिनुपर्ने, पर्यटन क्षेत्रलाई कृषि क्षेत्रमा जस्तै बैंक तथा वित्तीय संस्थाले निश्चित प्रतिशत लगानी गर्नुपर्ने बाध्यात्मक व्यवस्था हुनुपर्ने, अन्य उद्योगले पाएसरहको सुविधा पर्यटन व्यवसायीलाई पनि उपलब्ध गराउनुपर्ने, सरकारले ल्याएको पर्यटन काज तुरुन्त कार्यान्वयन गरी इजाजतप्राप्त टुर एन्ड ट्राभल कम्पनीमार्फत् मात्रै जानुपर्ने व्यवस्था मिलाउनुपर्ने रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?