चर्चाको शिखरमा रहेका राजधानीका उम्मेदवारहरू

Read Time = 13 mins

✍️ शान्तिकृष्ण अधिकारी
स्थानीय निर्वाचन जति नजिकिँदै गएको छ, उम्मेदवार र उम्मेदवारहरू सम्बद्ध दलहरूका बारेमा चर्चा परिचर्चा त्यति नै चुलिँदै गएको छ । उम्मेदवारको व्यक्तिगत छवि, दलको लोकप्रियता र चुनावी परिणामको आँकलनका बारेमा विचार विमर्श गर्ने क्रम बढ्दै गएको पाइन्छ । देशभर नै कुन दलको उम्मेदवार राजनीतिक स्वच्छता भएको, को लोकतन्त्रवादी, को अधिनायकवादी, को जनउत्तरदायी, को भलाद्मी, को बहुलठ्ठी, कुन दलको उम्मेदवार इमानदार छवि भएको, कुन दलको उम्मेदवार भ्रष्ट, कुन दलको उम्मेदवार विचौलिया, को चाहिँ धनका बलमा टिकट लिएको जस्ता छलफलहरू चलिरहेकै छन् । विवेक कतिले पुर्‍याउँछन्, कतिको पुग्दैन वैशाख ३० गते पछिका परिणामले देखाउने नै छ तर पनि सर्वोत्कृष्ट जनप्रतिनिधि छान्ने प्रयास भने हुने नै छ ।

यही चर्चा परिचर्चाका बीच देशको राजधानी रहेको काठमाडौं महानगरपालिकाका उम्मेदवारहरूका बारेमा पनि विभिन्न टीकाटिप्पणी सुन्दै आइएको छ । उम्मेदवारी दर्ता अघिदेखि नै पक्ष र विपक्षका सन्दर्भहरू सुनिएकी मेयरकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंह हुन् भने त्यहीअनुसार नेकपा एमालेका केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन शाह पनि चर्चाको केन्द्रमा नै रहँदै आएका छन् । चुनावको मिति नजिक आउँदै गर्दा सिर्जनाका विपक्षका आवाजहरू मलिन हुँदै गएर सकारात्मक पक्षहरूले स्थान ओगट्दै गएको देखिन्छ भने केशव स्थापित र बालेनका पक्षका स्वरहरू विलिन हुँदै गएको देखिन्छ । अझ भन्नु पर्दा एमालेका उम्मेदवार केशवका विपक्षमा माहोल सिर्जना हुँदै गएको छ भन्दा अत्युक्ति हुँदैन जस्तो लाग्दछ । जे होस्, राजधानीमा आजसम्म पनि यी तिनकै चर्चा व्यापक हुने गरेको छ ।

नेपाली कांग्रेसबाट काठमाडौंको मेयरका लागि टिकट पाएकी सिर्जना सिंह नेपालका सर्वोच्च नेता गणेशमान सिंहकी बुहारी हुन् । महिला आन्दोलनकी प्रथम नेतृ मंगलादेवी सिंहकी बुहारी एवं उनका पुत्र प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहले टिकट पाउने चर्चा चल्दै गर्दा र टिकट पाइसकेपछि परिवारवादको आरोप लाग्न पुग्यो । सिर्जनाका पक्षमा भन्दा विपक्षका तर्कहरू हावी हुँदै गए । उनको लोकतन्त्रप्रतिको योगदान पूरै ओझेलमा पर्‍यो । सिर्जना सिंहका विगतका संघर्षहरू ठूलो परिवारसँग जोडिएका कारण त्यसै हराए । उनका असल कामहरू सिंह परिवारको छविले त्यसै खाइदिन पुग्यो ।

विस्तारै सिर्जनाका विगतहरू केलाउने क्रम सुरु भयो । मतदाताहरूले सिर्जना सिंह कस्ती महिला हुन् भनेर खोतल्न थाले । विसं २०३३ मा नेपाल विद्यार्थी संघको सदस्यता लिएर प्रजातन्त्रको लडाइँमा होमिएकी एक सशक्त महिला हुन् भन्ने तथ्यहरू बाहिर आउन थाले ।

