नेपालकै पहिलो र नमुना वडा बनाउने मेरो लक्ष्य र कार्ययोजना छ : रामकुमार केसी, वडाध्यक्षका प्रत्यासी, काठमाडौं-१०

कृष्ण भुसाल
Read Time = 12 mins

पहिलो कार्यकाल कुशलतापूर्वक सम्पन्न गर्नुभएका काठमाडौं वडा नं. १० का वडाध्यक्ष रामकुमार केसी पुनः वडाध्यक्षका लागि यतिबेला चुनावी मैदानमा हुनुहुन्छ । आफ्नो पहिलो कार्यकालमा धेरै कार्य गरेको दाबी गर्नुहुने उहाँ आफूले चाहेर पनि केही गर्न नसकेका कामका लागि आफ्नो पुनः उम्मेदवारी रहेको बताउनुहुन्छ । वडावासीका काममा सरल र सहज तरिकाले प्रस्तुत हुने उहाँले आफ्नो कार्यशैलीका कारण पनि वडावासीको मन जित्दै आउनुभएको छ । पुनः वडाध्यक्षमा निर्वाचित हुनेमा आफू ढुक्क रहेको बताउनुहुने उहाँ चुनाव हो, प्रतिस्पर्धाको मैदान हो तर पनि मेरा विगतका काम र वडावासीलाई आफूले आगामी दिनमा गर्ने कामको फेहरिस्त प्रस्तुत गरेका कारण आफू पुनः वडाध्यक्ष आउने बताउनुहुन्छ । नेपालको राजधानी काठमाडौं, काठमाडौंको राजधानी १० नंं. वडा रहेको र आफू त्यसैअनुसार दृष्टिकोण र लक्ष्य लिएर अघि बढेको बताउनुहुने रामकुमार केसीसँग वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका सन्दर्भमा हिमालय टाइम्सका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-

  • पहिलो कार्यकालको पाँच वर्ष बिताइरहँदा तपाईं आफ्नो समयावधिको मूल्यांकन कसरी गर्नुहुन्छ ?
    पाँच वर्ष बिताइरहँदा यो कार्यकाल सुखद नै रहृयो भन्नुपर्छ । हामीले चाहेजति विभिन्न कारणवस काम गर्न नपाए पनि जे-जति सम्पादन गर्‍यौँ त्यसमा सन्तुष्टि लिने ठाउँ छ । अझै धेरै गर्न बाँकी नै छ । मेरो कुशल कार्यशैलीलाई वडावासी सबैले बुझ्नुभएको छ । पार्टीले पनि त्यही मूल्यांकन गरेर मलाई फेरि यो वडाको जिम्मेवारी लिनका लागि आसन्न स्थानीय निर्वाचनमा उम्मेदवार बनाएको छ । हामीले प्रतिबद्धता जाहेर गरेको भन्दा पनि तीव्र गतिमा काम गर्‍यौँ । यसमा कोरोना कहरले केही असर पु¥यायो । काठमाडौं महानगरपालिकामा हामीले सबैभन्दा उत्कृष्ट काम गरेको भनेर हामीलाई सिंगापुर, बैंकक दस दिनको प्याकेजमा सहभागी पनि गराइयो । यो विकाससम्बन्धी कार्यशाला रहेको थियो ।
  • के-कस्ता कार्य गर्नुभयो तपाईंको कार्यकालमा ?
    हामीले कोरोना कहरमा विशेष सहयोग पुर्‍यायौँ वडावासीलाई । घर-घरमा गएर सेनिटाइजर, माक्सलगायत वितरण गर्‍यौँ । मारवाडी सेवा समितिसँग मिलेर काठमाडौंमा सबैभन्दा पहिला हामीले राहत वितरण गर्‍यौँ । नगरपालिकाबाट प्राप्त भएको रकम पनि ठाउँ-ठाउँमा गएर राहत वितरण गर्‍यौँ । हामीले काठमाडौंमा नै उत्कृष्ट आइसोलेसन सेन्टर बनायौँ । हामीले आफ्नै तलबको केही रकम पनि सहयोग गर्‍यौँ । काठमाडौंमा सबैभन्दा बढी राहत वितरण गर्नेमा बौद्धपछि हामी भयौँ । यस्तै खोप कार्यक्रमलाई पनि हामीले प्राथमिकता दिएर सहजरूपमा सम्पन्न गर्‍यौँ । काठमाडौंमा सबैभन्दा प्रभावकारी हाम्रो वडा रहृयो । ६८४ घरमा स्वास्थ्य सामग्री वितरण गर्न सफल भयौँ । सात हजारभन्दा बढीलाई प्याकेट खाना वितरण गर्‍यौँ । यस्तै धेरै कार्यसम्पादन गर्‍यौँ । कसरी हुन्छ धेरैभन्दा धेरै वडावासीलाई राहत पुर्‍याउन सकिन्छ भनेर म पूर्णरूपमा लागिपरेँ ।
  • यो बीचमा विकासका कामलाई कसरी सम्पन्न गर्नुभयो ?
