आसन्न निर्वाचनबारे राष्ट्रपति भण्डारी र आयोगका पदाधिकारीबीच छलफल, चुनाव निष्पक्ष र निर्वाध वातावरणमा गर्न सुझाव

Read Time = 4 mins

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचनबारे चासो राख्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूलाई बोलाएर स्थानीय तहको वैशाख ३० गते हुन गइरहेको निर्वाचनबारे भण्डारीले चासो राखेको निर्वाचन आयोगले जानकारी दिएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले राष्ट्रपति भण्डारी र आयोगका पदाधिकारीबीच भेट भएको र स्थानीय तह निर्वाचनबारे छलफल भएको जानकारी दिनुभयो । ‘राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा निर्वाचन आयोगका पदाधिकारीहरूलाई भेटी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका बारेमा चासो राख्नुभयो,’ अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपतिले चासो राखेपछि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन कार्यतालिकाबमोजिम स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको थियो ।

राष्ट्रपति भण्डारीले मतदाताहरूलाई आफ्नो उम्मेदवार चयन निष्पक्ष र निर्वाध रूपमा चयन गर्न पाउने वातावरण बनाउन आयोगलाई सुझाव दिनुभएको थियो । ‘राष्ट्रपतिबाट आयोगको तयारी सन्तोषजनक रहेको र स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग सक्षम रहेको कुरा उल्लेख गर्दै निर्वाचन सुरक्षा प्रबन्धमा विशेष संवेदनशील हुन तथा मतदाताहरूले आफूले रोजेको उम्मेदवारलाई निष्पक्ष र निर्वाध रूपमा मतदान गर्न पाउने मतदाताको हक अधिकारलाई सबै क्षेत्रबाट सम्मान गर्ने उपयुक्त वातावरण बनाउन आयोग चनाखो रहनुपर्ने सुझाव दिनुभयो,’ भेटबारे आयोगले भनेको छ ।

राष्ट्रपति भण्डारीले निर्वाचनमा राजनीतिक दल र उम्मेदवारमा जसरी पनि निर्वाचन जित्न पाए हुन्थ्यो भन्ने भावना हुने भन्दै आयोगले स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा मत संकलन गरेर निष्पक्षताको प्रतयाभूतिसहित निर्वाचन सम्पन्न गरेर मतपरिणाम प्रकाशित गर्ने कुरामा जोड दिनुपर्ने बताउनुभएको थियो । राष्ट्रपतिलाई भेट्न प्रमुख निर्वाचन आयुक्त थपलिया, आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशमशेर जबरा राष्ट्रपति कार्यालय पुग्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?