एकातिर पञ्चायत र अर्कोतिर कम्युनिष्टहरूको प्रहारसँग जुध्दै विद्यार्थी कालमा स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्ष भएकी रहिछन् भन्ने इतिहास राजधानीवासीको जानकारीमा आयो । पञ्चायतकालमै नेपाल विद्यार्थी संघको एकाइ अध्यक्ष भइसकेकी रहिछन्, जसको काम तानाशाही पञ्चायतका विरुद्ध लड्नु थियो र साथसाथै विद्यार्थी हक अधिकारका लागि संघर्ष गर्नु थियो । प्रजातन्त्र प्राप्ति पछि पनि नेपाल महिला संघमा सक्रिय रहेको र काठमाडौंको प्रमुख सल्लाहकारका रूपमा क्रियाशील रहेको तथ्यहरू सार्वजनिक भएपछि अहिले उनका पक्षका स्वरहरू बुलन्द हुँदै गएको पाइन्छ । काठमाडौं महानगरमा नेपाली कांग्रेसका साथसाथै सिर्जना सिंहको माहोल बन्दै गएको राजनीतिक पर्यवेक्षकहरूले विश्लेषण गर्न थालेका छन् ।

अर्कोतिर सिर्जना सिंहसँगको प्रतिस्पर्धामा नेकपा एमालेका उम्मेदवार केशव स्थापित चर्चामा छन् । राजधानीमा सडक विस्तार गरेर चर्चा कमाएका स्थापित यसपटकको चुनावमा भने आफ्नै थुतुनोका कारण विस्थापित हुने मार्ग खन्दैछन् । भन्न त उनले अरू उम्मेदवारका थुतुनोका बारेमा कुरा गर्दैछन् तर उनी थुतुनो र मानिसको इज्जत लिलाम गर्ने अरू कुराहरूका कारण तल झर्दैछन् । स्थापितले कसलाई के भन्छन्, कुन प्रसंगमा के कुरा गर्छन्, कोही कसैले पनि अनुमान गर्न सक्दैन ।

माइतीघर चोकमा रहेका घरहरू भत्काएर त्यहाँ मण्डला निर्माण गरी चर्चा बटुलेका स्थापित पछिल्ला चरणमा उब्जिएका विवादित कुराहरूले मेयर पदको विजयको मौका गुमाउँदै गएको देखिन्छ । अस्थिर राजनीतिका माहिर खेलाडीका रूपमा परिचित हुन थालेदेखि पहिलो पटक मेयर हुँदा कमाएको ख्याति सबै गुमाउँदै गएको पाइन्छ । अहिले त उमेरले पनि साथ नदिए जस्तो उनको बोलीमा कुनै ठेगान नहुँदा उनीमाथि विश्वास गरेका मतदाताहरूले समेत उनका क्रियाकलापप्रति नकारात्मक टिप्पणी गर्न थालेको सुनिन्छ ।

सधैँ लोकतन्त्रकाप्रति प्रतिबद्ध सिर्जना सिंहका विरुद्ध राजनीतिक आस्था कुनै नभएका केशव उभिनु सिर्जनाका लागि एमालेले सदाशयता देखाएको रूपमा पनि धेरैले विश्लेषण गर्न थालेका छन् । केशव स्थापित पहिले एमाले, पछि माले, त्यसपछि एमाले, अनि राजावादी, कहिले सबै छाडेर प्रजापरिषद् पार्टीको नेता, फेरि एमाले जस्ता चरित्र बोकेका कारण पनि सिर्जना बलियो हुँदै गएको ठानिएको छ । किनकि सिर्जना सधंै लोकतन्त्रवादी, सधैँ कांग्रेसी, सधैँ जनताप्रेमी रहेको आम मतदातालाई लाग्दै गएको छ । एमालेले कमल थापाको राप्रपासँग चुनावी तालमेल गर्नु र केशव स्थापितलाई उम्मेदवार बनाउनुले समग्र एमाले नै गणतन्त्रको विपक्षमा छ र लोकतान्त्रिक जनआन्दोलनबाट प्राप्त उपलब्धिहरू समाप्त पार्न उद्यत छ भन्ने पुष्टि हुँदै जानुले पनि जनताको एमाले प्रतिको आशा र स्थापित प्रतिको भरोसा उड्दै गएको पाइन्छ ।