    कहिले कोरोना कहर त कहिले के कारण केही अवरोध भए पनि हामीले लिएको लक्ष्य ८० प्रतिशत सम्पन्न गर्न सफल भएका छौँ ।
  • के-कस्ता विकासका काम गर्नुभयो वडामा ?
    पहिला पचास घर भएका ठाउँमा अहिले दुई सय घर भएका छन् । संरचना हाम्रो पुरानो नै रहेको छ । पहिला १८ इञ्चको पाइप भएको ठाउँमा अहिले ७२ इञ्चको पाइप छ । सानो-सानो गल्लीमा पनि हामीले ढल, बत्ती, ब्लक छाप्ने, खानेपानी, ढलान गर्ने जस्ता कार्य गरेका छौँ । हामीले १८० वटा गल्लीमा यी कार्य सम्पन्न गरेका छौँ । लगभग ९९ प्रतिशत ल्बक छाप्ने र ढलको काम सम्पन्न गरेका छौँ । यस्तै लगभग १८०० बत्ती जडान गरेका छौँ । कहीँ सोलार त कहीँ अर्को बत्ती जडान गरेका छौँ । बाटो विस्तार गरेका छौँ । केही फिनिसिङ टच दिन बाँकी छ ।
  • महानगरपालिकाको सहयोग कस्तो पाउनुभयो ?
    महानगरसँग हामीले जस्तो अपेक्षा राखेका थियौँ त्यस्तो पाउन सकेनौँ । सायद हामी अपोजिसन पार्टी भएर होला । हाम्रो सँगैको ३१ नं. वडाभन्दा हामीले विकास गरेका छौँ । हामीले महानगरमा लगेका धेरै योजना स्वीकृत गरिएन भने केही स्वीकृत गरिए पनि अन्तिम समयमा आएर गर्दा ती कार्यसम्पादन हुन पाएनन् ।
  • यहाँको कार्यकालमा यति धेरै कार्यहरू भए यहाँले चाहेर पनि गर्न नसकेका कामहरू ?
    सबैभन्दा ठूलो हामीले चाहँदाचाहँदै पनि गर्न नसकेको चाहिँ बोगटी टोलको ढलको काम रहेको छ । त्यहाँ पाँच करोडको योजना थियो । एक करोड विनियोजन भएर आएको थियो । त्यो एक करोडले केही पनि नहुने भयो । सम्बन्धित ठाउँमा हामीले सबै कुरा गरिसकेका छाँै । अब छिट्टै त्यो कार्य पूरा होला । हामीले जितेर आएमा सबैभन्दा पहिला त्यसैलाई प्राथमिकता दिन्छौँ । बस्तीमा पानी छिर्ने समस्यालाई समाधान गर्न खोला गहिरो बनाएर काम अघि बढाएका छौँ । त्यसका लागि टेन्डर पनि भइसकेको छ । बिजुली नगर, देवी नगरलाई कसरी सुरक्षित गर्ने भन्ने योजनाअनुसार काम अघि बढेको छ । यस्तै वडामा फुटपाथको समस्या छ । सडक हरियालीलाई जोड दिएका छौँ, सबैतिर त्यो सम्पन्न गर्न सकेका छैनौँ । तीन-चारवटा पार्कको काम अघि बढेको भए पनि त्यो बाँकी छ । खानेपानी र ढलको पाइप एक्सचेन्ज गर्नुपर्ने त्यो बाँकी छ । तारलाई व्यवस्थापन गर्न बाँकी छ ।
  • यहाँको कार्यकालमा एक सय पूर्णाङ्कमा आफैंले आफैंलाई कति नम्बर दिनुहुन्छ ?
