फ्राइडे रिलिजः हलिउड चलचित्रको चेपुवामा ‘लक्का जवान’ र ‘षट्कोण’

Read Time = 3 mins

काठमाडौं । आज (शुक्रबार)बाट दुई नयाँ नेपाली चलचित्र ‘लक्का जवान’ र ‘षट्कोण’ प्रदर्शनमा आएका छन् । कोरोना कहरको असर विस्तारै घट्दै गएपछि नेपालमा पनि चलचित्र प्रदर्शन हुन थालेसँगै सातामै दुई चलचित्र नै जुध्न पनि थालेका छन् ।

पछिल्लो समय नेपालमा दक्षिण भारतीय चलचित्रले दर्शक तानेको देखेसँगै नेपाली चलचित्रले पनि एकपछि अर्को प्रदर्शन मिति तोकिरहेका छन् । साथै केही नेपाली चलचित्रले पनि दर्शक पाउन थालेका छन् । आजबाट ‘लक्का जवान’ र ‘षट्कोण’सँगै हलिउड चलचित्र ‘डक्टर इस्टेन्ज इन द मल्टिभर्स अफ म्याडनेस’ प्रदर्शनमा आएको छ । यस हलिउड चलचित्रलाई क्युएफएक्स चेनको मल्टिप्लेक्स हलले भने उच्च शो दिएका छन् ।

हलिउड चलचित्र ‘डक्टर इस्टेन्ज’ले ६५ शो पाउँदा नेपाली चलचित्रलाई भने निकै न्यून शो दिइएको छ । ‘लक्का जवान’लाई जम्मा १३ शो दिइएको छ भने ‘षट्कोण’ले ८ शो पाएको छ । ‘लक्का जवान’लाई कलाकार शिवहरि पौडेलले निर्देशन गर्नुभएको हो । उहाँको यो डेब्यु चलचित्र हो । शिवहरिले दशक बढी समयसम्म जिरे खुर्सानीलगायत टेलिसिरियल निर्देशनसँगै अभिनय गर्दै आउनुभएको थियो ।

चलचित्रमा प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, स्व.जयनन्द लामालगायतको अभिनय छ ।

बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी र पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रमा अन्सुया श्रेष्ठको अलवा किरण केसी, शिवहरि पौडेल, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँ निर्माताको रूपमा रहनु भएको छ ।

यस्तै चलचित्र ‘षट्कोण’मा अभिनेता कर्माको मुख्य भूमिका रहेको छ । कर्मा एक मर्डरको अनुसन्धान गरिरहेको पत्रकारको भूमिकामा देखिनुभएको छ । चलचित्रमा लोकेन्द्र लेखक, सुयशा अधिकारी, बिराज कडरिया, शिशिर लिम्बु वानेम र बालकलाकार असिम लामाको पनि अभिनय छ ।

मिलन डी काप्रीको निर्देशन रहेको ‘षट्कोण’लाई क्लेमेन्टाइन प्रोडक्सन र ट्राभल्स क्रिउ फिल्मस्को व्यानरमा निर्माण गरिएको हो । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको फिल्मको संवाद महेश दवाडीले लेख्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?