त्यसपछि चर्चामा रहेका बालेन शाह भनिने स्वतन्त्र उम्मेदवार पनि आरम्भमा चर्चामा रहे । युवाहरूको आशाको केन्द्रका रूपमा रहेको नै देखियो । युवाहरूले जब वास्तविकता बुझ्दै गए, उनले पनि पाएको ख्याति गुमाउँदै गए । राजनीतिमा योगदान भएकै मान्छेले नगर हाँक्न सक्छ भन्ने युवाहरूले बुझ्दै गए । न तल टेक्ने हाँगो छ, न माथि समाउने हाँगो नै छ । त्यस्ताबाट महानगरमा कुनै परिवर्तन हुन सक्दैन भन्ने बुझेपछि उनीसंग निकटहरू पनि पन्छिँदै गएको पाइन्छ । बाढी आएको खोलाको पानी काम लाग्दैन, निरन्तर समान गतिमा बगेको खोलाको पानी नै खान मिल्छ भन्ने युवाहरूले बुझ्न थालेपछि बालेनका पछि लागेका युवाहरू समेत सिर्जनाका समर्थनमा उत्रिएका दृश्यहरू आजको राजधानीको चुनावी मैदानमा देखिन थालेको छ ।

काठमाडौं शहर सांस्कृतिक शहर हो । यहाँको संस्कृति र परम्परा बँचाएर आधुनिक सुख सुविधामा वृद्धि गरेमात्रै महानगर समृद्ध बन्न सक्दछ । नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला यहाँका सम्पूर्ण संस्कृतिहरू विनाश गर्ने उद्देश्यले गुठी विधेयक ल्याएको महानगरवासीले अहिल्यै बिर्सिसकेका छैनन् । त्यतिबेला गुठी संस्कृतिको संरक्षणका लागि केपी ओली सरकारका कदमका विरुद्ध सिर्जना सिंह पनि उर्लिएकी थिइन्, यो कुरा पनि नगरवासीले सम्झिरहेका छन् । ओलीका भक्त केशव मेयर भए भने फेरि त्यस्तै हुन सक्छ भन्ने ज्ञान भएका महानगरका वासिन्दा भएकाले पनि सिर्जना सिंह सबै उम्मेदवारभन्दा अग्लिन सफल भएकी छन् ।

सिर्जना सात ‘स’ को अवधारणा बोकेर चुनावमा होमिएकी छन् । महानगरमा क) सेवा र सुशासन ख) शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षा ग) स्वच्छ, सफा, दिगो पर्यावरण घ) सुरक्षित शहर ङ) संस्कृति, सम्पदा र सभ्यता च) सबल र समुन्नत पूर्वाधार छ) सबल युवा, स्वावलम्बी महिला, सिर्जनशील महानगरवासी जस्ता एजेण्डा बोकेर आएको एकमात्र उम्मेदवार सिर्जना नै देखिएकी छन् । न उनलाई मी टू को आरोप लागेको छ, न उनलाई बहुलठ्ठी नै महानगरवासीले ठानेका छन् । एउटा भद्र महिला नेतृका रूपमा उनको परिचय स्थापित बन्दै गएको छ ।

उनका पति प्रकाशमान सिंहसंग मात्रै उनको परिचय जोड्ने प्रयास कतिपयबाट हुँदै आएको छ । एउटी महिलालाई देशकै सबैभन्दा ठूलो महानगरको प्रमुख बनाउने प्रयास नेपाली कांग्रेसबाट हुँदै गर्दा सिर्जनामाथि प्रहार हुनु भनेको समग्र महिला माथिकै अन्याय हुन जान्छ ।

एउटी संघर्षशील महिलालाई कुनै ठूला घरानाका चार भित्ताभित्र कैद गर्न खोजिनु किमार्थ सही मान्न सकिँदैन । मेयर पदको चाहना राखेकी वर्तमान उपमेयर हरिप्रभा खड्गीले समेत सिर्जनालाई नै प्रस्ताव गरेबाट पनि उनीमाथि पोखिएका आरोपहरू निरर्थक मान्नुपर्दछ ।

सिर्जनाको विजय सिर्जनाको मात्रै मान्नु हुँदैन । उनको विजय सिंह परिवारको विजय मात्रै निश्चय होइन । उनी गठबन्धन दलकी उम्मेदवार हुन् । गठबन्धन दलहरू लोकतन्त्रको रक्षार्थ तालमेल गरिएका दलहरू हुन् । सिर्जनाको विजय र पराजय लोकतन्त्रको पक्ष र विपक्षसंग गाँसिएको यथार्थ पनि हो । राजावादीलाई जिताउने कि लोकतन्त्रवादीलाई भन्ने निर्णय मतदाताको हो । चर्चामा रहेका उम्मेदवारहरू मध्ये सिर्जना निकै अगाडि बढी सकेको पाइन्छ तर अन्तिम निर्णय वैशाख ३० गतेको मतदानले नै दिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?