    म आफैंले आफैंलाई नम्बर दिँदा ८० भन्दा बढी दिन्छु ।
  • फेरि यहाँलाई नै पार्टीले वडाको बागडोर सम्हाल्नका लागि अध्यक्षमा उठाएको छ, तपाईं पुनः वडाको अध्यक्षमा निर्वाचित हुने आधार के-कस्ता रहेका छन् ?
    हो, मलाई पार्टीले पुनः यो वडाको नेतृत्वका लागि अध्यक्षमा उठाएको छ । ममात्र होइन, हामी पाँचजना नै पुरानै कार्यसमिति दोहोरिएका छौँ । केही काम त मैले माथि भनेका कार्यले मलाई तपाईं नै पुनः आउनुपर्छ भन्ने वडावासीको चाहना रहेको छ । म सबै वडावासीका लागि सहज र सरलरूपमा प्रस्तुत हुने गर्दछु । म सबैको कार्यलाई प्राथमिकतामा राखेर कार्य गर्ने गर्छु । पार्टीगतरूपमा नभएर सबैको भएर काम गर्ने मेरो विगतको बानी रहेको छ । वडामा भएका टोलसुधार समितिदेखि लिएर विभिन्न ३० भन्दा बढी संस्थाको तपाईंहरू नै फेरि आउनुपर्छ भन्ने आग्रह रहृयो । हामीले जहिले पनि के भन्ने गरेका छौँ भने नेपालको राजधानी काठमाडौं, काठमाडौंको राजधानी १० नं. वडा भन्ने गरेका छौँ । हामी यस वडालाई पनि नम्बर एक बनाउने कोसिसमा रहनेछौँ । यस वडामा ४५ वटा चर्पी बनाउने मेरो योजना थियो, त्यसलाई सफल बनाउनु छ । कोरोनाका कारण पनि हामीले चाहेजति काम गर्न सकेनौँ, त्यसलाई पूर्णता दिनका लागि फेरि मेरो उम्मेदवारी हो । छक्कु बख्खु पार्कमा हामीले स्ट्यान्डर चर्पी निर्माण गरेका छौँ । त्यहाँ ६० वर्षभन्दा माथि र १० वर्षभन्दा मुनिका लागि निःशुल्क गरेका छौँ । ४५ वटा चर्पी बनाउने योजनामा दुईवटामात्र बनेको छ, अरू निर्माण गर्नुपर्नेछ । स्वच्छ सफा हराभरा यो वडालाई बनाउने कार्य पूरा गर्नुछ । बडालाई डिजिटल गर्नेतर्फ अघि बढेका कार्य पूरा गर्नुछ । यी कार्य पूरा गर्न पनि म निर्वाचित भएर आउन आवश्यक ठानेको छु ।
  • तपाईं निर्वाचित हुनेमा कत्तिको ढुक्क हुनुहुन्छ ?
    मलाई वडावासी सबैले आश्वासन दिनुभएको छ । मेरो पार्टीका मात्र नभएर अन्य पार्टीका व्यक्ति तथा कतै पार्टीमा नलाग्नुभएका व्यक्तिहरूले पनि हामी पार्टी हेर्दैनौँ तपाईंलाई मत दिन्छौँ भन्नुभएको छ । तपाईंको कार्य देखेर प्रभावित छौँ १० नंं. मा तपाईंलाई नदिएर कसलाई दिने भन्नुहुन्छ धेरैले । अत्यधिक मतले हाम्रो टिमले जित्छ भन्ने हामीलाई आशा छ । मसँग धेरै अनुभव छ । यो अनुभवलाई आगामी कार्यकालमा लगाउनेमा म ढुक्क छु । मैले प्रतिबद्धता गरेअनुसारका धेरै काम गरेको छु र बाँकी काम गर्न पुनः म आउँछु भन्नेमा आशावादी छु ।
  • अन्त्यमा ?
    स्वच्छ छवि भएको, भ्रष्टाचारको गन्ध नआएको व्यक्तिलाई आफ्नो उम्मेदवार छान्नुहोस् भन्न चाहन्छु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?