इन्टरनेट सेवा बन्दबारे क्यानको ध्यानाकर्षण

Read Time = 3 mins

काठमाडौं । इन्टरनेट सेवा प्रवाहका सम्बन्धमा विगत केही दिनदेखि जिम्मेवार निकायबाट व्यक्त धारणाप्रति क्यान महासंघले चिन्ता प्रकट गरेको छ । इन्टरनेट सेवा प्रदायकले विदेशबाट ब्यान्डविथ खरिदका लागि आवश्यक विदेशी मुद्रा सटही सिफारिस एवं महालेखा परीक्षकको वार्षिक प्रतिवेदनका आधारमा बेरुजुका सन्दर्भमा विभिन्न निकायबीचको बुझाइमा असमानताका कारण ब्यान्डविथको शुल्क तिर्न बिलम्ब हुनाले इन्टरनेट सेवा बन्द हुन सक्नेप्रति क्यान महासंघले चिन्ता प्रकट गरेको हो । साथै समस्या समाधानका लागि सम्बन्धित निकायहरूलाई जिम्मेवारीपूर्वक यथाशीघ्र वार्ता एवं छलफलका लाागि आग्रहसमेत गरेको छ ।

इन्टरनेट सेवा प्रदायकहरूले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस बहिस्कार गर्दै अर्को हप्तादेखि इन्टरनेट सेवा नै बन्द गर्ने चेतावनी दिएका छन् । इन्टरनेट सेवा प्रदायक संघ नेपालको कार्यकारी समितिको बैठकले उक्त दिवस बहिस्कारको निर्णय गरेको हो । संघले दिवसमा आयोजक नबन्ने, सहभागी नहुने, प्रायोजक नबन्ने र दिवससँग सम्बन्धित सबै किसिमका सहयोग बन्द गर्ने निर्णय गरेको हो । विगतदेखि हालसम्मका कुनै पनि सरकारले सूचना र सञ्चार प्रविधिका लागि आवश्यक वातावरण नबनाई इन्टरनेटमा भएका समस्या समाधानको साटो दिवसको नाममा, कार्यक्रमका नाममा देखावटी काममात्रै भएको संघको आरोप छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आफ्ना विदेशी इन्टरनेट प्रदायक कम्पनीलाई भुक्तानीका लागि विदेशी मुद्रा सिफारिस गर्न पूर्णरूपमा बन्द गरेकाले विदेशस्थित कम्पनीहरूलाई विगत छ महिनादेखि भुक्तानी गर्न नसक्दा आगामी हप्ताबाट देशभर इन्टरनेट बन्द हुने अवस्था आएको संघका अध्यक्ष सुधिर पराजुलीले बताउनुभएको छ ।

पराजुलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नियतवस अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गर्न विदेशी मुद्रा सिफारिस रोकेको आरोप लगाउँदै सार्वभौम मुलुक नेपालको संघीय संसद् सार्वजनिक लेखा समितिबाट दूरसञ्चार नियमावली २०५४ को नियम २६ र अनुसूची ६ (क) अनुसार गैरदूरसञ्चार सेवामा आरटिडिएस र रोयल्टी नलाग्ने देखिएकाले बेरुजु लगत हटाउन निर्देशन दिइसकेको अवस्थामा उल्टो दिशातर्फ मन्त्रालय लागेको बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?