आज २६औँ राष्ट्रिय चिया दिवस

Read Time = 4 mins

काठमाडौं । गुणस्तरीय चिया उत्पादन र सुनिश्चित बजार, चियाको निर्यात आर्थिक समृद्धिको आधार भन्ने नाराका साथ बिहीबार २६औँ राष्ट्रिय चिया दिवस मनाइने भएको छ । चिया दिवसकै अवसरमा नेपाली चियाको प्रदर्शनीसमेत आयोजना गरिने आयोजक राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

बोर्डले नेपाली चियाको आफ्नै क्लोन विकास गर्न अनुसन्धानरत निकाय नार्कसँग सम्झौता गरी प्रारम्भिक छनोटको कार्य अघि बढाएको छ । उत्पादित अर्थोडक्स चियाको बजार प्रवद्र्धनका लागि आफ्नै ट्रेडमार्क कार्यान्वयनमा ल्याई हालसम्म २६ उद्योगले ट्रेडमार्क प्राप्त गरेको र अन्य उद्योग पनि ट्रेडमार्कको प्रक्रियामा रहेको बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले बताउनुभयो ।

खासगरी झापा जिल्लामा उत्पादन भइरहेको सिटिसी चियाको गुणस्तरमा एकरूपता कायम गर्न मापदण्ड कार्य अघि बढेको उहाँले जानकारी गराउनुभयो । बोर्डले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा निस्टेप परियोजनामार्फत् स्थापित चिया बगानको व्यवस्थापनदेखि बजारीकरणसम्मको गुणस्तरमा पारदर्शिता कायम गरी विश्व बजारको मागअनुरूप अर्गानिक प्रमाणीकरणमा उत्पादक तथा उद्योगीलाई सहयोग गर्दै आएको जनाएको छ ।

विदेशी मुद्रा आर्जन र ग्रामीण अर्थतन्त्रको मुख्य आधार चियाको गुणस्तर, अन्तर्राष्ट्रिय बजार, व्यावसायिक तथा दिगो खेती प्रविधि, अनुसन्धान एवं विकासका थुप्रै चुनौती रहेको बोर्डले जनाएको छ । नेपाली चियाको ९० प्रतिशतभन्दा बढी निकासी भारतसँग रहेकोमा प्रत्येक वर्ष निर्यात अवरोधका कारण नेपाली चिया न्यून मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको छ । त्यस्तै चिया क्षेत्रमा आवश्यक विद्युत् तथा सिँचाइ पूर्वाधार अभाव, भन्सार नाकामा निर्यात प्रवद्र्धनका लागि आवश्यक द्रुत गतिमा नतिजा दिन सक्ने अन्तर्राष्ट्रिय मापदण्डअनुसारको प्रयोगशाला नहुनु, अति नै न्यून विनियोजित स्रोत/साधन, अन्य कृषिजन्य उद्योगसरह सहुलियत ऋणलगायतका सुविधाबाट नेपाली चिया क्षेत्र वञ्चित हुनुपरेको अवस्था रहेको बताइएको छ ।

तयारी चियाको विशिष्टीकृत गुणस्तरमा ध्यान दिँदै दीर्घकालीन समस्या समाधानका लागि चीन, रूस, इयु, अमेरिकालगायत मुलुकसँग जिटुजी सम्झौता गरी त्यहाँ रहेका नेपाली कूटनीतिक नियोगमार्फत् नेपाली चियाको ब्रान्ड प्रवद्र्धन गरिनुपर्ने बोर्डको भनाइ छ । बोर्डका अनुुसार वार्षिक करिब चार अर्ब रुपैयाँ बराबरको चिया निर्यात हुँदै आएकोमा त्यसलाई बढाएर १० अर्ब पु¥याउन सकिने सम्भावना रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?