प्रेस स्वतन्त्रता विरुद्धका कानुन संशोधन : कानुनमन्त्री

Read Time = 4 mins

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले संविधान विपरीत प्रेस स्वतन्त्रताविरुद्धका कानुन संशोधन गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मिडिया एक्सन नेपाल र अनलाइन टिभि पत्रकार सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सरकारले कुनै पनि खालको प्रेस स्वतन्त्रता विरोधी खाले कानुन ल्याउने पक्षमा नरहेको र यदी त्यस्तो प्रेस स्वतन्त्रता विपरीत कानुन भइरहेको भए पनि संशोधनको पक्षमा रहेको बताउनुभयो । “ नेपाल प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता रहेकोले कानुनमा प्रेस स्वतन्त्रताविरुद्ध कुरा राखिदैन ।”

मन्त्री शर्माले पत्रकारमाथिको निगरानी र घेराबन्दी प्रेस स्वतन्त्रता विपरीत रहेको बताउनुभयो । सरकारले प्रेसलाई नियन्त्रण र निगरानी नभइ जवाफदेही बनाउनुपर्ने उहाँले बताउनुभयो । “प्रेसले फौजदारी र देवानी कानुन उल्लङ्घन गर्छ भने नियन्त्रण नभइ जवाफदेही बनाउनुपर्दछ,” उहाँले भन्नुभयो ।

उहाँले संसद् लामो समयदेखि सञ्चालन हुन नसक्दा नागरिकसँग प्रत्यक्ष जोडिएका कानुन संशोधन गर्न कठिनाई भएको भनाइ राख्नुभयो । “लामो समयदेखि संसद् सुचारु नहुँदा जनताका आवाज लामो समयदेखि अवरुद्ध छन्,” उहाँले भन्नुभयो । उहाँले नेपाल पक्ष राष्ट्र भएको अन्तर्राष्ट्रिय कानुन र नेपालको संविधानभन्दा बाहिर गएर सङ्क्रमणकालीन न्याय प्रक्रिया अगाडि बढन नसक्ने भन्दै सरकारले त्यही दायराभित्र रहेर नेपालमा विगतमा भएका मानवअधिकारका उल्लङ्घनका घटनालाई सम्बोधन गर्न सुरु गरिसकेको बताउनुभयो । कार्यक्रममा सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालले प्रेस स्वतन्त्रता विपरीत कतिपय कानुन भए पुनःविचार गर्न सरकार तयार रहेको बताउनुभयो ।

प्रेस काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसालले प्रेस स्वतन्त्रता विरोधी क्रियाकलापको अनुगमन गरिरहेको बताउनुभयो । वरिष्ठ पत्रकार डा कुन्दन अर्यालले प्रेससँग सम्बन्धित कानुन बनाउँदा विज्ञको सल्लाहमा बनाउनुपर्ने बताउनुभयो । उहाँले अहिले डिजिटल पत्रकारिता बढिरहेकाले यसमा चुनौतीसमेत थपिएको बताउनुभयो । वरिष्ठ पत्रकार बबिता बस्नेत र सञ्चारिका समूहकी अध्यक्ष बिमला तुम्बाहाम्फेले सरोकारवालाको सहभागिताबिना नै प्रेससँग सम्बन्धित कानुन नबनाउँदा समस्या आउने गरेको बताउनुभयो ।
मिडिया एक्सनका अध्यक्ष लक्षणदत्त पन्त र अनलाइन टिभी पत्रकार सङ्घका अध्यक्ष जीवन भण्डारीले पत्रकारिता अहिले डिजिटल माध्यम भएकोले र डिजिटलमा विकृति देखिएकाले नियन्त्रण गर्ने नाममा पत्रकारिता नियन्त्रण गर्न खोजिएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?